हेटौंडा औद्योगिक क्षेत्रः चार उद्योगको सम्झौता खारेज, ११ को प्रक्रिया सुरु

साझाकुरा
२०८० माघ २४, बुधबार ०८:१०

हेटौंडा–उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने हेटौंडा औद्योगिक क्षेत्रका चार उद्योगको सम्झौता खारेज गरिएको छ । २०७९ असोज २ गते उद्योगको सम्झौता खारेज प्रक्रिया सूचना निकालेर सुरु गरेको हेटौंडा औद्योगिक क्षेत्रमा हालसम्म चार उद्योगको मात्रै सम्झौता खारेज गरिएको हो ।

क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो मानिएको हेटौंडा औद्योगिक क्षेत्रमा ३२ सय २८ रोपनीमा फैलिएको छ । तर, पहिला संचालित उद्योगले जग्गा कब्जा गरिराख्नु, वर्षौंदेखि उद्योग बन्द भए पनि शक्तिको आडमा जग्गा कब्जा गरेर राखिरहँदा नयाँ उद्योग खोल्न चाहनेहरु समस्यामा परेका छन् । हेटौंडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो ।

औद्योगिक क्षेत्रले सञ्चालनमा नरहेका १५ वटा उद्योगलाई २ असोज २०७९ मै अल्टिमेटम दिईसकेको थियो । तर, हालसम्म दुई उद्योग मात्रै सञ्चालनमा ल्याइएको हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापक भोजराज विनाडीले जानकारी दिए । उनका अनुसार सञ्चालनमा नरहेको तर, जग्गा ओगटेरको बसेका उद्योगमध्ये बीवाईएस हेटौंडा प्रालि, नाथफुड्स ईन्डस्ट्रिज प्रालि, सनराईज कन्टेनर, लक्ष्मी पेन्टस उद्योगको सम्झौता खारेज गरिएको हो । सूचना निकालिएका १५ उद्योगमध्ये दामुचन्द्र प्रालि र अभिनास प्रालि उद्योगले भने नाम परिवर्तन गरी बाँकी रहेका सबै बक्यौता भुक्तानी गरेर सञ्चालनमा ल्याइएको क्षेत्र ब्यवस्थापक बिनाडीले बताए ।

बिनाडीका अनुसार ९ उद्योगको सम्झौता खारेज प्रक्रियामा रहेको छ । जसमध्ये उद्योगको भौतिक निर्माण कार्य सरेर उद्योग सञ्चालनमा नल्याएका बानियाँ मल्टि प्रोडक्ट ईण्डष्ट्रिज, ग्रिनगोल्ड ईन्टरनेशनल प्रालि, थ्रीस्टार ग्रुप ईन्टरनेशनल प्रालि र सी एभरेष्ट बाईफुड नेपाल प्रालि उद्योगको सम्झौता खारेजको प्रक्रियामा रहेको छ । यसैगरी वर्षौदेखि बन्द भई सञ्चालनमा नआएका उद्योगमध्ये शान्ति वनस्पति घ्यु उद्योग लिमिटेड, हिमालयन पोलिमर्श, नेवीको बिष्कुट, चुरियामाई काष्ट उद्योग र ईन्टरनेशनल उड सिजनीङ् सेन्टर प्रालिको पनि मापदण्ड हेरेर प्रक्रियामा जाने प्रमुख बिनाडीको भनाई छ ।

‘सम्झौता गरेर जमिन ओगेट्ने काममात्र भयो, उद्योग सञ्चालन भएन । फलस्परुप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ’, विनाडीले भने । उनका अनुसार केही उद्योगका सम्झौता खारेज गर्दा जिल्ला अदालत मकवानपुरमा मुद्दासमेत दायर गरिएका छन् । हेटौंडा–८ मा रहेको औद्योगिक क्षेत्रमा एक सय ४७ मध्ये एक सय १५ वटा उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । बन्द भइसकेकामा नौ, निर्माणाधीन २३ उद्योग रहेका कार्यालयबाट प्राप्त तथ्यांकमा जनाइएको छ । ती उद्योगमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।

यद्यपि गत आर्थिक वर्ष २०७९/८० मा हेटौंडा औद्योगिक क्षेत्रमा संचालित ५ वटा उद्योगले क्षेत्र नै छाडेर गएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा हेटौंडा औधोगिक क्षेत्रमा संचालित दामुचन्द्रमाला काष्ठ उद्योगले ३.०० रोपनी क्षेत्रफल छाडेर गएको छ । चुरियामाई काष्ठकला उद्योगले ४.०४ रोपनी, भविष्य मैदा मिल एण्ड हाईजिन प्रालिले १२.८८ रोपनी, रिजोइन क्वालिटी फुडस ई. प्रालिले ५४.२८ रोपनी, एप्पल पोलिमर्स प्रालिले ४०० रोपनी क्षेत्रफल छाडेर गएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

औद्यौगिक क्षेत्र व्यवस्थापनका अनुसार क्षेत्रमा यसअघि तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन हुने गरेका छन् । कतिपय उद्योग कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थामा रहेका ब्यवस्थापक विनाडीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ सञ्चालित अधिकांश उद्योगको उत्पादन र बिक्री घट्दै गएको छ । उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको विनाडीको भनाइ छ । कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दिले उद्योग र व्यवसायको अवस्था माथि उठ्न नसकेको उनले बताए ।

यसैबीच, उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएकाले भाडा दिनमासमेत समस्या भइरहेको उद्योगीको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, बिक्री नहुनु, बजार व्यवस्थापनमा समस्या, आर्थिक मन्दिलगायत कारणले कमजोर बन्दै गएका उद्योग संघ हेटौंडाका पूर्वअध्यक्ष लेखराज पोखेलले बताए । यस क्षेत्रमा निर्माणसम्बन्धी सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्रीसम्बन्धी २८, विद्युतीय सामग्रीसम्बन्धी तीन, खाद्यान्न तथा पेय पदार्थका ११, फर्निचरका छ, इञ्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकलतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योतर्फ एक, खानीजन्यतर्फ तीन र अन्यमा १० वटा उद्योग सञ्चालित छन् ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा विभिन्न संघसंस्थातर्फ ११ कार्यालय रहेका छन् । यस औद्योगिक क्षेत्रको विसं २०२० मङ्सिर २० गते अमेरिकी सरकारको सहयोगमा स्थापना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*