खानीको ओभरवटन खोलामा

साझाकुरा
२०८० माघ १०, बुधबार ११:२०

माइनिङसँग जोडिएका औद्योगिक प्रतिष्ठानले उत्खनन् पछि उद्योगले प्रयोग नगर्ने डिस्पोजेवल मटेरियल अलपत्र छोड्ने समस्या हेटौंडामा मात्र होइन । यो देशब्यापी समस्या हो । शिवम् सिमेन्ट उद्योगले खानी क्षेत्रको ओभरवटन (चुनढुंगा उत्खनन् गर्दा निस्किएको काम नलाग्ने बस्तु) सीधै खोलामा फालेपछि आधा दर्जन गाउँ जोखिममा परेको छ । हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित उद्योगको मकवानपुरगढी गाउँपालिका–७ र ८ नम्बर वडामा चुनढुंगा खानी छ । शिवम्ले ७ नम्बर वडाको खोटार खानीको ओभरवटन सीधै बुढीचौर खोलामा खसालेको स्थानीयले बताएका छन् । शिवम्ले चुनढुंगा उत्खनन् गर्दा निस्किएका ओभरवटन आफैंले व्यवस्थापन गर्नुपर्नेमा सीधै खोलामा खसालेपछि वर्षातको समयमा बाढी आउँदा सबै सामरी र राप्ती खोलामा नदीको सतह बढ्ने छ ।

मकवानपुरगढी गाउँपालिकाले शिवम्लाई खोलामा खसालिएको ओभरवटन व्यवस्थापन गर्न निर्देशन दिएपनि उद्योगले पालिकाको आदेश अटेर गरेको पाइएको छ । ठाडो बुढीचौर खोलामा खसेको ओभरवटन बगेर आउँदा मकवानपुरगढी गाउँपालिकाको ७, २, ३, ५ र ६ नम्बर वडाको ३०० बढी घरधुरी र सयौं हेक्टर सिचाईंक्षेत्र जोखिममा पर्नेछ । मकवानपुरगढी ७ नम्बर वडाको पाङटोल, गीताधर्म, आम्बोटे, भण्डारे, किटिनी, न्यौपानेटार, भुँडेदमार, सातकन्या, कोलदमार, मच्छेडाँडा, वतासेडाँडा, हुलाकदमार, नरसिंडाँडा, जिमरगेबडाडा, थासाटोललगायत गाउँ खानी प्रभावित क्षेत्र हुन् । खानीको कारण मकवानपुरगढीको वडा नम्बर २, ३, ४, ५, ६ को सामरी तटका स्थानीय प्रभावित छन् भने वडा नम्बर ८ र ७ का पनि प्रभावित छन् ।

वडा नम्बर ७ र ८ का स्थानीयहरु बाह्रै महिना धुलोमैलो, ध्वनीप्रदुषण पनि झेल्दै आएका छन् । खोलामा सीधै ओभरवटन खसालेर सिंगो गाउँ नै खोजिममा पार्ने शिवम्लाई गाउँपालिकालगायत सम्बन्धित निकायले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग स्थानीयको छ । नेपाल सरकारको बिधि र प्रक्रिया पूरा गरी उद्योग संचालन गर्न पाउने अधिकार सबै लगानीकर्ताको छ तर, उद्योग संचालन गर्दा अपनाउनु पर्ने न्यूनतम मापदण्ड पनि पूरा नभएको अवस्थामा स्थानीयले बिरोध गर्नु स्वाभाबिक हो । वर्षायासमा अव्यवस्थित ओभरवटन बगेर आउँदा खोलाको सतह बढेर खेतियोग्य जग्गा र बस्ती कटानसँगै सिचाईंमा समस्या भएको र शुद्ध खानेपानी समेत पाइन छाडेको स्थानीय बताउँछन् । खानेपानी विस्तारको पाइप लाइन क्षति हुनुका साथै तटीय क्षेत्रका गाउँबस्तीका घर, विद्यालय, पाटीपौवा, मठमन्दिर, स्वास्थ्यचौकी, पानीघट्टहरु बाढी र पहिरोको जोखिममा रहेको छ । बुढीचौरखोला ७ नम्बर वडाको सुकौरा खोलामा आएर मिसिन्छ ।

बुढीचौर र सुकौरा खोलाको दोभानमा करिब ५० घरधुरीको सुकौरा बस्ती र खोला नजिकैको जनता मावि नै पहिलो खोजिममा परेको स्थानीय बताउँछन् । बुढीचौर र सुकौला खोला मिसिएर बन्ने सामरी खोलाको नजिकै ३०० घरधुरी रहेका छन् । शिवम्को खानी क्षेत्रको ओभरवटनले ७ नम्बर वडाको सुकौरासहित २ नम्बर वडाको कुर्ले बासपानी, ३ नम्बर वडाको सिचाईं क्षेत्र धमिले फाँट, ६ नम्बर वडाको १०० घरधुरी रहेको ठूलो बस्ती डुम्रेकुना, २०० बढी घरधुरी रहेको ५ नम्बर वडाको भालुखोला, धादिङ र सिमलटार बस्ती जोखिममा परेको स्थानीयले जानकारी दिए । धादिङ, भालुखोलाको सयौं हेक्टर सिचाईं क्षेत्र पनि जोखिममा परेको छ । सामरी खोलामा बाढी आउँदा त्यसको प्रभाव राप्ती खोलामा पनि पर्ने गरेको छ । हेटौंडा–१, ३, ११, १२, १९ का तल्लो तटीय क्षेत्रमा पनि धेरथोर असर पुग्ने स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*