हेटौंडा अस्पतालको अस्तित्व समाप्त नपारौं

साझाकुरा
२०८० आश्विन २२, सोमबार ११:०१

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउने संकेत गरेका छन् । शनिवार हेटौंडामा नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले प्रतिष्ठान बनाएर मदन भण्डारीको नाम राखेकोप्रति आपत्ति जनाएका छन् । उनले जिल्ला अस्पताललाई कसैको नाम जोडेर अस्तित्व समाप्न पार्न नपाइने बताएका हुन् । अस्पताललाई प्रतिष्ठानबाट अलग्याउनुपर्छ भन्ने आवाज प्रदेशसभासम्मै पुगेकोमा संघीय सकारको धारणा संचारकर्मीले माग गरेका थिए । जवाफमा मन्त्री बस्नेतले कसैको नाम जोडेर संघीय सरकार मातहत अस्पतालको अस्थित्व समाप्त पार्न नहुने घुमाउरोसँग कसैको नाम जोडेर हुँदैन । प्रतिष्ठान बनाएर नाम राख्न हामीलाई पनि मन थियो भनेका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर प्रदेश मातहत ल्याइएको थियो । बागमती प्रदेश सरकार मातहतको प्रतिष्ठानले हेटौंडा अस्पताल सञ्चालन भइरहेको छ । यसअघिका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पनि अस्पताललाई प्रतिष्ठानबाट अलग गराउने गरी विधेयक संशोधन प्रस्ताव प्रदेशसभामा लगेका थिए । पाण्डे सरकारले प्रतिष्ठानबाट अस्पताल अलग्याउन खोजेपछि प्रदेशसभा बैठक ४ दिनसम्म नेकपा एमालेले अवरुद्ध गरेको थियो । तत्कालीन प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याएर पुरानै अस्तव्यस्तको अवस्थामा ल्याउन खोजेको भन्दै हेटौंडामा सडक आन्दोलन नै भएको थियो । प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउने विषयमा प्रदेश सरकारसँग समन्वय गर्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाई छ ।

प्रतिष्ठान र अस्पतालको विषयमा प्रदेश सरकार मातहतमा पनि छलफल चलिरहेको बताउँदै मन्त्री बस्नेतले संघीय सरकारमा कुरा उठेको बताए । हेटौंडा अस्पताल संघीय सरकार मातहतमै चल्नुपर्ने उनको भनाई छ । प्रतिष्ठानबाट छुट्टै हुनुपर्छ भन्ने कुरा छ । यसको स्तरोन्नति हुनुपर्ने मन्त्री बस्नेतको भनाई छ । विगत केही महिनादेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताल प्रतिष्ठानबाट अलग्याएर संघीय सरकार मातहत ल्याउन अस्पतालका पूर्वअध्यक्षदेखि सत्ता गठबन्धनमा रहेका दलका जिल्ला तहका पदाधिकारीहरु प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेका छन् । एक साताअघि हेटौंडा अस्पतालाई प्रतिष्ठान मातहतबाट हटाएर संघीय सरकार मातहत नै राख्न आग्रह गर्दै नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, नेकपा एस मकवानपुरका सचिव ध्रुव भुजेल र अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेलले प्रदेशसभामा पुगेर मन्त्री तथा सांसदहरुलाई ज्ञापनपत्र बुझाएका थिए ।

नागरिकले स्वास्थ्यउपचार नपाएर मर्नुपर्ने अवस्था नआउने गरी तीनै तहका सरकारले काम गर्नु जरुरी छ । सरकारले नागरिकमा सहज स्वास्थ्यसेवाको पहुँच पु¥याउने काम गर्नेपर्छ । प्रदेश सरकार र संघीय सरकारबीच जुँगाको लडाई भएको खण्डमा हेटौंडा अस्पतालको स्तर उन्नति हुन सक्दैन । तीनै तहका सरकार एक भएर नागरिकको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता आधारभूत एजेण्डामा काम गर्न सकेको खण्डमा मात्र नागरिकले राहत पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*