जलन उपचार केन्द्र खोल्न हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल

साझाकुरा
२०८१ श्रावण ३१, बिहीबार ०९:४७

हेटौंडा- हेटौंडामा जलन प्राथमिक उपचार (आगोले पोलेकाहरुको तत्काल उपचार गर्ने) केन्द्र निर्माणका लागि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।रोटरी क्लब अफ मकवानपुरको आयोजनामा २४ भदौदेखि ३१ गतेसम्म ८ दिन हेटौंडा–५, क्याम्पाडाँडास्थित पिप्लेक्याम्पा रंगशालामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ हुने भएको हो । जलन प्राथमिक उपचारकेन्द्र अभियानलाई सहयोग जुटाउन २०७३ सालपछि प्रतियोगिता गर्न लागिएको रोटरी क्लबका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए ।

उपचारकेन्द्र हेटौंडा अस्पतालभित्र सञ्चालनको तयारी भइसकेको अग्रवाललले बताए । प्रतियोगिताको पिप्ले युवा क्लब सहआयोजक र सहकार्य रोट¥याक्ट क्लब अफ मकवानपुर रहेको छ । ४० वर्ष माथिका खेलाडीको भेट्रान्स फुटबल प्रतियोगितामा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख राशी पुरस्कार छ । यसअघिको दुई संस्करणमा विजेतालाई १ लाख र उपविजेतालाई ७५ हजार पुरस्कार थियो ।

हेटौंडामा २०७२ र २०७३ मा क्रमशः प्रथम र दोस्रो राष्ट्रिय भेट्रान्स कप ‘८ ए’ साइड फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । दुवै संस्करण चितवन भेट्रान्स क्लबले जितेको थियो । विगतमा दुई संस्करण ‘८ ए’ साइड प्रतियोगिता भएकोमा यसवर्ष ‘११ ए’ साइड खेलाइने अध्यक्ष अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा हेटौंडा भेट्रान्स क्लब, सिमरा भेट्रान्स क्लब, वीरगञ्ज एकाडेमी भेट्रान्स क्लब, निजगढ भेट्रान्स क्लब, पूर्वेली भेट्रान्स क्लब, फ्रिडम फाइटर भेट्रान्स क्लब, अभिषेक चर्च भेट्रान्स क्लब, रोटरी पिप्ले भेट्रान्सले सहभागिता जनाउने तय भएको छ । नागस्वती भेट्रान्स क्लब, नवजागृति भेट्रान्स क्लब, युनिटी भेट्रान्स क्लब, हरिवन भेट्रान्स, सानोगौचरण नाइटकिङ भेट्रान्स, चितवन भेट्रान्स र पोखरा भेट्रान्स क्लब पनि सहभागी हुने अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट प्रशिक्षकलाई १० हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार र उत्कृष्ट फरवार्डलाई ५ हजार नगद पुरस्कार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*