उपमेयर कपमा हेटौंडा र गैंडाकोट प्रतिस्पर्धा गर्दै
हेटौंडा/ उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागी हुन हेटौंडामा खेलाडी छनौट गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगितामा सहभागी हुन १८ जना खेलाडी छनोट गरिएको हो । छनोट कार्यक्रममा सहभागी ३१ जना खेलाडीहरुबाट १८ जना खेलाडी छनोट गरिएको प्रशिक्षक भीम लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि हेटौंडाको टिममा गोलरक्षकको जिम्मेवारी सोनु मैनाली र समिता स्याङ्तानले सम्हाल्ने भएकी छन् । डिफेन्डरमा एलिना खड्ग मगर, दिक्षा मोक्तान, मनिषामाया जिम्बा, सावित्री प्रजा र अञ्जु गोले छनोट भएकी छिन् । मिडफिल्डमा बिना डिम्डुङ, सावित्री श्रेष्ठ, बसन्तीमाया दोङ, प्रतिमा लामिछाने, पूजा मोक्तान, लक्ष्मी गोले र रीना पाख्रिन रहेकी छन् । फरवार्डको जिम्मा सञ्जीता बोम्जन, धनमाया थिङ र सुजीता बोम्जनले पाएकी छिन्।
छनोटका लागि हेटौंडासहित मनहरी गाउँपालिका, वाग्मती गाउँपालिका, चितवन, बारा र पर्सा जिल्लाबाट समेत खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका लागि हेटौंडाको टिम तयार गरी सहभागिता जनाउन मकवानपुर फुटबल संघले जिम्मेवारी लिँदै टिम तयार गरेको हो । कात्तिक ४ गतेबाट नै प्रतियोगिता सुरु भएपनि हेटौंडाको पहिलो खेल आज बुधबार रहेको छ । हेटौंडाले गैंडाकोट नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ । हेटौंडा समूह एफमा रहेको छ भने उक्त समूहमा हेटौंडासँगै गैंडाकोट नगरपालिका र तुलसीपुर नगरपालिका रहेका छन् । अर्को खेलमा हेटौंडाले १२ शुक्रबार गते तुलसीपुरसँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा सहभागी ३१ टिमलाई एन्फाले १० समूहमा राख्दै प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइरहेको छ । एन्फाले हाललाई पहिलो चरण अर्थात् समूह चरणको खेल तालिकामात्र सार्वजनिक गरेको छ ।