विश्वविद्यालयको पहलमा प्रदेश सरकार

साझाकुरा
२०८० आश्विन १०, बुधबार १०:०४

उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको खडेरी पर्दै गएको भएपनि बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बागमती प्रदेशमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना प्रक्रिया अगाडि बढाएको हो । केही समयदेखि मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने बिषयमा बहस चलिरहेको समयमा प्रदेश सरकारले सूचना प्रकाशन गरेको हो । प्रदेश उच्चशिक्षा ऐन २०७८ बनेको डेढ वर्षपछि प्रदेश सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउने आशयको सूचना प्रकाशन गरेको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्चशिक्षा परिषद्को सचिवालय, हेटौंडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि सार्वजनिक सूचना माग गरेको हो । प्रदेश उच्चशिक्षा परिषद्को सचिवालयले आइतबार ३० दिने सार्वजनिक सूचना जारी गर्दै प्रदेश उच्चशिक्षा ऐनको अनुसूचीमा व्यवस्था भएअनुसारको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई रीतपूर्वक आवेदन दिन सूचित गरेको छ ।

ऐनमा प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापना गर्न सक्ने, मुनाफा नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना तथा सञ्चालन हुनसक्ने शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान स्थापना गर्न सकिने र यसका लागि परिषद्को सिफारिसमा प्रदेश सरकारको स्वीकृतिले स्थापना हुने व्यवस्था गरिएको छ । यो सूचनासँगै मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादिेशिक विश्वविद्यालय निर्माण गर्ने बाटो खुलेको छ । मुलुकमा भबिश्य नभएको भन्दै माध्यमिक तहको अध्ययन पूरा गरेपछि विदेशिने क्रम बढेपछि नेपालका करिब ढेड दर्जन विश्वविद्यालयले उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी पाउन छाडेको अवस्था छ । मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने बिषयमा केही दिनअघि सर्वदलीय सहमति भएको थियो ।

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको मकवानपुर बहुमुखी क्याम्पसले जनाएको छ । प्रादेशिक विश्वविद्यालय रोजगारमूलक तथा प्राबिधिक शिक्षालाई प्राथमिकता दिनेगरी स्थापना गर्ने तयारी गरिएको छ । प्रदेश उच्चशिक्षा परिषदले पनि कृषि, प्राबिधिक, रोजगारमूलक बिषय अध्यापन गराउने विश्वविद्यालय, प्रतिष्ठानलाई प्राथमिकता दिन चाहेको जनाएको छ । क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाको बैठकले हेटौंडामा विश्वविद्यालयको आवश्यक्ता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई नै विश्वविद्यालयको रुपमा अघि बढाउने गरी काम गरहेको बताइएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार सबै पुगेपनि विश्वविद्यालयका लागि आवश्यक जग्गा नपुग्ने बताइएको छ । विश्वविद्यालयका लागि तुरुन्तै जग्गा व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताइएको छ । विश्वविद्यालयमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने र त्यसका लागि विज्ञहरुको प्रतिवेदन आइसकेको बताइएको छ । सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रुपमा पहिचान बनाएको मकवानपुर बहुमुखी क्याम्पसमा दशजोड दुईदेखि स्नाकोत्तरसम्म ६ हजार भन्दा धेरै विद्यार्र्थी अध्यनरत छन् ।

दुई दसक अघिसम्म हेटौंडामा स्नात्तक तहसम्म मात्र पढाइ हुने गरेको थियो । २०३७ सालमा स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर र आसपासका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको थियो । २०५० को दसकतिर स्थापना भएको हेटौंडा क्याम्पस र हेटौंडा स्कूल अफ म्यानेजमेन्ट क्याम्पसले अहिले स्नात्तकोत्तर तहमा शिक्षा, मानबिकी, ब्यवस्थापन संकायमा विद्यार्थीलाई पढ्ने सुबिधा उपलब्ध गराएको छ । पछिल्लो एक दसकमा पालुङ, मनहरी, हटिया, चौघडा, बस्तीपुरलगायतका स्थानमा पनि स्नात्तक तहको अध्यापन हुन थालेपछि विद्यार्थीले अध्ययनमा सुबिधा पाएका छन् । चितलाङमा स्थापना भएको मदन भण्डारी प्राबिधिक विश्वविद्यालयले पनि यो वर्षदेखि कक्षा संचालन गर्ने तयारी गरेको छ । हेटौंडामा वनविज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालयले पनि स्नात्तक कक्षा संचालन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*