एकीकृत समाजवादीले सरकार नछोड्ने, कांग्रेस सहमतिबाट पछि नहट्ने

साझाकुरा
२०७९ असार १९, आईतवार १०:२९

हेटौंडा,- नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेश सरकारको नेतृत्व नछाड्ने भएको छ । पूर्वसहमति अनुसार एकीकृत समाजवादीले असारदेखि नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नु पर्ने थियो । तर, शनिवार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रदेश संसदीय दलको बैठकले सरकारको नेतृत्व नछाड्ने र गठबन्धनभित्र नयाँ सहमतिको वातावरण बनाउन गठबन्धनको शिर्ष नेतृत्वलाई जिम्मा दिने निर्णय भएको हो । बागमतीमा कांग्रेस र नेकपा माओवादी केन्द्रले सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने दाबी गरेका छन् ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता शालिकराम जम्मकट्टेलबीच गत कार्तिक पहिलो हप्ता आधा–आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको दावी गरिएको छ । उक्त सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिनुपर्ने कांग्रेस र माओवादी केन्द्रले बताउँदै आएका छन् । तर, पाण्डेले मुख्यमन्त्री नछोड्ने बताएका छन् । शनिवार संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै प्रदेश सरकार परिवर्तन गर्न गठबन्धनको शीर्ष तहमै निर्णय हुनुपर्ने प्रदेशसभा संसदीय दलका उपनेता कृष्ण खनालले बताए ।

प्रदेशस्तरको कुराले कुनै अर्थ नलाग्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका खनालले गठबन्धनको शिर्ष तहको निर्णयबाटै सरकार परिवर्तनको टुंगो लाग्ने बताए । मुख्यमन्त्रीले राजीनामा दिने कुरा सम्भवन नभएको उनको भनाई छ । पाण्डेले मुख्यमन्त्री पद छाड्न आनाकानी गरेको भन्दै कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यले उनीविरुद्ध हस्ताक्षर संकलन गरेका छन् । हस्ताक्षर संकलन गरेपछि पाण्डे दबाबमा परेका थिए । उनले सरकारकै विषयमा छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा दलको बैठक राखेका थिए । नेपालले पनि गठबन्धनको शिर्ष तहबाटै सरकार परिवर्तनको विषय टुंग्याइने बताएको नेकपा (एस) निकट एक प्रदेश सांसदले जानकारी दिए ।

एकीकृत समाजवादीकी सचेतक मुनु सिग्देलले मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छोड्न परे गठबन्धनको शीर्ष नेतृत्वको निर्णयपछि मात्रै हुने बताइन् । गठबन्धनको शिर्ष नेतृत्वमा एकीकृत समाजवादीले बागमती छोड्न परे अन्य प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनु पर्ने बताएको छ । गठबन्धनमा तीन दलले २÷२ वटा प्रदेशको नेतृत्व गर्न पाउने गरी भागबण्डा मिलाएकाले बागमती प्रदेशको नेतृत्व छोड्दा अर्को प्रदेश पाउनुपर्ने विषयमा छलफल भएको एक सांसदले जानकारी दिए । पार्टी अध्यक्ष नेपालले पनि गठबन्धनमा छलफल गरेर निष्कर्ष निकाल्ने बताएको उनले बताइन् ।

सरकार परिवर्तन हुनुपर्ने अडान लिँदै आएको कांग्रेसले सहमति कार्यान्वयनको विकल्प नरहेको बताएको छ । सरकार नछोड्ने निर्णय गरेपनि सहमति कार्यान्वयन हुनेमा विश्वास रहेको कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले जानकारी दिए । उनले प्रदेश सरकार परिवर्तनको विषय गठबन्धनको शिर्ष नेतृत्वबाटै टुंगो लगाउने कुरा पहिलो प्राथमिकतामा रहेपनि आन्तरिक सहमित पालना हुनुपर्ने बताए । प्रदेश तहमै भएको लिखित सहमति विपरित जान नहुनु उनको भनाई छ । बागमतीको हकमा अन्य प्रदेशलाई देखाएर सहमति तोड्न नमिल्ने लामाले बताए । ‘हामीलाई अझै विश्वास छ, सहमति पालना हुन्छ ।,’ लामाले भने ।

बागमतीमा सहमति अनुसार सरकार परिवर्तन हुनुपर्ने बताउँदै आएको माओवादी केन्द्रले सहमति कार्यान्वयन हुनुपर्ने अडान कायम राखेको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज दुलालले सहमति कार्यान्वयन हुनुपर्ने बताए । तर, दुलालले सरकार भन्दापनि गठबन्धन कायम हुनुपर्ने विषय पहिलो प्राथमिकतामा रहेको धारणा राखे ।उनले हस्ताक्षर संकलन मुख्यमन्त्रीलाई हटाउन नगरिएको तर, सहमति कार्यान्वयन हुँदा सरकार परिवर्तनका लागि आवश्यक पर्ने भएकाले पूर्वतयारी गरिएको दावी गरे । ‘माओवादीले पहिलो कुरा गठबन्धनलाई कायम रहनुपर्ने बताए । सत्ता भनेको दोस्रो कुरा हो ।’ दुलालले भने, ‘विगतका दिनमा लिखित सहमति भएको हो, सहमति कार्यान्वयन हुनुपर्नेमा हाम्रो जोड छ । तर, नयाँ सहमतिपनि गरेर जान सकिन्छ ।,’

बागमतीमा करिब साढे ३ महिने लामो तत्कालीन नेकपा र एमाले सरकार बर्हिगमन भएसँगै एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन सरकार ११ कार्तिकमा बनेको थियो । गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीबाट राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए ।उनले मुख्यमन्त्री बन्नुअघि कांग्रेससँग आधा–आधा कार्यकाल सरकार चलाउने गरेको सहमतिले उनलाई अप्ठेरो बनाईरहेको छ । मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन थियो । प्रदेशसभामा हाल कुल सांसद संख्या १ सय ७ छ ।

प्रदेशसभामा माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील दलसँग ३, राप्रपा र नेमकिपाका २÷२ सांसद छन् । बागमतीमा सरकार बनाउन गठबन्धन गर्नुको विकल्प छैन् ।बागमतीमा सरकार निर्माण गर्न ५४ जना सांसदसहित बहुमत संख्या हुनुपर्दछ । उक्त संख्या कुनै दलसँगपनि छैन् । पार्टी विभाजनअघि एमालेको बहुमत थियो । तर, त्यो लामो समयसम्म टिक्क सकेन् । पार्टी फुटेसँगै तत्कालीन नेकपा र एमालेको करिब साढे ३ वर्ष लामो सरकार ढलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*