प्रदीप र दिव्याले सकाए ‘एक्टर’, जापान राइट्स बिक्री

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १३:०२

काठमाडौं-‘युवा स्टार’ प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’को छायांकन सकिएको छ । दुई चरणमा गरी ४५ दिन (पोखरामा १० दिन र काठमाडौंमा ३५)मा फिल्म ‘प्याकअप’ भएको हो । यद्यपि, एउटा गीत खिच्न भने बाँकी छ । त्यसलाई अर्को महिना युरोपमा खिच्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई लक्ष्मीपूजा (कात्तिक १५ गते)मा प्रदर्शन गरिँदैछ ।
निर्माता थमन कुमार भण्डारीले फिल्ममा प्रदीपलाई फरक भूमिकामा देख्न सकिने जनाएका छन् । प्राप्त जानकारी अनुसार प्रदीपले कलाकारकै भूमिका निभाएका छन् । फिल्ममा भ्यानेटी भ्यानको समेत प्रयोग गरिएको छ । पहिला प्रदीपका लागि भ्यानेटी उपलब्ध गराइएको भनिए पनि यो कथाले नै मागेको थियो । यद्यपि, छायांकनबाहेकको समयमा कलाकारहरुले भ्यानेटी प्रयोग गरेका थिए ।राजन भुसालको डेब्यु निर्देशन रहेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी लगायतको अभिनय छ ।

दिव्याको यो डेब्यु फिल्म हो । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । यही फिल्मबाट राजबल्लभले झन्डै १० वर्षपछि कमब्याक गरेका छन् ।अदृत फिल्म्सको प्रस्तुतिमा मोती फिल्म्सको निर्माण रहेको फिल्ममा एनिस भुसाल सहनिर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरमा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ । फिल्मको छायांकन सकिएसँगै जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ । ‘एक्टर’को जापान अधिकार खेमराज शाहको कम्पनी म्याक्स इटरटेन्टमेन्टले खरिद गरेको निर्माता भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*