घुमुवा प्रहरीको गलत शैली

साझाकुरा
२०८० आश्विन १८, बिहीबार ०९:३३

बिरामी महिला बोकेर घरतर्फ गइरहेको एम्बुलेन्स रोकेका कारण प्रहरी परिसरमै महिलाको मृत्यु भएको घटनाले हेटौंडा बजार तात्तिएकोछ । घुमुवा प्रहरीले गरेको ब्यवहार गलत भएको अनुमान लगाइरहेको
नागरिक समाजले घुमुवाको शैली परिवर्तन हुन नसकेको बताउका छन् । सामान्यतया बिरामी बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिनुपर्ने कारण कमै हुन्छ । अक्सिजन लगाएर ल्याइएको बिरामी बोकेको एम्बुलेन्समा भएको दुब्र्यवहारको कुरालाई मानवअधिकारबादीले पनि अध्ययन गरी बोल्नु पर्ने थियो ।

तर, अधिकारबादी निदाएको अवस्था छ । प्रहरीले भने अनुसन्धान गर्न समिति गठन गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायबउपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरेको प्रहरीले बताएको छ । मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले छानबीन समिति बनाएर घटनाको अनुसन्धान सुरुगरिएको जानकारी दिएका छन् । डिएसपी भण्डारीले घटनाको सत्यतथ्य छानबीनका लागि छानबीन समिति गठन गरिएको र अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको रअनुसन्धानबाट जो दोषि देखिए पनि कानुनी कारबाही हुने उनले बताएका छन् । हेटौंडामा आइतबार मध्यरात सडकमा एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार डिल्लीराम शिवाकोटीले बितण्डा मच्चाएको मृतक परिवारकोआरोप छ । शिवाकोटीसँग सडकमा विवाद हुँदा प्रहरीले मृतक परिवारलाई हिरासतमा थुनेको र एम्बुलेन्स भित्र अक्सिजन लगाइएको बिरामी महिलाको प्रहरी कार्यालय परिसर लगिएको घटनाको चर्चाले बजार तात्तिएको हो । प्रहरी कार्यालयभित्रै बिरामीको मृत्यु भएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सहायक हवल्दार शिवाकोटीलाई निलम्बन गरेको बताइएको छ ।

मृतक परिवारसँग आइतबार राति करिब १२ बजे हेटौंडा उपमहानगरपालिका–४, स्थित रानीदरबार अगाडि भएको विवादको क्रममा शिबाकोटी पनि घाइते भएको घटना सार्वजनिक भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरीउपरीक्षक दीपक रेग्मीले एम्बुलेन्स रोक्ने प्रहरी शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिएका छन् । उनले निलम्बन गरेर घटनाको अनुसन्धन भइरहेको बताए । एसएसपी रेग्मीले बिरामी बोकेको एम्बुलेन्स लामो समयसम्म रोक्नु राम्रो नभएको बताएका छन् । प्रहरी कार्यालयभित्र एम्बुलेन्स रहँदा महिलाको मृत्यु भएको विषयमा पनि प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएको र अनुसन्धान भइरहेको रेग्मीले बताएका छन् ।

एम्बुलेन्ससँगै काठमाडौंबाटै आएको सुमोमा रहेका परिवारलाई लिन बकैयाबाट अर्को सुमो आएको र रानी दरबारअगाडि मेनरोडमै काठमाडौंबाट आएको सुमोबाट बिरामीका आफन्त अर्को सुमोमा चढ्नै लाग्दा सहायक प्रहरी हबल्दार शिवाकोटी मदिराले मातिएको अवस्थामा आइपुगेको मृतक परिवारको आरोप छ । बिरामी परिवारका अनुसार मादकपदार्थ सेवन गरेका शिवाकोटीले सुरुमै एम्बुलेन्सको चाबी थुतेर गाडीमा लात्ती बर्साउनुका साथै चालकमाथि हातपात गरेको जनाइएको छ ।

एम्बुलेन्सको चाबी लिनु पर्ने मनासिब कारण के थियो भन्ने बिषयमा प्रहरीले जवाफ पनि दिनुपर्ने हुन्छ । शिवाकोटीले प्रहरी भएको कुनै जानकारी नदिएको र विवाद हुँदा मात्रै उनको साथबाट पेस्तोल र हत्कडी सडकमा झरेको पीडित पक्षको भनाइ छ । प्रहरीले एम्बुलेन्स नै प्रहरी कार्यालयमा ल्याएर राख्दा बिरामी महिलाको मृत्यु भएको हो । अक्सिजनको सहारामा घर लैजाँदै गरेको अवस्थामा उनको छोरा, ज्वाइँहरु प्रहरी हिरासतमै रहँदा महिलाको मृत्यु भएको हो । एम्बुलेन्समा अक्सिजनको मात्रा ४० प्रतिशतमात्रै रहेको र अर्को अक्सिजन परिवर्तन गर्न नपाइएको पीडितले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*