लक्ष्मीमाया भलिबल प्रतियोगिता सुरु
हेटौंडा-जेसीआई बसामाडीले हरेक वर्ष आयोजना गर्ने लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय रनिङसिल्ड भलिबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । १९ औं संस्करणको प्रतियोगिता हेटौंडा–१७, हटियास्थित नेपालचौरमा बिहीबारबाट सुरु भएको हो । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आग्रा स्पोर्ट्सले चिउरी बगैँचा युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
दोश्रो खेलमा सोल्टु युवा क्लबलाई हेटौंडा–१७ ले सोझो सेटमा पराजित गरेको जनाइएको छ । १० वटा टिमको सहभागिता रहेको प्रतियोगितामा आज शुक्रबार पहिलो खेल साविक विजेता हेटौंडा १७ र उपविजेता हटिया स्पोर्ट्स बीच विहान ११ वजे हुनेछ । जेसीआई बसामाडीका अध्यक्ष गौतम केसीको अध्यक्षतामा भएको प्रतियोेगिताको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जेसीआई बसामाडीका निवर्तमान अध्यक्ष विवेक बजगाईको पनि उपस्थिति रहेको थियो ।