आइडलको हेटौंडा अडिसनमा उत्साहजनक सहभागिता

साझाकुरा
२०८० माघ ३, बुधबार ११:५६

हेटौंडा- हेटौंडामा नेपाल आइडलको पाँचौ सिजनको अडिसन सुरु भएको छ । मंगलबार हेटौंडा उपमहानगरपलिका–९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा प्रि–अडिसन भएको हो । प्रि–अडिसन मकवानपुरसहित छिमेकी जिल्लाबाट गायनमा रुचि भएकाहरुको उत्साहजनक सहभागिता देखिएको थियो । नेपाल आइडलको प्रि–अडिसन चितवनबाट बिहानै हेटौंडा आएकी श्रृजना थापाले आफूले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै आएको बताइन् ।

नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा भविष्य बन्ने विश्वास भएकाले सहभागी हुन आएको थापाले बताइन् ।हेटौंडा–९ कर्राबाट अडिसनका लागि आएका सुमन परियारले यसअघि अन्य यस्ता कार्यक्रममा सहभागी जनाएको बताए । उनले भने, ‘अन्य कार्यक्रममा सहभागिता जनाउँदा सबैबाट राम्रो फिडब्याक आएको थियो । गीत संगीतमा सानैदेखि रुचि भएकाले नेपाल आइडलमा आएको हुँ ।’, यस्तै अर्का सहभागी रविन सुवेदीले गीतसंगीतमा रुची भएका र गीतसंगीतमा वर्षौदेखि साधना गर्दै आएकाहरुका लागि उत्कृप्ट प्लेटफर्म भएकाले आफू पनि सहभागी हुन आएको बताए । हेटौंडा–८ का सक्षम लामा पहिले घरमा गाउँदै आइरहेको भएपनि अडिसनमा सहभागी हुन आएका थिए ।

‘नेपाल आइडल हेटौंडामा भएको थाहा पाएँ । यो राम्रो अवसर हुनसक्छ भन्ने सोचेर सहभागी हुन आएको हुँ ।’, लामाले भने । गत पुस २१ गतेदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसनको भोलि दोस्रो चरणको अडिसन हुने सिजन ५ का निर्देशक सुरेश पौडेलले बताए । हेटौंडापछि आइडलको अडिसन माघ ८ मा कैलालीको अत्तरिया, माघ १३ मा सुर्खेतको वीरेन्द्रनगर, माघ १८ मा दाङको घोराही, माघ २३ मा कास्कीको पोखरा र अन्त्यमा काठमाडौंमा हुने उनले बताए । नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बास्कोटा निर्णायकको भूमिकामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*