यातायात क्षेत्रको समस्या हटाउन मुख्यमन्त्रीले थाले प्रयास
हेटौंडा-यातायात क्षेत्रमा देखिएका विद्यमान समस्या र यातायात व्यवसायीहरुको गुनासो सम्बोधन गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रयास थालेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित करको संकलन तथा यातायात क्षेत्रका समस्या समाधान सम्बन्धि प्रदेश सरकारले चासो देखाएको छ । सरकारले यातायात क्षेत्रसँग सम्बन्धि आर्थिक ऐन, २०७८ मा गरिएको सवारी करका सम्बन्धमा सरोकारवालासँग सुझाव संकलन थालेको हो । सरकारले यातायात क्षेत्रका सरोकारवालाहरुसँग समस्या समाधानका निम्ति छलफल अघि बढाएको छ । यातायात व्यवसायीहरु प्रदेश सरकारलाई सबैभन्दा बढी राजश्व बुझाउने यातायात क्षेत्रबाट उठाइएका समस्या समाधान गर्न मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका छन् ।
अन्तक्र्रिया कार्यक्रममा बोल्दै नारायणी यातायात व्यवसायी संघका सरोज खनाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, नाडा अटोमोबाइल्स एशोसियसन नेपालका अध्यक्ष ध्रुव थापा, सार्वजनिक यातायात केन्द्रीय महासंघका डोलनाथ खनाललगायतले करदातले प्राप्त गर्नुपर्ने सार्वजनिक सेवा प्राप्तीमा सम्मानजनक व्यवहार पाउनु पर्ने र यातायात क्षेत्रको पूर्वाधार निर्माण तथा व्यवस्थापनको लागि लगानी गर्ने वातावरण निर्माण गर्न पाण्डेको ध्यानाकर्षण गराएका हुन् । मुख्यमन्त्री पाण्डेले बागमती सरकारको न्यूनतम साझा कार्यक्रममध्ये महत्वपूर्ण यातायात क्षेत्रका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् ।
उनले यातायात क्षेत्रलाई थप व्यवस्थित गर्न र प्रविधिमैत्री रुपमा अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रविधिमैत्री प्रदेश निर्माणका लागि नीतिगत रुपमा हरेक निकायमा सुदृढीकरण आफ्नो लक्ष्य रहेको भन्दै सहयोग गर्न व्यवसायीहरुलाई मुख्यमन्त्री पाण्डेले आग्रह गरेका छन् । उनले व्यवसायीहरुलाई सवारीसाधन मर्मतको लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न प्रविधि पाठशाला सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । भाडा वृद्धिका विषयमा प्रदेश सरकारले उचित निर्णय लिने भन्दै पाण्डेले सार्वजनिक बसलाई सफा र अत्याधुनिक सुविधा सम्पन्न बनाउन आग्रह गरेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माको सभाध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात क्षेत्रका समस्या समाधान गर्न बागमती प्रदेश सरकारले प्राथमिकता राखेर नतिजामुलक कार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयको उपसचिव शशी भट्टराईले आर्थिक ऐन, २०७८ र राजश्व संकलन सम्बन्धमा र यातायात व्यवस्थापन सुधार तथा सुचना प्रणाली सबलीकरण आयोजनाका निमित्त प्रमुख प्रकाश अधिकारीले यातायात व्यवस्था सम्बन्धी सुधार तथा सुचना प्रणालीको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।