हेटौंडा अस्पतालको ईतिहास मेटिन्नः पूर्वमुख्यमन्त्री पौडेल

साझाकुरा
२०८१ जेष्ठ ३, बिहीबार १२:५२

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको सम्वन्धमा भ्रममा नपर्न बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आग्रह गरेका छन् ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पौडेलले यसमा सबैले यथार्थ कुरा बुझ्नुपर्ने बताए । अरु देशै भरीका प्रतिष्ठान जस्तै यो सरकार मातहत रहेको प्रतिष्ठान भएकाले यसमा कुनैपनि भ्रम सृजना गर्नु नपर्ने उनले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययन अनुसन्धान र चिकित्सा शिक्षाको क्षेत्रमा गरेका उल्लेख्य काम भएको उनले बताए ।

प्रतिष्ठानमा स्वास्थ्य विज्ञानअन्तर्गतका विभिन्न विषयको अध्यापन भइरहेको पौडेलले जानकारी गराए । जसमा २७० जना विद्यार्थी अध्ययनरत रहेकाछन् । विद्यार्थीलाई पठनपाठन गराउने गरी व्यवस्था गर्ने कार्य भइरहेको उनले बताए । पौडेलले भने–‘निकट भविष्यमै एमबिबिएसको पठनपाठन सुरु गर्ने तयारी भइरहेको छ । अस्पताललाई ५०० वेडको क्षमता विस्तार गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ । बेसिक हेल्थ साइन्सको पठनपाठनका लागि प्रतिष्ठानले ५५ करोडको लगानीमा हेटौंडा–१०, टिसिएनमा अत्याधुनिक भवन निर्माण गरिरहेको पौडेलले बताए ।

प्रतिष्ठानले स्वास्थ्य सेवाका लागि विज्ञ चिकित्सक तथा दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्य राखी काम गरिरहेकेको हुँदा केही वर्षभित्रै प्रतिष्ठानबाट शिक्षा लिएका स्वास्थ्यकर्मी स्वास्थ्यसेवाका लागि स्वास्थ्यक्षेत्रमा आउने अवस्था रहेको उनले जानकारी दिएका छन् । अहिले प्रतिष्ठान तथा अस्पतालबारे भ्रम उत्पन्न हुनेगरी आउने गरेका विषय यथार्थमा समस्या रहेको पूर्वमुख्यमन्त्री पौडेलले पत्रकार सममेलनमा बताए । प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य सेवा र शिक्षा नीतिअनुरुप काम गर्ने हुँदा अस्पताल पूर्णत सरकारी अस्पताल रहेको बताउँदै उनले भने–‘अस्पताल सेवा तथा स्वास्थ्यशिक्षा समेत सरकारी नीतिनियमअनुसार नै संचालन हुने हो । तथ्यविपरित आउनेअभिव्यक्तिमा कुनै सत्यता छैन ।

संघीयता कार्यन्वयनसँगै जिल्ला अस्पतालको अवधारणमा परिवर्तन आइसकेको छ । सबैखाले जिल्ला अस्पताल प्रदेश अस्पतालमा परिवर्तन भइसकेका छन् । यो प्रतिष्ठानले संचालन गरेको अस्पताल हाम्रै हेटौंडा अस्पताल हो, यसको अस्तित्व र ईतिहास मेटिएको छैन । थप सुदृढ र सक्षम हुँदै गएको छ । यसमा हामी मकवानपुरबासीले गर्व गर्नु पर्दछ ।’प्रदेश राजधानीको स्वास्थ्यसेवाको विकास र विस्तारमा करिव ५ वर्षकै अवधिमा ठूलो फड्को मारेको, स्वास्थ्य सेवामा मकवानपुरबासी आत्मनिर्भर बन्दै गएको, जिल्ला बाहिरका बिरामी समेत उपचार गर्न आउने वातावरण बनेको यथार्थलाई सबैले मनन गर्नुपर्ने पौडेलले बताए । प्रतिष्ठानअन्तर्गतको स्वास्थ्यसेवा र स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि भइरहेका काम आमनगरिकका लागि नै हो ।

पाडेलले ‘यसको संरक्षण गर्ने, जगेर्ना गर्ने दायित्व हामी सबैको हो । तसर्थ सबैले सचेत रही यसको संरक्षण र विकासमा लागिपर्नुपर्ने अवस्था छ’ भनेका छन् । कार्यक्रमम नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बद्री लंसाल, एमाले मकवानपुरका सचिवालय सदस्य मदनकुमार दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)