हेटौंडास्थित स्वास्थ्य मन्त्रालयमा बीमआई मेसिन सञ्चालन

साझाकुरा
२०८० माघ ३, बुधबार १२:००

हेटौंडा- हेटौंडास्थित बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्चरक्तचापमापन मेसिन सञ्चालनमा ल्याएको छ । मंगलबारबाट उच्चरक्तचापमापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन) सञ्चालनमा ल्याइएको हो ।आमनागरिकमा सचेतना जगाउने उद्देश्यअनुरुप विश्व स्वास्थ्य संगठनको सहयोगमा अटोमेटिक डिजिटल ब्लडप्रेसर मापन मेसिन सञ्चालन गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा करिब ४७ लाख मानिसमा उच्चरक्तचापको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये १० लाख मानिसले मात्र नियमितरुपमा उच्चरक्तचाप चेकजाँच गर्ने र अवस्थाको बारेमा जानकारी लिने गरेको मन्त्रालयले जनाएको छ ।

चेकजाँच गर्ने १० लाख मानिसमध्ये ४ लाख मानिसले उच्चरक्तचापको औषधि सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ । तथ्यांकका आधारमा उच्चरक्तचाप सम्बन्धी समस्या निकै जटिल चुनौतीको रुपमा देखापरेको स्वास्थ्य मन्त्री उत्तम जोशीले बताए । उच्च रक्तचापसम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले स्वास्थ्य शिक्षा तथा परामर्शबाट अस्वस्थ्यकर बानी व्यवहार जस्तैःसुर्तीजन्यपदार्थको प्रयोग, मद्यपान, निष्क्रिय जीवनशैली, अस्वस्थ्यकर खानपान आदि परिवर्तन गरी स्वस्थ्यकर जीवनशैली अपनाउन जनचेतना जगाउने सर्वसुलभ र सफल योजना रहेको उनको भनाई छ ।

मध्यम आय तथा विकशित राष्ट्रहरुमा उच्चरक्तचापका कारण हुने जटिलताहरु मानवीय क्षतिको मुख्य कारण बनिरहेको उनले बताए । उच्चरक्तचापका कारण मस्तिस्कघात, हृदयघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौला रोगका कारण मानिसको मृत्यु भइरहेको भन्दै उनले यो रोगको व्यवस्थापनमा राज्यले ठुलो धनराशि खर्च गर्नुपरेको बताए । मन्त्रालयका सूचना अधिकारी डा.रविन भुषालका अनुसार सरकारले नसर्ने रोगबाट हुने मृत्युदर सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्यअनुसार काम गरिरहेको र यो लक्ष्य प्राप्तिका लागि विभिन्न कार्ययोजना, रणनीति तथा कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*