बागमती सरकारसँगको साझेदारीमा क्रिकेट रंगशाला बनाइने

साझाकुरा
२०८० पुष २७, शुक्रबार ११:२३

हेटौंडा- बागमती प्रदेश सरकारसँगको साझेदारीमा गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गरिने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको रंगशाला निर्माणमा बागमती सरकारसहित तीन तहका सरकारको संयुक्त लगानी हुनेछ ।संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको र लिज ऐनअन्तर्गत रंगशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् । प्रमुख दाहालका अनुसार आयोजना सम्पन्न गर्न संघीय सरकारले समेत अनुदानका रुपमा बजेट उपलब्ध गराउने छ ।

रंगशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले यो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रंगशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउन लागेको उनले बताइन् । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो ।

तर, भरतपुर महानगरपालिकाले तयार गरेको योजना अनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिट लगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ । प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले आयोजनालाई महानगरको महत्वपूर्ण आयोजनाको रुपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले संघीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*