हेटौंडाले जित्यो अन्तरपालिका फुटसल उपाधि
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले सहिद रुद्र पाख्रिन–बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु मिनिपिच (फुटसल)मा सोमबार भएको फाइनल खेलमा मकवानपुरगढी खेलकुद विकास समितिलाई ७–४ को गोलअन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको हो । हेटौंडाले १ लाख २५ हजार पुरस्कारसहित शिल्ड र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको मकवानपुरगढी खेविसले ७५ हजारमा चित्त बुझाएको छ ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक हेटौंडाका सुजन लामा भए । मकवानपुरगढीका सुजन बोम्जन १५ गोलसहित सर्वाधिक गोलकर्ता बने । हेटौंडाका समिरराज थोकर बेस्ट प्लेयर र मकवानपुरगढीका दुर्लभ दुलाल उदयमान खेलाडीको रुपमा पुरस्कृत भएका छन् । थोकर ‘ए’ डिभिडज खेलेका खेलाडी हुन् । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकासहित हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिका गरी ४ वटा पालिकाको ७ वटा टिमले सहभागिता जनाएको थियो ।
शनिवारदेखि ३ दिनसम्म सञ्चालन भएको खेलको समापन कार्यक्रममा प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले विजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, वडा नम्बर–२ का वडाअध्यक्ष बखानसिं पाख्रिन, वडा नम्बर–३ का वडाअध्यक्ष भागवत घिमिरेलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको आतिथ्यता थियो ।
मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हीराबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको समापन कार्यक्रमको अवसरमा सहिद रुद्र पाख्रिन र बासुदेव घिमिरेको परिवारलाई सम्मान गरिएको थियो । मकवानपुरगढी–४ निवासी स्वर्गीय पाख्रिन १० वर्षे सशस्त्र जनयुद्धमा नेपाली सेनाबाट मारिएका सहिद हुन् । मकवानपुरगढी–५ कञ्चनथलीका बासुदेव घिमिरे जनआन्दोलन २०६२–६३ मा काठमाडौंमा ज्यान गुमाएका सहिद हुन् ।