मकवानपुरगढीबाट लम्पी स्किनबिरुद्ध खोप अभियान सुरु

साझाकुरा
२०८१ श्रावण २६, शनिबार १२:५६

हेटौंडा- बागमती प्रदेश सरकारले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनबिरुद्ध खोप अभियान सुरुवात गरेको छ ।प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले शुक्रबार एक स्थानीय कृषकको गोठमा पुगेर गाईभैंसीमा लगाउन प्राविधिकलाई खोप भ्याक्सिन हस्तान्तरण गर्दै साताव्यापी रुपमा चल्ने अभियानको उद्घाटन गरेका हुन् । मन्त्रालयले विहीवार मात्रै पत्रकार सम्मेलन गरेर खोप अभियानबारे जानकारी दिएको थियो । खोप अभियानले विगतमा लम्पी स्किन रोगका कारण किसानले भोग्नुपरेको समस्या र आर्थिक क्षति न्यूनिकरणका लागि मन्त्रालय गम्भीर भएको मन्त्री श्रेष्ठले बताए ।

उनले प्रदेशका ७६ हजार दुईसय ७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखेको उल्लेख गरे । खोप पर्याप्त नभए पनि लम्पी स्किनको संक्रमण फैलिनबाट रोक्न यसले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको श्रेष्ठले बताएका छन् । गत आव २०८०÷८१ मा लम्पी स्किन रोगको संक्रमबाट बागमती प्रदेशमा ११ हजारभन्दा बढी गाईभैंसीको मृत्यु भएपछि यसवर्ष प्रदेश सरकारले रोग लाग्न सुरु हुनुअघि नै लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गर्न लागेको उनको भनाइ छ ।

अभियानअन्तर्गत् प्रदेशका १३ जिल्लाका ७६ हजार दुईसय ७५ पशुमा खोप लगाउने लक्ष्य मन्त्रालयले लिएको सचिव विनोदकुमार भट्टराईले जानकारीदिए । प्रदेशमा रहेका १० लाख ११ हजार एकसय ३६ गाई र आठ लाख ३२ हजार एकसय ९३ भैंसीलाई लम्पी रोगको संक्रमण हुन नदिन वार्षिक कार्यक्रमअन्तर्गत् नै खोप अभियानलाई अघि बढाएको उनले बताए ।प्रदेश सरकारले शुक्रबारबाट ३१ साउनसम्म प्रदेशका मकवानपुरसहित १३ वटै जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्दैछ । उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर र रसुवामा भन्दा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीमा बढी गाईभैंसी पालन हुने गरेको छ । बागमतीको चितवन, काभ्रे र मकवानपुर सबैभन्दा धेरै दूध उत्पादन गर्ने जिल्ला हुन् ।

किसानहरु गाईभैंसी पालनबाट आत्मनिर्भर छन् । चितवन, काभ्रे र मकवानपुरमा व्यावसायिकरुपमा पनि गाईभैंसी फार्म सञ्चालन गर्ने किसान बढ्दो क्रममा रहेका छन् । विगतका वर्षमा लम्पी स्किनका कारण धेरै गाईभैंसीको मृत्यु भएकाले किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको थियो । प्रदेश सरकारले मन्त्रालयले मातहतका पशु सेवा कार्यालयहरु मार्फत् लम्पी स्किनबिरुद्धको ६२ हजार नौसय ७५ डोज खोप लगाउने तयारी गरेको प्रवक्ता सुजन कंडेलले जानकारी दिए ।

प्रदेश सरकारले १३ जिल्लाका लागि तीनसय ७६ जना भ्याक्सिनेटर परिचालन गरेको जनाएको छ । मन्त्रालयले मकवानपुरका लागि सात हजार पाँच सय डोज खोप लगाउन ६२ भक्सिनेटर, ललितपुरका लागि आठ हजार तीन सय २५ डोज खोप लगाउन ५४ भक्सिनेटर, नुवाकोटका लागि ११ हजार डोज खोप लगाउन २५ भक्सिनेटर, धादिङका लागि छ हजार नौ सय डोज खोप लगाउन ४२ भक्सिनेटर परिचालन गरेको छ ।

यसैगरी, चितवनका लागि आठ हजार डोज खोप लगाउन १३ भक्सिनेटर, दोलखाका लागि पाँच हजार डोज खोप लगाउन २५ भक्सिनेटर, काभ्रेका लागि आठ हजार डोज खोप लगाउन ९५ भक्सिनेटर, सिन्धुलीका लागि आठ हजार दुई सय ५० डोज खोप लगाउन ६० भक्सिनेटर सम्बन्धित पशु सेवा कार्यालयहरुबाट नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ ।लम्पी स्किन रोगबाट गाईभैंसीको मृत्यु दर ३ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । लम्पी स्किन संक्रमणपछि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने भएकाले मन्त्रालय यसको नियन्त्रणमा गम्भीररुपले अघि बढेको जनाउँछ । बागमती प्रदेशमा वार्षिक चार लाख ५५ हजार एक सय ४२ मेट्रिक टन दूध उत्पादन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । कृषकहरुको सहायताका लागि संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा लम्पी स्किन रोगको प्रकोप नियन्त्रण अभियान चलाइएको हो ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०८०÷८१ मा लम्पी स्किन रोगबाट प्रदेशका १३ जिल्लामा ११ हजार दुई सय १८ वटा गाईभैंसीको मृत्यु भएको तथ्याड्ढ छ । ३७ हजार ८९ वटा गाईभैंसी संक्रमित भएको र दुईलाख ५६ हजार सात सय ५९ पशु प्रभावित भएको मन्त्रालयले जनाएको छ । बागमतीमा हालसम्म दुई लाख ४५ हजार दुई सय २२ र गत वर्ष ५७ हजार चार सय ३३ वटा गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको थियो ।

संक्रमणका कारण काभ्रेमा दुई हजार चार सय १२, सिन्धुपाल्चोकमा एक हजार तीन सय २८, दोलखामा एक हजार १०, सिन्धुलीमा नौ सय ४९, मकवानपुरमा पाँच सय एक, रामेछापमा नौ सय ७५, चितवनमा चार सय दुई, धादिङमा नौ सय ५९, नुवाकोटमा एक हजार ३४, रसुवामा दुई सय ३६, काठमाडौंमा छ सय पाँच, ललितपुरमा दुई सय ४९ र भक्तपुरमा लम्पीबाट पाँच सय ८८ वटा गाईभैंसी मरेको मन्त्रालयको तथ्याड्ढ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*