भ्रष्टाचार प्रवद्र्धनको कारक

साझाकुरा
२०८० फाल्गुन १, मंगलवार १०:२१

निर्वाचनको समयमा मतदातासामु पुगेका कुनैपनि नेताले म भ्रष्टाचार गर्न नेतृत्वमा जान लागेको भनेर मत माग्ने गरेका छैनन् । म राम्रोसँग काम गर्छु र मतदातको पीरमर्का र सुखदुःखमा साथ दिन्छु भनने गरेका छन् । तर, पदमा पुगेपछि ९९ प्रतिशत जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त हुने गरेका छन् । निर्वाचनको समयमा लाखौं रकम खर्च गरेर पदमा पुगेको नेताले त्यो चुनावमा खर्च गरेको रकमको सयौं गुना उठाउने बाटो खोजी गरिरहेका हुन्छन् । गाउँपालिकाको वडाअध्यक्ष निर्वाचित हुनका लागि १०/२० लाख रुपैयाँ मामुली खर्चनु परेको छ । अनि त्यो रकम उठाउने काम गरिन्छ नै । जनताको मायाले वा जनताको सेवा गर्नका लागि पदमा पुग्ने नेता नेपाली समाजमा १ प्रतिशत पनि छैनन् । ईमान्दार नेताले निर्वाचनको समयमा टिकट पाउनसक्ने अवस्था नै छैन । भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका संवैधानिक निकाय छन् । तर, भ्रष्टाचार नियन्त्रण भन्दा पनि बृद्धि भएको छ । बागमतीका प्रदेशप्रमुख यादवचन्द्र शर्माले राज्यको अर्थतन्त्र निर्माणमा आफ्नो योगदानबारे नागरिक अनविज्ञता तथा उदासीनता भ्रष्टाचार प्रवद्र्धनको कारकतत्व रहेको बताएका छन् ।

आइतबार हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रदेशप्रमुख शर्माले प्रश्न गरे, ‘सामाजिक जीवनमा हाम्रो उत्कृष्ट आचरण र मर्यादा आर्थिक सवालमा प्रवेश गर्नासाथ किन दाम्लो चुडाएर भ्रष्टाचारको खाडलमा हाम फाल्छ ?’ । भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रक्रिया शिलशिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्छ । पश्चिमाहरु आर्थिक अनुशासनमा बाँधिएको र पूर्वीयाहरु मर्यादा नाघिरहेको अवस्था देखिएको छ । नागरिकको विज्ञताले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्नेछ । प्रदेशप्रमुख शर्माले पैसाको लागि व्यक्तिले आफ्नो आचरण र मर्यादालाई पनि भूलेकाले मुलुकमा भ्रष्टाचार बढिरहेको बताएका छन् । पूर्वीय दर्शनका अनुयायी नेपाली समाज भन्दा पश्चिमा दर्शनका अनुयायीहरु मर्यादा र आचरणमा अलि खुकुला देखिएका छन् ।

भ्रष्टाचार सुक्ष्मतातिरबाट स्थुलतातिर अघि बढिरहेको शर्माले बताएका छन् । समाजशास्त्रमा समाज जटिलतातिरबाट सरलतातिर अगाडि बढ्ने सिद्धान्तको विकास भएको छ । तर, वास्तबिकता भने समाज सरलतातिरबाट जटिलतातिर अगाडि बढिरहेको अवस्था छ । कानून, नीति, र नियमको पालनामा प्रयोग भएको स्वविवेकीय अधिकार दुरुपयोग हुने खतराबाट निराकरणको क्षेत्रमा लागेका विधि निर्माताहरु सचेत हुनुपर्ने थियो । समाज जटिलताबाट सरलतामा गएको भए सात पुस्तालाई पुग्ने सम्पत्ती जोड्ने काममा कोही पनि लाग्दैन थियो । एक वर्ष मन्त्री भएपछि अधिकांशले काठमाडौंमा घर जोडेका हुन्छन् । मन्त्रीको तलवले काठमाडौंमा घर जोडिने अवस्था पटक्कै छैन । नेताको तामझाम, जीवनशैली हेर्दा लाग्छ पुस्तौंनी ब्यवासय गरिरहेका छन् । तर, राजनीति गर्नेले ब्यवसाय गर्न समय नै पाउँदैन । पछिल्लो समय राजनीतिलाई नै पेशा वा ब्यवसाय बनाइएको छ, जुन हाम्रो समाजको लागि घातक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*