‘सभापति र मेयरमा भ्रम सिर्जना गरियो’

साझाकुरा
२०७८ फाल्गुन १०, मंगलवार ११:३६

नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुँदैछ । जिल्ला अधिवेशन नजिकिएसँगै कांग्रेस मकवानपुरमा नेतृत्व गर्न चाहनेहरुले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् । सभापति पदका लागि हालसम्म चार जनाले आफ्नो उम्मेदवारी रहने घोषणा गरिरहँदा पार्टीको संस्थापन पक्षबाट तीन र संस्थापनइत्तर पक्षबाट एक जना चुनावी मैदानमा होमिएका छन् । संस्थापन पक्षबाट आफ्नो उम्मेदवारी घोषणा गरेर पार्टीका नेताकार्यकर्तामाझ दौडधुपमा लागेका नेतामध्ये एक हुन्ः आनन्दराम पराजुली । नेपाल तरुण दलको वडा, जिल्ला सदस्य र जिल्ला सभापतिहुँदै नेपाली काँग्रेस पार्टीको जिल्ला सचिवको भूमिका सफलतापूर्वक निर्वाह गरेर पछिल्लो समय हेटौंडा उपमहानगरको सभापति पदमा पनि उल्लेख्य काम गरेर कार्यकर्तामाझ लोकप्रिय बनेका पराजुली गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा झिनो मतान्तरले मेयर पदमा पराजित व्यक्तित्व हुन् । मेयरमा पराजित भएपनि नगरका जनतामाझ निरन्तर सेवारत् पराजुली यतिखेर पार्टीको जिल्ला नेतृत्व नै गर्ने सोचका साथ अगाडि बढेका छन् । यसै सन्दर्भमा पराजुलीसंग साँझाकुराकर्मी श्रीजना नेपाले गरेको कुराकानीको अंशः

१) नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा तपाईंको उम्मेदवारी किन ?
फागुन १५ गते हुन लागेको नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापति पदमा मेरो उम्मेदवारी छ । नेपाली कांग्रेस विगतको तुलनामा अहिले धेरै ठूलो पार्टी बनिसकेको छ । जनताको माझ लोकप्रिय बनिसकेको छ । यसलाई सशक्त रुपमा अगाडि बढाएर स्थानीय चुनाव र संघीय चुनावमा नेपाली कांग्रेसलाई अब्बल बनाएर मकवानपुरलाई कांग्रेसको किल्ला बनाउने अभियानको लागि मेरो उम्मेदबारी हो ।

२) मकवानपुरमा कांग्रेसको चुनौती के देख्नु भएको छ ?
समस्या र चुनौती भनेको सबै ठाउँमा हुन्छ नै । चुनौतीको सामना गर्छु भनेर नै अगाडि आउने हो । नेपाली कांग्रेसलाई मकवानपुरमा अब्बल पार्टी बनाउनकै लागि मैले उम्मेदवारी दिन लागेको हुँ । नेपाली कांग्रेस मकवानपुरमा पहिला थोरै थियौं भने अहिले हामि धेरै भइसकेका छौं । धेरै चुनौतीको सामना गर्दै पार्टीलाई अब्बल बनाउने अभियानमा हामि लागिरहेका छौं । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ २०७० सालको संविधानसभाको निर्वाचनमा बिजयी भइसकेपछि मकवानपुरमा कांग्रेसजनकोसंख्या ह्वात्तै बढेको छ । अब मकवानपुरलाई त्यहि गतिमा कांग्रेसमय बनाएर अगाडि लैजानु नै हाम्रो चुनौती हो ।

३) तपाईले त स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगर– पालिकाको मेयरमा उम्मेदबारी दिने भन्नुभएको छ । पार्टी सभापतिमा पनि उम्मेदबारी दिन्छु भन्नुहुन्छ । संस्थापन पक्षबाट पार्टी सभापतिमा तीन जनाको दाबेदारी छ । दुबैतीर तपाई एक्लैले पाउनुहुन्छ त ?

पार्टीको सभापति हुने कुरा पार्टी व्यवस्थापन गर्ने कुरा हो । स्थानीय तहको चुनावमा मेयर हुने कुरा, जनताको माझ जाने कुरा भनेको जनतासँग जो नजिक छ पार्टीले त्यसैलाई पठाउने कुरा हो । अहिले यो पार्टीको अधिवेशनमा सभापति र मेयरको चुनावलाई जोडिराख्न आवश्यक छैन । यसलाई जोडेर भ्रम सिर्जन गर्ने काम भइरहेको छ । यसको खासै तुक छ जस्तो मलाई लाग्दैन । पार्टी चलाउन सक्षमले पार्टीको पद लिने हो । जनतामाझ लोकप्रिय पार्टीको नेताले मेयरलगायत संसदीय फाँटमा काम गर्ने हो ।

४) सभापति पदमा त अरुले पनि उम्मेदबारी दिनुभएको छ । तर, पनि सभापति म नै हुनुपर्छ भन्ने तपाईको आधारहरु के हो ?
सभापतिमा उम्मेदबारी घोषणा गर्नुभएको हाम्रो सबै सहयात्री दाइहरु हुनुहुन्छ । सबैले पार्टीमा काम गर्नुभएको छ । म मात्रै ठीक र राम्रो हो भन्न खोजेको होइन । मैले पार्टीमा तरुण दलको वडादेखि जिल्ला सदस्य, जिल्ला अध्यक्ष, पार्टीको जिल्ला सचिव, नगर सभापति भएर बल्ल पार्टीको सभापति पदको आकांक्षी भएर आएको हुँ ।
मैले पार्टीमा धेरै काम गरेको छु । त्यसकारण मैले सभापतिमा दाबी गरिरहेको छु । सभापतिमा उम्मेदबारी दिनुभएको सबैजना आ–आफैंमा अब्बल
हुनुहुन्छ । त्यसकारण म अरुको कुरा गर्नुभन्दा पनि नेपाली कांग्रेसको नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि र साथीहरुले मलाई यसले काम गर्न सक्छ भनेर धेरै ठाउँमा भन्नु भएको छ । सोहीअनुसार म अघि बढिरहेको हो । मलाई विश्वास छ कि मलाई क्षेत्रीय प्रतिनीधि र वडा सभापतिहरुले बिजयी गराउनुहुनेछ ।

५) तपाई सभापति निर्वाचित भएमा आउँदो निर्वाचनमा कांग्रेसलाई बहुमतको पार्टी बनाउन के गर्नुहुन्छ ?
अहिले वास्तवमै भन्ने हो भने मकवानपुरका सबै जनताले देखिसक्नु भएको छ । मकवानपुरमा ३०÷४० वर्षसम्म कम्युनिष्टका साथीहरुले जग थाप्नुभयो । तर, विकासका कामहरु केहि पनि भएनन् । २०७० सालको चुनावमा माननीय ईन्द्रबहादुर बानियाँले चुनाव जितेपछि धेरै विकासका कामहरु भएका छन् । बोलेका कुराहरु पूरा भएका छन् । त्यसैकारण ०७४ सालको चुनावमा मकवानपुरको कर्णाली भनिने राक्सिराङ जस्तो ठाउँमा गएर पनि चुनाव जितेको अवस्था छ । थोरै जितियो तर, पनि कांग्रेसलाई जनताले विश्वास गरेको अवस्था छ । कांग्रेस सत्तामा नहुँदा पनि जनताको माझमा सधै लागिपरेको छ । हामि चुनाव हारेको भोलिपल्ट पनि हिड्यौं । त्यसकारण पनि अब जनताले हामिलाई विश्वास गर्नुहुन्छ ।

६) अहिले सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरुलाई हेर्दा सस्ंथापन पक्ष नै तितरबितर देखियो नि ?
मान्छेले पार्टीमा काम गरेपछि जुनै पक्ष भएपनि आ–आफ्नो ईच्छा आकांक्षा राख्नु स्वभाविक हो । त्यसैले यहाँ सस्ंथापन पक्ष र सस्ंथापनइत्तर भन्नु भन्दा पनि साथीभाइले म पार्टीलाई डो¥याउँछु भनेर आउनु भएको छ । सस्ंथापन पक्ष र इत्तर पक्षभन्दा पनि हामि सबै सहयात्री हौं । त्यसैले यसलाई गुट उपगुटको रुपमा नहेरेर मकवानपुरमा कांग्रेसलाई गुटमुक्त बनाउनुपर्छ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् भन्ने मेरो चाहना हो ।
७) सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नुपर्ने खण्डमा तपाई पछि हट्नुहुन्छ त ?
सर्वसम्मत नेतृत्व चयनको सवालमा म पछि हट्नुपर्ने कारण नै देख्दिनँ । मैले के कारणले पार्टी सभापतिको उम्मेदवारी छोड्नुपर्छ भन्ने कुरा नै मैले देखेको छैन । कांग्रेसकै साथीभाइ, प्रतिनिधि र वडा सभापतिहरुले भनेकै तपाई अगाडि बढ्नुपर्छ भनेकै कारण म अघि बढेको हुँ । उहाँहरुले नै मलाई पछाडि हट्नु भन्नुहुन्छ भने छुट्टै कुरा हो । होइन भने मलाई न नेताले पछाडि हट् भन्नुभएको छ न प्रतिनिधि साथीहरुले । तपाई अझै अगाडि बढ्नु पर्छ भनेर मलाई धेरै नेताहरुले र साथीहरुले हौसला बढाइरहनु भएको छ । त्यसकारण म पछाडि फर्किनुपर्छ जस्तो मलाई लाग्दैन ।
८) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् फागुन १५ गते मकवानपुर जिल्लाको अधिवेशन हुँदैछ । यस अधिवेशनमा जिल्ला सभापति पदमा मैले उम्मेदवारी दिने घोषणा गरेको छु । अहिलेसम्म पार्टीको इमान्दार सिपाहीको रुपमा काम गरेको छु ।जुन पदमा जिम्मेवारी लिए पनि निष्पक्ष ढंगबाट पार्टीका कार्यकर्ताहरुलाई परेको समस्याको समाधान गर्दै विकास निर्माणको काममा पनि आफूले सक्दो सहयोग गर्दै आएको छु । कार्यकर्तालाई परेका समस्याहरुमा व्यक्तिगतरुपमा पनि सक्दो सहयोग गर्दै आएको सबैलाई थाहा नै छ । भोलिका दिनमा पनि पार्टीलाई चलायमान र जिल्लामा एक नम्बरको पार्टी बनाउने मेरो योजनाहरु छन् ।ती योजनाहरुलाई सफल बनाउन सकियो भने आगामी स्थानीय तहको निर्वाचनदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस पार्टीले मकवानपुरका सबै क्षेत्रमा जित हासिल गर्नेमा म विश्वस्त छु । यसैले यसपटक पार्टीको सभापतिमा उम्मेदवारी दिएकोले आफ्नो अमूल्य मतदान गरी सहयोग गरिदिनुहुन सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि एवम् नेता कार्यकर्ताहरुमा अपिल गर्न चाहान्छु । 

यसमा तपाइको मत

Your email address will not be published.


*