चार वर्षमा हेटौंडामा एक सय २९ किलोमिटर सडक पक्की

साझाकुरा
२०७८ फाल्गुन २१, शनिबार ०८:३७

हेटौंडा- कच्ची सडकमुक्त अभियानमा लागेको हेटौंडा उपमहानगरपालिकाले चार वर्ष अवधिमा एकसय २९ किलोमिटर सडक पक्की गरेको छ ।हेटौंडाको १९ वटै वडामा एकसय २९ किलोमिटर सडक पक्की भएको कार्यालयले जानकारी दिएको छ । जसमध्ये सबैभन्दा धेरै सडकमा स्ल्याब ढलान गरिएको छ । कालोपत्रेभन्दा स्ल्याब ढलान गर्दा कम खर्च लाग्ने र टिकाउ पनि हुने भएकाले हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले स्ल्याब ढलानलाई प्राथमिकतामा राखेका थिए । उपमहानगरको साविक गाविस (गाउँक्षेत्र) र नगरमा स्ल्याब ढलान भएका छन् । नगरकै कतिपय स्थानमा कालोपत्रे पनि गरिएको छ ।

सडक नपुगेका र कच्ची भएका स्थानमा सडक कालोपत्रे र स्ल्याब ढलान भएको हो । आर्थिक वर्ष २०७४ सालदेखि २०७७÷०७८ सम्मको तथ्याड्ढलाई हेर्दा १९ वटै वडामा उपमहानगरपालिकाको लगानीमा एकसय २९ किलोमिटर कच्ची सडकलाई पक्की गर्न सकिएको नगर प्रमुख महतले बताए । महतका अनुसार एकसय २९ किलोमिटर सडक उपमहानगरले गरेको र संघीय तथा प्रदेश सरकारको बजेटबाट पनि एकसय भन्दा धेरै किलोमिटर सडक पक्की गरिएको छ । उनले हेटौंडामा पर्ने राजमार्ग र ठूला सडकमा संघीय सरकारको लगानीमा सडक निर्माण भएको छ ।

स्थानीय सरकार गठन भएपछि नागरिकले विकासको अनुभुति गर्न पाएको महतले बताए । उनले जनताको प्रत्यक्ष सुविधासँग जोडिएर उपमहानगरले काम गरेको बताए । ‘विगतको तुलनामा पाँचवर्षको बीचमा धेरै काम गरिएको छ । सबैभन्दा धेरै १९ वटै वडामा बजेटको शिलिङ तोकेर काम गरिएको छ भने उपमहानगरपालिका, प्रदेश सरकारबाट त्यतिकै काम भएको छ । अहिले टोलटोलमा पक्की सडक निर्माणले गर्दा नागरिकले सरकार घर आँगनमा आएको अनुभुति गर्न पाएका छन्’, महतले दाबी गरे ।

हेटौंडा–१७ राजदेवीमा सडक पक्की नहुँदा जनताले धेरै कष्ट सहेर आवतजावत गर्नुपरेको बाध्यतालाई हटाउन स्ल्याब ढलान गरिएको महतले बताए । हेटौंडामा चार वर्षको अवधिभित्र एकसय २६ किलोमिटर दुईसय ११ मिटर कच्ची सडकमा स्लाब ढलान गरिएको कार्यालय प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले जानकारी दिए । स्ल्याब गर्न उपमहानगरपालिकाले कूल एक अर्ब २० करोड ९५ लाख छ हजार बजेट खर्च गरेको उनले बताए । चार वर्षमा एक हजार २८ स्थानमा स्ल्याब ढलान गरिएको चौलागाईंले जानकारी दिए ।

नगरभित्र १७ स्थानमा दुई किलोमिटर छसय ७१ मिटर सडक कालोपत्रे गरिएको छ । कालोपत्रे गर्दा तीन करोड १६ लाख ३६ हजार रुपियाँ खर्च गरिएको कार्यालयले जनाएको छ ।हेटौंडाको १ नम्बर वडामा भौगोलिकरुपले विकट छ । १ नम्बरका वडा अध्यक्ष सबिन न्यौपानेले उपमहानगरपालिकाको बजेटलाई व्यवस्थापन गर्दै विकट स्थानमा स्ल्याब ढलान गरेका छन् । विकट गाउँमा नयाँ सडक ट्रयाक खोलेका छन् । १ नम्बर वडामा खानेपानी, सडक, विद्यालय शिक्षाको गुणस्तरीयतामा ध्यान दिएर काम गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । वडा अध्यक्ष न्यौपानेकै पहलमा हेटौंडा–१ स्थित चौकीटोलबाट मैनटार लालझाडी जोड्ने पक्की पुल निर्माण सुरु गरिएको छ ।

हेटौंडा–१८ हर्नामाडी क्षेत्रमा सडक निर्माणले व्यापकता पाएको वडा अध्यक्ष अनिल बानियाँले बताए । १८ नम्बर वडामा विशेषतः रिङरोड, दोभान चौर, एक्ले खेत, भित्री सडकहरु पक्की निर्माण गर्ने काम भएको अध्यक्ष बानियाँले बताए । चालू आर्थिक वर्ष २०७८÷०७९ मा हेटौंडाका सबै वडामा थप ३० किलोमिटर कच्ची सडकलाई पक्की गर्ने काम भइरहेको उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख इन्जिनियर सत्यनारायण साहले जानकारी दिए ।

नगरभित्र ९९ स्थानमा ८४ किलोमिटर नौसय ६ मिटर सडक मर्मत गरिएको छ । सडक मर्मतमा मात्र कूल ११ करोड ९७ लाख ४९ हजार रुपियाँ खर्च गरिएको कार्यालयले जनाएको छ । महतले नगर प्रमुख भएपछि बजार क्षेत्रका साँघुरो गल्लीलाई फराकिलो गर्ने अभियान चलाएका थिए । जसअन्तर्गत् खोपगल्ली, पारिजातपथ, स्कुलरोड, अजरअमर रोड, भैरबरोड, नगरपालिकारोडलगायत थुप्रै क्षेत्रमा सडक फराकिलो बनाइएको थियो । हेटौंडा ७ र ८ नम्बर वडामा पर्ने सडकमा स्ल्याब ढलान गरेर फराकिलो स्तरीय सडक निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*