हेटौंडामा खेलकुद व्यापार महोत्सव हुने राष्ट्रियदेखि जिल्लास्तरका १४ वटा प्रतियोगिता हुने

साझाकुरा
२०८० कार्तिक १७, शुक्रबार ११:४०

हेटौंडा- हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । एउटै प्राङ्गणमा खेलकुद, संगीत, नृत्यको मनोरञ्जनसँगै व्यापारिक स्टलसमेत रहने गरी महोत्सव आयोजना गर्न लागिएको छ ।हेटौंडा उपमहानगरपालिका–१०, स्थित टीसीएन चौर (आँखा अस्पतालपछाडि) मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा खेलकुद तथा व्यापार महोत्सव आयोजनाको तयारी तीव्र बनाइएको हो । महोत्सव ५ पुसदेखि १७ गतेसम्म सञ्चालन हुने खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गीले जानकारी दिए । खड्गीले टीसीएन चौरभित्रै सबै खेलकुद प्रतियोगिता, सांगीतिक कार्यक्रम र व्यापारिक स्टलहरु रहने बताए ।

टीसीएन चौरमै एक वर्षअघि मकवानपुर उद्योग वाणिज्य संघले औद्योगिक तथा व्यापारिक मेला आयोजना गरेको थियो । समिति अध्यक्ष खड्गीका अनुसार महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त भइसकेको छ । विगतमा हुँदै आएका औद्योगिक व्यापार मेला भन्दा खेलकुद तथा व्यापार मेला फरक प्रकृतिको रहेको अध्यक्ष खड्गीले बताए । ‘हामी मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुति, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगितासमेत आयोजना गर्नेछौं’, उनले भने ।

खड्गीले महोत्सव अवधिमा १४ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । महोत्सवमा राष्ट्रियस्तरको उसु (महिला÷पुरुष), राष्ट्रिय महिला भलिबल, प्रदेशस्तरीय आमन्त्रित महिला र पुरुषको कबड्डी, जिल्लास्तरीय महिला र पुरुष कराँते प्रतियोगिता हुने खड्गीले जानकारी दिए । जिल्लास्तरीय महिला र पुरुषको फुलकन्ट्याक्ट कराँते, जिल्लाको विद्यालयस्तरीय एथ्लेटिक्स, आर्चरी खेल प्रदर्शन, आमन्त्रित राष्ट्रिय रेस्लिङ, कुस्तीमा आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन र खुला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता गरिने आयोजकले जानकारी दिएको छ ।

प्रदेश र जिल्लास्तरीय आईटीएफ तेक्वान्दो, प्रदेशस्तरीय हक्की र महिला प्रदेशस्तरीय सेभेन–ए साइड फुटबल खेल हुनेछ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिने समितिले जनाएको छ । एसियाकै उत्कृष्ट बाल उद्यान जसमा पिङ, नाउ, ड्राइगन, ट्रेन, मारुति सर्कस, रेन्जर, क्रस, ब्रेक डान्स, मिकी माउस, डुंगा तथा अन्य बालबालिकाको खेलौना राखिने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यंग्य, नृत्य, गायन तथा जादुको बेजोड प्रस्तुति, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी कार्यक्रम हुनेछ ।

महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ बिक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सव कार्यक्रम संयोजकसमेत रहेका खेलकुद विकास समिति अध्यक्ष खड्गीले मेलाबाट प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने बताए । ‘महोत्सव गरिएको खेलकुद विकास र प्रवद्र्धनका लागि हो । महोत्सवबाट प्राप्त आम्दानी खेलकुद क्षेत्रको उन्नतिमै खर्च गरिनेछ’, खड्गी भन्छन् ।

जिल्ला खेलकुद विकास समिति चालू आर्थिक वर्ष २०८०÷८१ को कार्य योजना बनाएर अगाडि बढेको छ । समितिद्वारा ५–६ साउनमा थाहा नगरपालिकाको चित्लाङमा खेल संघका पदाधिकारी तथा प्रशिक्षकसँग आयोजना गरेको अन्तरसंवाद र कार्य योजना निर्माण कार्यशालाले १० वटा बुँदामा योजना बनाएको थियो । समितिअन्तर्गत् रहेका खेलकुद संघहरुको वार्षिक कार्यक्रम, प्रतियोगिताका लागि प्रोत्साहन गर्ने, राष्ट्रिपति रनिङ शिल्ड खेलकुद सञ्चालन, तेस्रो प्रदेशस्तरीय प्रतियोगिता सम्बन्धमा, खेलकुद प्रशिक्षण, अन्य प्रतियोगिता सम्बन्धमा, सम्मान तथा पुरस्कार, समन्वय, सहभागिता र आर्थिक स्रोत व्यवस्थानका बारेमा कार्य योजना बनाइएको थियो ।

कार्य योजनाअनुसार जिल्लामा रहेका प्रत्येक खेलकुद संघहरुले वर्षमा कम्तिमा एउटा जिल्ला स्तरीय प्रतियोगिता गर्ने, जिल्लास्तरीय प्रतियोगिताको मिति तय गर्ने, खेल संघहरुको सक्रियता बढाउने, रेफ्रि रिफ्रेसर कोर्ष तालिम सञ्चालन गर्ने, संघहरुले आयोजना गर्ने जिल्लास्तरको प्रतियोगितालाई समितिले १० हजारदेखि २५ हजारसम्म सहयोग गर्ने, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगिताका ५० हजारदेखि १ लाखसम्म सहयोग, राष्ट्रपति रनिङ शिल्डको जिल्ला प्रतियोगिता १५ माघभित्र गरिसक्ने, राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई क्रमशः ३०, २० र १० हजार रकम दिएर सम्मान गर्ने, स्वर्ण जित्ने खेलाडीलाई ५ वर्षसम्म १० लाख बराबरको दुर्घटना बिमा गरिदिने कार्ययोजनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*