हेटौंडामा थाहा फोटो प्रदर्शनी

साझाकुरा
२०८० पुष २१, शनिबार १३:२२

हेटौंडा- मकवानपुरको प्रमुख पर्यटकीयक्षेत्र थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडाको बुद्धचोकमा शुक्रवारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । शनिबारसम्म हुने फोटो प्रदर्शनीमा थाहानगरका विभिन्न पर्यटकीय गन्तव्यका ६० वटा फोटोहरु राखिएको छ ।फोटो प्रर्दशनीको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले थाहाको फोटो प्रदर्शनीले मकवानपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । समग्र मकवानपुरलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने बिषयमा जनप्रतिनिधि बीच छलफल भइरहेको उनले बताइन् । भारतीय पर्यटकलाई मकवानपुरमा आकर्षित गर्नसके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उनको भनाइ थियो । विभिन्न देश तथा स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउने काम पनि भइरहेको बताउँदै नगरप्रमुख लामाले मकवानपुरको पर्यटन प्रवद्र्धनमा आफूहरुको ध्यान केन्द्रित रहेको बताइन् ।

थाहानगरका फोटो पत्रकार गणेश विष्ट, रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरु प्रर्दशनीमा राखिएका छ । थाहानगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिकस्थल, सभ्यता, सँस्कृति र जीवनशैली समेटिएका फोटो प्रर्दशनीमा राखिएको छ । काठमाडौंबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर संभावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर फोटो प्रदर्शन गरिएको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए ।

थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवम् वाह्य पर्यटकको रोजाईमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाई छ । थाहा नगरपालिकाको आयोजना एवम् हेटौंडा उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फोटो पत्रकार संघ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी भइरहेको हो ।कार्यक्रममा थाहा–३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीले थाहानगरलाई पर्यटन क्षेत्रबाट विश्वसामु चिनाउनको लागि फोटो प्रर्दशनी पनि एउटा माध्यम रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, मकवानपुर शाखा अअध्यक्ष मणिराज गौतम, राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*