‘जनता लाभान्वित हुने काम गर्नुपर्छ’

महालक्ष्मी उपाध्याय डीना (सहमहामन्त्री, नेपाली कांग्रेस)
२०७९ भाद्र २८, मंगलवार ०९:५८

महालक्ष्मी उपाध्याय ‘डीना’ । यो नाम मकवानपुरको लागिमात्रै होइन, नेपालकै राजनीतिमा एउटा स्थापित नाम हो । विद्यार्थी आन्दोलन होस् या महिला आन्दोलन, हरेक समयमा सशक्तरुपमा आफ्नो आवाज बुलन्द पार्ने गरेकी मकवानपुरे नेता डीना नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री हुन् । कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित उनले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति उनले विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । आगामी २०७९ मंसिर ४ गते हुन लागेको निर्वाचनमा उनी मकवानपुरको प्रतिनीधिसभाको दुबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएकी छन् । विगतको केहि निर्वाचनमा पराजयको नमिठो स्वाद चाखेकी उनी आगामी निर्वाचनमा मकवानपरे जनताबाट अनुमोदित हुने अपेक्षासहित चुनावी मैदानमा होमिएकी छन् । नेपालको संविधान निर्माण र संविधानमा महिलाहरुको समावेशी सहभागिताको लागि महत्वपूर्ण भूमिका खेलेको कारण पनि आफूलाई जनताले मत दिएर अनुमोदित गर्ने उनी बताउँछिन् । प्रस्तुत छ, आसन्न प्रतिनीधिसभा निर्वाचनको सम्बन्धमा केन्द्रित रहेर साझाकुराकर्मी श्रीजना नेपालले नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’सँग गरेको कुराकानीः
१. निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
निर्वाचनको तयारी सधैं नै भइरहेको छ । २०७४ सालको निर्वाचन हारेदेखि २०७९ सालको निर्वाचनको तयारीमा सधंै जुटिराखेको छु । अहिले आएरमात्रै तयारी गरेको होइन ।
२. आसन्न निर्वाचनमा सहभागी हुने तयारी गरिरहँदा विगतको निर्वाचन र हारलाई कसरी मूल्याड्ढन गर्नुभएको छ ?
पटक–पटक निर्वाचन हारेको भएता पनि जनताले हौसला भने दिइरहनु भएको छ । मैले जनताबाट अत्यन्त सम्मानजनक मत पाएको हुँदा त्यो हौसला अहिलेसम्म पनि रहिरहेको छ । मैले जनताको साथ, सहयोग र सद्भाव सधैं पाइरहेको हुनाले मैले निरन्तररुपमा काम गर्न पनि सकिरहेको छु । मतको हिसाबले म केहि पछि परेँ होला तर, यहाँको जनताहरुको मप्रतिको सद्भाव र सहयोग ठूलो छ ।

३. तपाईले पार्टीभित्र होस् या बाहिर नेपालको राष्ट्रिय राजनीतिमा महिलाको सवाल सशक्त ढंगले उठाउँदै आउनु भएको छ । त्यसैले तपाईको अनुभवमा अझैपनि महिला भएकै कारण पछि पर्नुपर्ने अथवा हार्नुपर्ने अवस्था छ ?
तपाईंले भन्नु भएको जस्तो विगतमा थियो । तर, अहिले बिस्तारै परिवर्तन हुने क्रममा मानसिक रुपमा मानिसहरु परिवर्तन भएको मैले महशुस गरेको छु । स्थानीय तहको निर्वाचन र गएको निर्वाचनलाई हेर्दा पनि त्यो देख्न सकिन्छ । विगतको निर्वाचनमा गठबन्धनसँग मैले पाएको मतलाई हेर्ने हो भने मैले चुनाव जितेको नै हो । त्यसैले महिलालाई भोट नहाल्ने भन्ने मनस्थिति मतदाताको छैन । तर, तपाईले भन्नुभएको जस्तो नेतृत्वमा महिलालाई हेर्ने र नेपालको संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्नमा हिच्कचाहट भएको चाँहि नेतृत्व तहमा मैले महशुस गरिरहेको छु ।

त्यसैकारण मैले आफ्नो पार्टीको नेतृत्व र विभिन्न राजनीतिक पार्टीको राष्ट्रिय तहमा बस्नु भएका पदाधिकारी, केन्द्रीय सदस्यहरु, साथीहरुसँग धेरै छलफल गरेर यसलाई कसरी परिवर्तन गर्न सकिन्छ । महिलाहरुको सहभागितालाई संविधानले जसरी अधिकार दिएको छ त्यसलाई कसरी कार्यान्वयन गर्ने हामीले धेरै बहस पनि गरिरहेका छाँै । अहिलेको मूल एजेण्डा भनेको संविधानले दिएको समानुपातिक सहभागिताको सुनिश्चितता हो । यसैको लागि पनि मैले आफ्नो ठाउँमा प्रत्यक्ष रुपमा निर्वाचनमा भाग लिने निर्णय गरेको हुँ ।

४. तपाईं चुनावमा होमिने तयारी गरिरहँदा के कस्तो एजेण्डा अगाडि सार्नु भएको छ ?
मकवानपुरको विषयमा पुराना पनि धेरै एजेण्डाहरु छन् । मैले धेरै लामो समयदेखि जनसंख्या र विकासको क्षेत्रमा काम गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म मैले यो क्षेत्रमा काम गरेको छु । अहिले विकास निर्माणको कामलाई हामीले हेर्दा विकास सडकमात्रै होइन शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कुरा पनि हुन्छ । समग्र मानव जीवनको पद्वतिको कुरालाई कसरी परिस्कृत गरेर लैजाने भन्ने कुरा नै महत्वपूर्ण कुरा हो । अहिले विकासको नाममा ठूला ठूला बाटो बनाउने काममात्रै भएको छ । बाटो विकासको एउटा मेरुदण्ड त हो तर, त्यो बाटोलाई हामीले सम्झिरहँदा त्यहाँ बस्ने जनताको आवश्यकता अरु के–के हुन् त ? स्वास्थ्यको पहुँच कतिको छ ? शिक्षाको पहुँच कतिको छ ? भन्ने हामीले समन्वयात्मक भूमिकाबाट जोडेर लैजान नसकेको अवस्था छ ।

आज पनि मकवानपुर साँच्चिकै दीयोमुनिको अँध्यारो भनेको जस्तै राजधानीमुनिको अँध्यारो अवस्थामा नै छ । मकवानपुर राजधानीको पनि राजधानी भइसक्यो तर, यस्ता गम्भीर र सान्दर्भिक कुराहरुमा अहिलेसम्मको प्रतिनिधित्वले काम गर्न नसकेको अवस्था छ । नेपालको संविधानले दिएको अधिकार तीन तहमा जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ । त्यहाँको जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उहाँहरुको जीवन पद्वतिलाई परिस्कृत गरेर लाभान्वित गराउने काम अझै सशक्त रुपमा लैजानु पर्दछ भन्ने मलाई लागेको छ । अहिलेको जनताको माग पनि यहि नै हो ।

रोजगार भएन, हामीले चाहेको शिक्षा भएन, हामीले चाहेको स्वास्थ्य कहाँ प्राप्त गर्ने ? भन्ने उहाँहरुको कुरा छ । बाटोघाटोले विकासको कामलाई अगाडि बढाएको छ । तर, हामी अझैपनि सानातिनो बिरामी हुँदा पनि काठमाडौं धाउनुपर्दा गाउँमा हाम्रो पहुँच के भयो त ? हाम्रो गाउँको स्वास्थ्य सेवालाई कसले हेर्ने त ? भन्ने आवाजहरु आइरहेको छ । त्यसैले यी कुराहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, भोलि संसद्मा जाँदै गर्दा यो विषयवस्तुहरुलाई कानुनतः अझै परिवर्तन गर्नुछ संशेधन गर्नुछ भने कानुन निर्माणमा म स्वतः भइहाल्छु । र त्यो कुरालाई तीनै तहको सरकारलाई सजग र सतर्क बनाउँदै जाँदा जनताको पहँुचलाई त्यो ठाउँमा पु¥याउने काममा प्रशस्त भूमिका खेल्ने मेरो अठोट छ ।
५. जनताले डीना उपाध्यायलाई किन भोट हाल्ने ?
मैले माग्ने मत भनेको संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका छ । समावेशी राजनीतिलाई मूल ठाउँमा राखेर मुख्य एजेण्डको रुपमा हामीले धेरै आवाजहरु उठायौं । आजको संविधानमा जति पनि अधिकारहरु प्रत्यायोजित भएको छ, त्यो समावेशी राजनीतिलाई हामीले अगाडि बढाएका हौं । त्यहिअनुसार समाजको विकास र परिवर्तन हुनुपर्छ भन्ने मेरो एजेण्डा हो । जसमा समावेशीमा सम्पूर्ण जातजातिको अधिकारको लागि पनि मैले लडेको छु । विशेषगरी महिलाको लागि आजसम्म महिलाहरु हिंसाको कारण, आवश्यक शिक्षाको अभावको कारण, स्वास्थ्यमा पहुँच नभएकोलगायत कारण जसरी पीडित भएर बस्नुभएको थियो । यी कुराहरुलाई मध्यनजर गर्दै आवाज उठाउँदै आएको हुनाले म उभिएको छु र मलाई विश्वास छ, मैले उठाएको एजेण्डालाई कार्यान्वयन गर्ने पक्षमा पनि मैले काम गर्न सक्छु । त्यसैले मलाई मत दिनु भनेको संविधानले, नीतिले, नियमले दिएको उपलब्धिलाई कार्यान्वयन गर्नु हो ।

६. तपाईं मकवानपुरको दुवै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । उम्मेदवारी चाँही कुन क्षेत्रबाट दिने सोचमा हुनुहुन्छ ?
२०७४ सालको चुनावमा म २ नम्बर क्षेत्रबाट उठेको हुँ । त्योभन्दा अगाडि चुनाव उठ्दा चाँहि यो क्षेत्र ३ वटा क्षेत्रमा थियो । त्यतिबेला हेटौंडा बजार नै मेरो मूल ठाउँ हो । त्यसकारणले हिजोको दिनमा राप्रपा र नेपाली कांग्रेसको गठबन्धन हुँदा १ नम्बरबाट कमल थापा उठ्दै गर्दा म अर्को क्षेत्रबाट उठेको हुँ । त्यो बेला पनि केहि गाउँपालिकाहरु मेरो लागि नयाँ नै थियो । तर, मैले चुनाव हार्छु भन्ने थाहा हुँदा हुँदै पनि जनताको माझ मेरो आफ्नो बिचार लिएर गएँ । अहिले अब फेरि गठबन्धन रहेको छ । गठबन्धनको कुरा भइरहँदा हामीलाई भागवण्डामा जुन क्षेत्र पर्र्छ, म त्यहि क्षेत्रबाट उठ्न तयार छु । विशेषगरी बजारका साथीहरुले मलाई यहि क्षेत्रमा उठ्न पनि आह्वान गर्नुभएको छ । त्यसकारण प्रवल सम्भावना १ नम्बर क्षेत्र नै हुने मैले सोचेको छु । दुवैतिरबाट साथीहरुले माया गरेर दुबैतिर यता आउनूस् भनेर बोलाइरहनुभएको छ । पार्टीसँग सल्लाह गरेर पार्टीको निर्णयबमोजिम म उम्मेदवारी दिन्छु ।

७. नेपालको राजनीतिलाई हेर्दा एकपटक चुनाव हारेपछि फेरि निरन्तर मैदानमा होमिने कम देखिन्छन् । तर, तपाई बारम्बार निर्वाचन हारेर पनि मैदान छोडेर जानुभएन, निरन्तर लागिरहनु भयो । यो कसरी सम्भव भयो ?
मेरो कर्म क्षेत्र नै यहि भएको हुनाले मैले निरन्तरता दिइरहें । हिजोको दिनमा संविधानसभामा हुँदा त्यता काम हुन्थ्यो र म त्यता जान्थें । विगत पाँच वर्षदेखि मेरो काम पनि भएन । म विभिन्न सामाजिक संघसस्ंथा र सहकारीहरुमार्फत् जनतासँग प्रत्यक्षरुपमा जोडिरहेको छु । चुनाव हारेपछि पनि निरन्तर पाँच वर्ष मैले आफ्नै जिल्लामा रहेर जनतासँगै बसेर काम गरिरहेको छु ।

८. आगामी निर्वाचनमा कतिको चुनौती देख्नुहुन्छ ?
राजनीतिमा चुनौती सधैं हुन्छ । चुनौतीलाई नै सामना गर्दै अगाडि बढ्ने हो । अघिल्लो निर्वाचनमा एमाले माओवादीसँगै थिएँ । अहिले हामी गठबन्धनमा छौं । त्यसैले चुनौतीसँगै अवसर पनि छन् । फरक विचारधारा भएपनि हामी लोकतन्त्रलाई बलियो बनाउन एकै ठाउँमा उभिएका छौं । जनताको चाहना पनि लोकतन्त्रलाई स्थापित गर्ने नै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*