विषालु च्याउको ‘हटस्पट’ मकवानपुर, रोकथाममा चासो न्यून

साझाकुरा
२०८१ श्रावण २५, शुक्रबार ०९:१४

हेटौंडा- गतआर्थिक वर्ष २०८०÷८१ को असारमा मात्रै विषालु च्याउ सेवनबाट मकवानपुरका ४ जनाको ज्यान गयो । यही कारणले २२ जना बिरामी परेर अस्पताल भर्ना भए ।राक्सिराङ गाउँपालिकामा एकै परिवारका पाँचजनाले विषालु च्याउ तरकारी बनाएर खाँदा घरको अभिभावक ४५ वर्षीय दलबहादुर चेपाङले ज्यान गुमाएका थिए । मृत्युहुने अन्य तीनजना कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबासी हुन् ।

मकवानपुरमा हरेक वर्ष विषालु च्याउको सेवनबाट बढी घटना हुने गरेको छ । जंगली च्याउका विषयमा अध्ययन, अनुसन्धान गर्दै आएका अनुसन्धाताको जानकारी अनुसार नेपालमा मकवानपुरसहित ६ जिल्ला विषालु च्याउको ‘हटस्पट’को रुपमा परिचित छ ।

मकवानपुरमा बिषालु च्याउका कारण मानबीय क्षति बढी मात्रामा हुने गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार टोलटोलमा बिषालु च्याउको फोटोसहित जनचेतनाका बोर्ड राख्ने तयारी भइरहेको छ । जंगली च्याउको तरकारी खानु चेपाङ, तामाङ परिवारको बाध्यता पनि हो ।’ तीनै तहका सरकारसँग विषालु च्याउले निम्त्याएको घटनाको यकिन तथ्यांक छैन । स्थानीय सरकारको रुपमा काम गरिरहेको कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल भन्छन्– ‘बिषालु च्याउ चिन्ने तरिकाको बारेमा पुराना पुस्ताले नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकेको छैन ।’

विषालु च्याउले वर्षेनी सर्वसाधारणको ज्यान गइरहेन पनि बल्ल यसको रोकथाम बारे मकवानपुरमा चासो हुन थालेको छ । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्राविधिक टिमले जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा पहिलोपटक मकवानपुरको प्रभावित क्षेत्रमा अभिमुखीकरण गरेको छ । कैलाश गाउँपालिकाको नामटारस्थित स्वास्थ्यचौकी र भीमफेदी गाउँपालिकाको केन्द्रमा सर्वसाधारण र सरोकारवालालाई विषालु जंगली च्याउको पहिचान गर्ने तरिका र यसबाट बच्ने बिधिका बारेका अभिमुखीकरण गरेको हो ।

राक्सिराङ, कैलाश, मनहरी गाउँपालिकामा सीमान्तकृत चेपाङ समुदायको बसोबास छ । छाक टार्नकै लागि च्याउ, वन तरुल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खानेगरेको राक्सिराङ गाउँपालिका अध्यक्ष मल्ल बताउँछन् ।गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखराले गरेको अध्ययनमा पूर्वको इलाम, मध्यभागको मकवानपुर र चितवन, पश्चिमको पाल्पा, गुल्मी र अर्घाखाँची, दाङ र सल्यानलाई विषालु च्याउको ‘हटस्पट’ को रुपमा पहिचान गरेको हो ।

यी जिल्लामा विषालु च्याउको सेवनबाट बढी मानवीय क्षति भएको प्रतिष्ठानका वैज्ञानिक डा. शिव देवकोटाले जानकारी दिएका छन् । जंगली च्याउ सबै बिषालु भने छैनन् । हालै जुम्लामा फेला परेको एक प्रकारको च्याउको बीउ प्रयोगशालामा उत्पादन गर्न सफलता मिलेको छ, जुन च्याउको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी ७० हजार रुपैयाँसम्म पर्छ ।

असार २०६९ मा चितवनको चेपाङ समुदायमा विषालु च्याउको सेवनले एकै परिवारका ८ जनाको मृत्यु भएको थियो । चेपाङ परिवारमा एक बालिका मात्रै जीवित रहेको देवकोटाले स्मरण गरे । उनकै भनाईअनुसार जंगली च्याउले परिवार नै सखाप पार्नेसम्मका संवेदनशील घटना भइरहँदा पनि राज्यले यसको रोकथाममा कुनै कदम अगाडि बढाएको छैन । बैज्ञानिक देवकोटाका अनुसार देशभर सरदरमा वार्षिक ३० देखि ३५ जनाले विषालु च्याउको कारण ज्यान गुमाउने गरेका छन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरसँग पनि अघिल्ला वर्षमा विषालु च्याउ खाँदा ज्यान गुमाएका वा बिरामी भएकाहरुको तथ्यांक छैन । मकवानपुरमा मात्र नभई देशभर नै विषालु च्याउले निम्त्याएको घटनाबारे सरकारसँग तथ्यांक नभएको वैज्ञानिक देवकोटा बताउँछन् । उनले घटना भएपछि सोही ठाउँमा पुगेर आफूले अध्ययन, अनुसन्धान गर्दै आएको बताए । गत असारमा ४ जनाले ज्यान गुमाएपछि उनी मकवानपुर आएका थिए ।

जनस्वास्थ्य कार्यालय मकवानपुरसँग अघिल्ला वर्षमा विषालु च्याउ खाँदा ज्यान गुमाएका वा बिरामीको तथ्यांक छैन । विषालु च्याउलाई तरकारी बनाएर खाँदा हरेकवर्ष सर्वसाधारणले ज्यान गुमाइरहेको विषयमा सरकारी स्वास्थ्य संस्थाहरु तथ्यांकविहीन मात्रै छैनन्, यसको रोकथामका लागि प्रयाससमेत गरेका छैनन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले विगतमा विषालु च्याउले निम्त्याएको घटनाबारे कुनै तथ्यांक नभएको र यसको अभिमुखीकरण पनि हुन नसकेको स्वीकार्छन् ।

यसको उपचारबारे पनि कतिपयलाई थाहा नभएकोले मानवीय क्षति बढी भएको ६५ जिल्ला पुगेर च्याउ बारे अध्ययन गरेका बैज्ञानिक देवकोटाको दाबी छ । च्याउ खाएपछि ६ घण्टासम्म कुनै असर नगर्ने र त्यसपछि क्रमशः वान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्नेलगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।बिष नभएको चेपानगाइना च्याउ भनेर, हेर्दा उस्तै देखिने भिरोसा र सिटरिना नामक विषालु च्याउको सेवनले मानिसको मृत्यु बढाइरहेको देवकोटाले बताए । सर्वसाधारणलाई राज्यले पहिलो तहमै च्याउको पहिचान गर्न र यसको उपचार बारे सचेतना गराउनुपर्ने देवकोटाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*