वर्षाले मैदान जलमग्न भएपछि खेल स्थगित
हेटौंडा हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पा रंगशालामा शनिवार दिउसो परेको वर्षाले जारी मकवानपुर गोल्डकप प्रभावित बनेको छ ।वर्षाले क्याम्पा रंगशाला जलमग्न भएपछि शनिवारको खेल स्थगित भएको हो । गोल्डकपको तेस्रो खेलमा विभागीय टोली एपीएफ र फ्रेण्डस क्लबबीच दिउसो ४ बजेका लागि खेल तय थियो ।तर, दिउसोदेखि निरन्तर परेको वर्षाले मैदानमा पानी जमेपछि आयोजकले खेल स्थगित गर्नुपरेको थियो । उक्त खेल आज बिहान साढे ८ बजे खेलाइने प्रतियोगिताका संयोजक प्रताव विष्टले जानकारी दिएका छन् । खेल मैदानमा पानी जमेर खेल्न सक्ने अवस्था नभएपछि आज बिहानलाई खेल खेलाइने भएको संयोजक विष्टले बताए ।
एपीएफ र फ्रेण्डस क्लबबीचको विजेता अन्तिम आठमा प्रवेश गर्नेछ । विजेता टोलीले सेमिफाइनल प्रवेशका लागि साविक विजेता त्रिभुवन आर्मी क्लबसंग भिड्ने छ । मकवानपुर फुटबल संघको आयोजनामा स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता– २०७९ जारी छ । आज आइतबार दुई खेल हुनेछन् । बिहान विभागीय टोली एपीएफ र फ्रेण्डस क्लब भिड्ने छन् भने दिउसो ४ बजे विभागीय टोली नेपाल पुलिस क्लब र खुमलटार क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा १२ वटा क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले १५ लाख नगदसहित ट्रफि र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक बिष्टले जानकारी दिए ।