मकवानपुरे जेनीसले जिते द भ्वाइस किड्सको उपाधि

हेटौंडा-जन्म थलो मकवानपुर रहेका जेनिस उप्रेतीले द भ्वाइस किड्सको पहिलो उपाधि जितेका छन् । शनिबार राती भएको फाइनल प्रतिस्पर्धामार्फत उप्रेतीले उपाधि जितेका हुन् । हिमालय टेलिभिजनले सुरुवात गरेको रियालिटी शोको शनिबार सम्पन्न फाइनल शोमा अन्तिम ८ जनामध्ये जेनीस सवैभन्दा बढी भोट प्राप्त गर्दै पहिलो उपाधि जित्ने किड्स बनेका हुन् । उनी प्रमोद खरेलको टिममा थिए । हेटौंडा–१९ बस्तीपुरका जेनिसले नगद १५ लाख रुपैयाँसहित विभिन्न नगद तथा जिन्सी पुरस्कार प्राप्त गरे । उप्रेतीसँगै फाइनल प्रतिस्पर्धामा प्रमोदकै टिमका रुक्सना लिम्बु, टिम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टिम प्रविशाबाट अनुजा कडरियार, सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए । द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । सोमध्येबाट एक सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।