चलचित्र पत्रकारको भेला हेटौंडामा हुने

साझाकुरा
२०८० फाल्गुन ५, शनिबार १३:१६

हेटौंडा–चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।

सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तक्रिया, कार्यशालागोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रम गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए । स्थानीय ठाउँलाई नेपाली सिनेमामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए । भेलामा देशभरबाट दुई सय पचासजना पत्रकार र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुनेछन् । राष्ट्रिय भेलाको व्यवस्थापन पूरा गरिसकेको संघका मकवानपुर शाखाअध्यक्ष कपिल खड्काले बताए ।

कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ । फागुन ६ गते भेलाको औपचारिक उद्घाटन पछि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचारसंहितामाथी छलफल गर्नेछ । बिज्ञापन बोर्डले अनलाइन व्यवस्थापनसम्बन्धी कार्यशाला आयोजना गर्नेछ ।

यस्तै, फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयमा संवाद र अन्तक्रिया आयोजना हुनेछ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्रप्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति रहनेछ ।

यस्तै, दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरञ्जीबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, केएल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*