जीतेपछि हेटौंडाको मेयर होइन सेवक भएर काम गर्नेछु : मीना लामा

साझाकुरा
२०७९ बैशाख २७, मंगलवार १५:३५

स्थानीय तहको निर्वाचन आउन दुई दिन मात्रै बाँकी छ । निर्वाचनको मिती नजिकिरहँदा बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकामा कसले बाजी मार्ला ? भन्ने विषय सबैको चाँसोमा परेको छ । मकवानपुरको ईतिहासमै पहिलो पटक सत्तारुढ गठबन्धनको तर्फबाट मीनाकुमारी लामा महिला मेयरको रुपमा प्रतिष्पर्धामा छिन् । यसअघि हेटौंडाको मेयरमा महिलाको उम्मेदवारी पर्न सकेको थिए । पाँच वर्ष हेटौंडा उपमहानगरपालिकाको उपमेयर भएर सफलतापूर्वक काम गरिसकेकी उनी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा निर्वाचित हुँदै नयाँ ईतिहास कोर्न चाहान्छिन् । यिनै सेरोफेरो साझाकुराले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनको तर्फबाट हेटौडाको मेयरको उम्मेदवार मीनाकुमारी लामासँग गरेको कुराकानीको सम्पादित अंश:

१) गठबन्धनबाट हेटौंडामा पहिलो पटक मेयरको उम्मेदवारको रुपमा महिला खडा हुनुभएको छ । तपाईको उम्मेदवारी किन ?
यसअघि भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको उपमेयरमा निर्वाचित भएर मैले पाँच वर्षको कामको अनुभव सम्हालिसकेको छु । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा अझै धेरै समस्या छन् । हेटौंडाको विकास र समृद्धिका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ । हेटौँडामा सडक विस्तारको समस्या, भूमिहीनको समस्या लगायतका विविध समस्या समाधाधन गर्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा धेरै काम गर्नु आवश्यक छ । उपमहानगरपालिकामा पछि गाभिएका साविकको गाविस क्षेत्रलाई साँच्चै उपमहानगरबासीको प्रत्याभुती दिलाउने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्नेछ । सामाजिक रूपान्तरण, महिला सशक्तिकरण, युवा, बालबालिका लगायतका क्षेत्रमा योजना बनाएरै काम गर्नुपर्नेछ । हेटौंडालाई नयाँपन दिएर सुन्दर र समृद्ध शहरको रूपमा विकास गर्नका लागि मेरो उम्मेदवारी हो । ५ बर्षको उपमेयरमा रहँदाको अनुभवमा यहाँको अवसर, सम्भावना र चुनौतीलाई बुझेको छु । त्यसलाई कार्यान्वयन गर्दै उपमहानगरको सर्वाड्डीण विकासका लागि मेरो उम्मेदवारी हो ।

२) तपाई हेटौंडाको मेयरमा निर्वाचित हुनुभयो भने हेटौंडाबासीले के पाउँछन् त ?
निर्वाचित भएपछि हेटौंडाको लागि हामि केके गर्छौ भनेर हामीले गठबन्धनको तर्फबाट प्रतिबद्धतापत्र नै सार्वजनिक गरिसकेका छौं । प्रतिबद्धतापत्रमा उल्लेख गरिएका बिषय हुवहु कार्यान्वयन गर्दै हेटौंडा उपमहानगरबासीलाई सुखी र खुसी बनाउने हाम्रो लक्ष्य छ । नगर क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएका छौं । हेटौँडा विकास प्राधिकरण गठन गरी पूर्वाधार विकासलाई अघि बढाउने, ५ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने, प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्नें, नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलबिहार तथा पार्क निर्माण गरी पर्यटनमैत्री नगर बनाउँने, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवद्र्वन र विकासका कार्यक्रम सञ्चालन गर्नेछौं । नगरको सेवा घरघरमा नै पु¥याउनुका साथै ‘एक घर एक रोजगार’को व्यवस्था गर्नेछौं । बेरोजगारी समस्या समाधानका लागि उद्योग कलकारखानाको स्थापनासंगै कृषि क्षेत्रमा ऋण तथा अनुदानको व्यवस्था मिलाउनेछौं । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनले जिते साँच्चै नमूनालायक हेटौंडा उपमहानगरपालिका बनाउनेछौं ।

३) टिकट वितरणको बिषयलाई लिएर गठबन्धनमा रहेको कांग्रेस र तपाइकै पार्टी नेकपा एकिकृत समाजवादीमा चर्को असन्तुष्टि देखियो, यसले निर्वाचनमा असर गर्दैन ?
हाम्रो पार्टीमा पनि केही दावेदार नभएका होइनन् । टिकट पाउन पाए हुन्थ्यो, चुनाव जितेर जनताको हितमा काम गर्न पाए हुन्थ्यो भन्ने सोचाई राजनीतिक दलका नेतामा हुनु स्वभाविक हो । यसअघि हेटौंडाको मेयरमा थोरै मतले हारेको ठूलो पार्टी नेपाली कांग्रेसमा पनि आकांक्षीहरु हुनु स्वभाविक हो । अहिले केन्द्र सरकार र प्रदेश सरकारमा पनि गठबन्धन छ । गठबन्धन केका लागि आवश्यक पर्यो भन्ने सबै नेता कार्यकर्ताहरुले बुझ्नुभएकै छ । गठबन्धनकै क्रममा हेटौंडा उपमहानगरपालिका हाम्रो पार्टीको भागमा पर्यो । पार्टीले मलाई मेयरको उम्मेदवार बनायो । गठबन्धनको मर्म, भावना अनुसार सत्तारुढ ५ वटै दलका नेता कार्यकर्ताहरु गठबन्धनका उम्मेदवारलाई जिताउन एकढिक्का भएर लाग्नुभएको छ । अहिले हामीमा सानोतिनो कुराले चित्त दुखाएर गठबन्धनका उम्मेदवारलाई जिताउन लागिएन भने फेरि ५ बर्ष पछुताएर बस्नुको विकल्प छैन । मैले पनि व्यक्तिगत रुपमा गठबन्धनका नेताहरु र मेयर पदका आकांक्षीहरुलाई पटकपटक भेटेर आफ्ना कुराहरु
राखिसकेको छु । अब गठबन्धनलाई जिताउन लाग्ने भनेरै सबै नेताहरु एक भएर लाग्नुभएको छ । देशैभर गठबन्धनको पक्षमा राम्रो माहौल आएको छ । सबै खुसी हुनुहुन्छ । हामी जित्नेछौं ।

४) महिला भएकै कारण प्रमुख पदमा काम गर्न सक्दैन भन्ने खालको प्रश्न पनि उठिरहेको छ । के भन्नुहुन्छ ?
यो एकदमै गलत अनि पुरातनवादी सोच हो । विपक्षीले पनि यस्ता अफवाहहरु फैलाएको हुन् । मैले उपमेयर पदमा रहेर ५ बर्ष काम गर्दा सबैको साझा भएरै काम गरेको थिए । आफ्नो काम, कर्तव्य, अधिकारलाई कहिल्यै पनि भुलिन । सबैलाई समान ढंगले व्यवहार गरेँ । महिलाले नेतृत्व गरेको पालिका तथा मन्त्रालयहरुमा भ्रष्टाचार, बेरुजु र समस्याहरु निकै कम आउने गरेको यथार्थ पनि हामी सामु छ । महिला भएकै कारण यो चुनाव जित्छु । हेटौंडा उपमहानगरपालिकाबासीले यसपटक महिला नेतृत्व चाहेका छन् । नेतृत्वका लागि म आफैंमा सक्षम छु । अहिलेको २१ औं शताब्दीमा लिंग, जात र धर्मको कुरा गरिरहनु आवश्यक नै छैन । नेतृत्वका लागि आफू सक्षम हुने मुख्य विषय हो । एकपटक अनि यसैपटक हेटौंडा उपमहानगरपालिकाको मेयर भएर काम गर्ने अवसर मलाई आएको छ । सबैलाई समेट्दै हेटौंडा उपमहानगरको विकासमा लागिपर्ने छु । महिलाले नेतृत्व गरेको हेटौंडा उपमहानगरपालिका साँच्चिकै नमूनालायक हुने रहेछ भनेर प्रमाणित गर्ने मेरो वाचा भयो । पुरुष सरह वा सो भन्दा राम्रो तवरले काम गरेर देखाउनेछु । एक पटक मेयर पदमा महिलालाई जिताइ दिनुहुन आम हेटौंडा उपमहानगरबासीमा अनुरोध समेत गर्न चाहन्छु ।

५) चुनावी अभियानमा घरदैलो गर्दा मतदाताको देखिएको अपेक्षाहरु पूरा गर्न सकिन्छ ?
हेटौंडाबासीको धेरै ठूला अपेक्षाहरु छैन । घरको धारामा शुद्ध पानी आइदियोस्, बिरामी पर्दा सहज रुपमा औषधि पाउन सकियोस्, बेरोजगारीको समस्या समाधान होस्, घर जानेआउने बाटो राम्रो बनिदेओस्, शान्तसंग जीवनयापन गर्न पाइयोस् भन्ने नै उहाँहरुको अपेक्षा छ । युवा विद्यार्थीहरुले स्मार्ट सिटी बनोस्, टेक्नोलोजीको विकास होस् भन्ने चाहना राख्नुभएको छ । यस्तै आर्थिक अवस्था कमजोर भएकाहरुले आफ्नो छोराछोरीको निशुल्क शिक्षा र औषधि उपचारको अपेक्षा छ । यी वास्तवमै सामान्य अनि जायज अपेक्षा हुन् । यी अपेक्षाहरु मैले पूरा गर्नुपर्छ । त्यसमा म प्रतिबद्ध छु । हेटौँडाको विकासमा सबैभन्दा पहिलो त पूर्वाधार नै हो । उपमहानगरपालिकामा पछि समाहित भएको साविकको गाविसलाई उपमहानगर सरह बनाउनु छ । यो संगै खेलकुदको विकास, आर्थिक अवस्था उकास्ने खालका कार्यक्रम र उद्योग कलकारखाना निर्माण हुने वातावरण बनाउनुपर्नेछ । यी सबै क्षेत्रमा योजनाबद्ध काम हुनेछ ।

६) अन्तिममा के भन्न चाहनुहुन्छ ?
म यहाँहरुकै दिदी बहिनी, छोरी चेली हुँ । मलाई मेयरसाप होइन जनताको सेवक भएर काम गर्नुछ, जनताको हकहितमा काम गर्नुछ । जनताको सामु गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुछ । बागमती प्रदेशको राजधानी यस हेटौंडालाई वाह भन्ने बनाउनु छ । देशकै नमूनालायक उपमहानगर बनाउनु छ । त्यसका लागि हेटौंडा उपमहानगरपालिकाबासीले गठबन्धनका उम्मेदवारहरु म मीनाकुमारी लामालाई मेयरमा र राजेश बानियाँलाई उपमेयर पदमा जिताउनुपर्नेछ । यहाँहरु सामु हामीले गरेका वाचाहरु पूरा गर्नेछौं । केवल एकपटक सेवा गर्ने मौका प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*