प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरुको नजर संघीय सांसद्तिर
हेटौंडा- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । संघ तथा प्रदेशको निर्वाचन मिति तोकिएसँगै देशभर नै चुनावी सरगर्मी बढिरहेको छ । कुन नेताले कहाँबाट उम्मेदवारी दिन्छन् भन्ने विषय अहिले चर्चामा छ । आसन्न निर्वाचन अघिल्लो निर्वाचनभन्दा रोचक बन्ने आंकलन पनि गरिएको छ । देश संघीयतामा गएपछि आगामी मंसिर ४ गते दोस्रोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ । ५ वर्षअघि भएको निर्वाचनपछि देशमा ७ वटा प्रदेश सरकार बन्यो । यो ५ वर्षको अवधिमा प्रदेश सरकारले जनतालाई खासै छुने गरि काम गर्न सकेको छैन । पहिलो कार्यकाल नै सबै प्रदेशको विवादितरहित बन्न सकेन । त्यसैले प्रदेशको पहिलो कार्यकाल नसकिदा नै प्रदेश संरचना खारेज गर्नुपर्ने सम्मको आवाज उठ्न थालिसकेका छन् । यस्तोमा प्रतिनीधिसभा भन्दा पनि प्रदेशसभाको निर्वाचन अझै पनि रोचक बन्ने आंकलन गरिएको हो । हालका बागमती प्रदेश सांसद दोहोराएर प्रदेशमै बस्न चाहना कमैमा छ ।
कोहीले त प्रदेशको संरचना नै खारेज गर्नुपर्छ भन्ने माग राखिसकेका छन् भने धरैजसो सांसद्ले प्रतिनिधिसभा सांसदमा उम्मेदवारी दिने तयारी थालेका छन् । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री र अहिलेका बहालवाला मुख्यमन्त्री नै मंसिर ४ गते हुने चुनाबमा संघमा उठ्ने तयारी गरिरहेका छन् ।प्रदेशका केही पूवमन्त्री र बहालवाला मन्त्रीहरु पनि प्रदेशसभा छोडेर प्रतिनीधिसभा निर्वाचनको उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य तथा वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि प्रतिनिधिसभातर्फ नै उम्मेदवारी दिने तयारीमा जुटेका छन् । नेपाली राजनीतिमा एउटा उचाई प्राप्त गरिसकेका शाक्य र पाण्डे यसअघि पनि संघीय सांसद् बनिसकेका व्यक्ति हुन् । तर, देश संघीयतामा गएपछि मुख्यमन्त्री बन्ने चाहाना बोकेर उनीहरु प्रदेशतर्फ झरेका थिए । पाँच वर्ष प्रदेशसभा र सरकारको समेत अनुभव गरिसकेका उनीहरु अब फेरि संघीय सांसद बन्नेतर्फ नै लागिरहेका छन् ।
मुख्यमन्त्री बन्ने आशमा प्रदेशमा झरेका राजेन्द्र पाण्डेले लामो समय सत्तामा जान समेत पाएनन् । जब एमाले फुटेर एकीकृत समाजवादी बन्यो, पाण्डेको हातमा बागमती प्रदेश सरकारको बागडोर आइपुग्यो । ११ कात्तिक २०७८ मुख्यमन्त्री बनेका उनी आगामी निर्वाचनमा प्रदेशमा बस्न चाहँदैनन् । ‘एउटा वातावरणले धकेलेर प्रदेशमा पु¥यायो, आगामी चुनावमा संघमै उठ्छु’, मुख्यमन्त्री पाण्डेले भने । उनी मात्र होइनन् । बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल यसपटक कुनै पनि चुनाव लड्ने पक्षमा छैनन् ।बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका पौडेल पनि प्रतिनिधिसभाको नै उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो । तर, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले आगामी निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । युवा पुुस्तालाई स्थान दिन आफूले बिदा लिन चाहेको उनले बताए । ‘म चुनाव लड्दिनँ’, पौडेलले भने, ‘युवा पुस्तालाई दिनुप¥यो नि, सधैंभरि हामीले कति लडिरहने ?’ चुनाव नलडेर पुस्तान्तरणमा सहयोग गर्न खोजेको उनको तर्क छ ।
पूर्वमुख्यमन्त्री शाक्य पनि चुनाब लड्नै परेमा प्रदेशमा होइनकी संघमा चुनाब लड्ने उनी बताउँछिन । बागमती प्रदेशका अहिलेका बहालवाला मन्त्रीहरु र पूर्वमन्त्रीहरुसमेत प्रदेशमा चुनाब नलड्ने र प्रतिनिधिसभामा आफ्नो पक्षमा टिकट लिनका लागि पार्टी भित्र लभिङ सुरु गरेका छन् । प्रदेशका पूर्व र अहिलेका समेत गरेर एक दर्जन मन्त्रीहरुले संघमा चुनाब लड्ने तयारी थालेका छन् ।नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ पनि संघमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा चलेको छ । प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे र बानियाँले ६÷६ महिना प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने लिखित सहमति हुँदासमेत शान्त बनेर बानियाँले मुख्यमन्त्रीका लागि मरिहत्ते गरेनन् । बानियाँलाई राम्रै ठाउँ दिने केन्द्रकै निर्णयअनुसार उनी साम्य भएको केहीअघि चर्चासमेत थियो । २०७४ सालको प्रदेशसभामा जित हाँसिल गर्दै पार्टीको साख जोगाउन सफल भएका उनी अब प्रतिनिधिसभामा आकांक्षी रहेको चर्चा छ । बानियाँले १९ हजार २ सय ४५ मत ल्याउँदै विजयी बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजाराम स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएर पराजित हुन परेको थियो ।
नेकपा माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचन जित्दै आएकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको पनि अबको दाउ प्रतिनिधिसभाको टिकटतिर केन्द्रित हुन थालेको छ । आगामी निर्वाचनमा मोक्तानको दाबी संघीय निर्वाचनमा रहने चर्चा चलेको हो ।२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बन्दा मोक्तानले प्रतिनिधिसभाको टिकट गुमाएकी थिइन् । उनले विरोध खतिवडालाई प्रतिनिधिसभा छोडेर आफू प्रदेशसभामा उम्मेदवार बनेकी थिइन् ।
आगामी निर्वाचनमा भने मोक्तान कुनै पनि हालतमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने होडमा लागिपरेकी छन् । उनले पनि प्रतिनिधिसभाको सोही क्षेत्रबाट चुनाव लड्ने चर्चा चल्दै आएको छ ।