चलचित्र पत्रकारिता दिवसः पत्रकार र कलाकार सम्मानित

साझाकुरा
२०८१ जेष्ठ ११, शुक्रबार १२:२३

हेटौंडा- चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको आयोजनामा बिहीवार हेटौंडामा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसर पारेर कार्यक्रम गरिएको छ ।संघले दिवसको अबसरमा दुईजना पत्रकार र दुईजना कलाकारलाई सम्मान गरेके छ । चलचित्र पत्रकार एवम् गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको हो । अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । अधिकारी दुईदशक भन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् ।

नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारलाई नेपाल चलचित्र संघका अध्यक्ष एवम् निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् । संघले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट मकवानपुरका पत्रकार बालकृष्ण अधिकारीलाई पुरस्कृत गरेको छ । संघको संस्थापक सहसचिव रहेका अधिकारी मकवानपुरमा रहेर कान्तिपुर टेलिभिजनका लागि कलम चलाईरहेका छन् ।

चलचित्र कलाकर्मी सम्मान–२०८१ बाट कलाकार कोशिश क्षेत्री र कलाकार सुशान्तकुमार श्रेष्ठको बुबाको नामबाट स्थापित धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान–२०८१ बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मान गरिएको छ । मकवानपुरमा जन्मिएर राष्ट्रमा आफ्नो कला, साहित्य, संगीत क्षेत्रमा सक्रिय रहेर जिल्लाको नाम चम्काइरहेका कलाकर्मीलाई यो विधामा सम्मान गरिएको हो ।

चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशालालाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो । संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, बानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको अतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*