मकवानपुरमा विद्यार्थीले थाले ‘पार्ट टाइम जब’ सेवा

साझाकुरा
२०८१ असार १४, बिहीबार १३:००

हेटौंडा-मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीको समूहले ‘पढ्दै, कमाउँदै’ आफ्नो खर्च आफैं व्यवस्थापन गरौं भन्ने उद्देश्यले पार्टटाइम जब समन्वय समिति गठन गरेका छन् ।बेरोजगारी समस्याले पढ्दै गरेका विद्यार्थीलाई आर्थिक समस्या भएको भन्दै उनीहरुले समिति गठन गरेर काम थालेका छन् । समितिको उद्देश्य र कामबारे जानकारी दिन हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सुजल टिब्रेवालले पढाइपछि बचेको समयमा विद्यार्थीले पार्ट टाइम काम गरेर आफ्नो खर्चको व्यवस्थापन गर्न सक्नेगरी आफूहरुले काम सुरु गरेको बताए ।

समितिले रोजगारीको लागि जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायमा पत्राचार गरेको र गुगलमा फर्म खुलाएको उनले जानकारी दिए । सरकारले बनाएको मापदण्डअनुसार पार्ट टाइमको लागि प्रतिघन्टा ९५ रुपैयाँ प्राप्त हुनेगरी काम पाउने उनको भनाइ छ । ६० वटा क्याटगोरीमा फर्म खुला गरेको र फर्म खुला गरेको २४ घण्टामै १६० भन्दा धेरै विद्यार्थीले आवेदन दिएको अध्यक्ष टिब्रेवालले बताए ।सीप र क्षमता भएर पनि बेरोजगार बस्नुपरेका विद्यार्थीलाई आफूहरुको समितिले समन्वय गरेर पार्ट टाइम जबको लागि काम गर्ने उनले बताए । समितिले समन्वय गरेबापत कुनै शुल्क नलिने उनको भनाइ छ । समितिले सरकारी तथा गैरसरकारी निकायसँग मिलेर सीपमूलक तालिमको पनि व्यवस्थापन गर्ने योजना रहेको उनले सुनााए ।

समितिका संरक्षक किशोर अर्यालले आफूहरुले गठित समिति सम्भवतः नेपालमै पहिलो रहेको दाबी गरे । कलेजमा अध्ययनरत विद्यार्थीको समूहले आफ्नो खर्चको व्यवस्थापन र सीप सिक्नेगरी गरिएको प्रयत्नलाई सबै पक्षबाट सहयोग हुने उनले विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*