राक्सिराङको सकारात्मक अभ्यास

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:३९

मकवानपुरको विकट मानिने राक्सिराराङ गाउँपालिकाले कपडाको रेडिमेट खादा प्रयोगमा रोक्ने निर्णय गरेपछि त्यसलाई कार्यान्वयनमा ल्याएको छ । खादा र ब्याच सभाका अनिवार्य शर्त हुँदै होइनन् । नेपालमा उत्पादन नहुने र विदेशबाट डलर खर्चेर ल्याउने अनावश्यक बस्तुको प्रयोगले हामी कोही पनि ठुला मान्छे बनेका छैनौं । अग्रासनमा बस्नेले खादा र ब्याच लगाउनै पर्ने अनिवार्य शर्त पनि होइन । यो त केवल अलिक फरकपन देखाउन खोजेको र अतिथिलाई मान गरिएको मात्र हो । खादा पुनप्रयोगमा आउँदैन । अर्कोतर्फ त्यसले हाम्रो वातावरणमा पनि नकारात्मक असर गरिरहेको छ । सरकारले नै यस्तो बस्तुको आयातमा प्रतिबन्ध लगाउनु पर्ने थियो । तर, सरकार मौन छ । भलै राक्सिराङ गाउँपालिकाले यो सकारात्मक पहल सुरु गरेको छ ।

हाम्रो आफ्नै उत्पादनको प्रयोग गर्ने हो भने यसले थारै भएपनि आयात प्रतिस्थापन गर्ने छ । राक्सिराङको यो निर्णय कार्यान्वयनमा आएसँगै स्थानीयस्तरमै उत्पादित फूलमालाको प्रयोग सुरु भएको छ । स्थानीयस्तरमा उत्पादिक फूलमालाको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकाले आयातित खादाको प्रयोगमा रोक लगाउने निर्णय यसअघि गरेको थियो । गत साउन ३१ गते गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार आयातित कपडाको खादा प्रयोगमा बन्द गरी गाउँमा फूलेका फूलहरु प्रयोग गर्न थालिएको छ । राक्सिराङ (आईटिएफ) तेक्वान्दो दोजाङको पहिलो बार्षिक साधारणसभा तथा पदक वितरण कार्यक्रममा उपस्थित अतिथिहरुको गलामा गाउँमै फूलेका मखमली, लाउरे फूल र बाह्रमासे फूलका रंगीचंगी मालाहरुले सजिएका थिए ।

ब्याचमा हरियो पिपलको पातमा सेता टिपेक्सले लेखिएका अक्षरहरु र अतिथि सत्कार गर्दै लगाइएको रंगीन फूलका मालाले अझ शोभा थपिएको थियो । राक्सिराङ (आईटिएफ) तेक्वान्दो दोजाङले यसरी अतिथि सत्कार गरेसँगै गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा आएको हो । सोमबार गाउँपालिकामा ४ जना नयाँ कर्मचारीलाई फूलमालाले स्वागत गरिएको थियो । पैसाको बचत, प्रकृति, सम्पत्तिको पनि उपयोग गर्ने उदेश्यले गाउँपालिकाअन्तर्गतको कुनैपनि कार्यक्रममा गाउँमा फूलेका फूलहरु प्रयोग गर्ने र स्थानीयलाई फूल रोप्नको लागि अभिप्रेरित गर्ने उद्धेश्य राखेको छ ।
यो भन्दा अलिक फरक अभ्यास नारायणी यातायात ब्यवसायी संघले बिगत केही वर्षदेखि गरिरहेको छ ।

संघले खादा प्रयोग गरेको तर, पुनः प्रयोगमा आउने गलबन्दीलाई नै खादाको रुपमा प्रयो गरिरहेको छ । संघले आफ्ना अतिथिलाई स्वागत गर्ने खादा सामान्यतया जाडो महिनामा गलबन्दीको काम गर्ने खालको भएकै कारण पुनः प्रयोगमा आएको छ । धेरै संघसंस्थाले अनावश्यक खर्चमात्र हुने खालको खादा प्रयोग गर्ने यो अभ्यासलाई निरुत्साहित गर्नै पर्छ । मुलुकको ब्यापारघाटा चुलिएको अवस्थामा अति आवश्यकीय बस्तु बाहेक अनावश्यक बस्तु आयात रोक्नै पर्छ । यदि हामी साच्चै राष्ट्रवादी हो भने सबैले अनावश्यक खादाको बहिस्कार गर्न सक्नुपर्छ । गलामा एकैछिन कार्यक्रम अवधिभर मात्र खादा भिरेर ठूलो मान्छे बनिन्छ भन्ने मानशिकता परिबर्तन गर्नै पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*