मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकको चेतावनी

प्रतिक्षा न्यौपाने
२०८१ श्रावण ३२, शुक्रबार ११:४६

हेटौंडा- बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले पूर्वसहमति अनुसार आफूहरुको माग सुनुवाइ नभएपछि अन्तिमपटक चेतावनी दिएका छन् ।प्रतिष्ठानका कार्यबाहक उपकूलपति तथा शिक्षाध्यक्ष प्रा.डा. सुरेन्द्र शेरचनलाई खुलापत्र लेख्दै माग पूरा नभएको खण्डमा ‘कलम बन्द’ गरी चरणबद्ध आन्दोलन गर्ने प्रतिष्ठानका प्राध्यापकहरुले चेतावनी दिएका हुन् । प्रतिष्ठानमा कार्यरत सम्पूर्ण ३० जना प्राध्यापकले माग सुनूवाई नभईरहेको अवस्थामा यसरी खुलापत्र लेख्न बाध्य भएको जनाए । करीव एकवर्ष अघिदेखि पटक–पटक मौखिक वा ‘प्राध्यापक कल्याणकारी समिति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’को आधिकारिक पत्रमार्फत् विभिन्न माग प्रस्तुत गरेको र प्रतिष्ठानको तर्फबाट आश्वासन मात्रै पाएको प्राध्यापक कल्याणकारी समिति प्रतिष्ठानका अध्यक्ष विश्वास सापकोटाले बताए ।

‘हाम्रा अभिभावकबाट प्राध्यापक जस्तो गरिमामय पदले उठाएका उचित माग पूरा हुन्छ भन्ने आशवासन कै आधारमा हामीले अहिलेसम्म संयमित भएर आफ्ना दैनिक कार्यभार पूर्णजिम्मेवारीपूर्वक सम्हाल्दै आएका छौं । तर, दुर्भाग्यबस, हाम्रा सम्पूर्ण मागलाई आश्वासन मै सीमित गरियो’ शिक्षाध्यक्ष शेरचनलाई लेखिएको मागपत्रमा भनिएको छ । आन्दोलनरत् प्राध्यापकहरु हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । उनीहरुले बिहीवार प्रतिष्ठानको शैक्षिक भवनमा कालो ब्यानर राखेर विरोध प्रर्शन गरेका थिए ।

१० मंसिर २०८० मा प्राध्यापक कल्याणकारी समिति र प्रतिष्ठानका शिक्षाअध्यक्षबीच भएको सम्झौता अहिलेसम्म कार्यान्वयन नहुनु मागलाई वेवास्ता गरेको आरोपलाई थप प्रमाणित गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । सम्पूर्ण प्राध्यापकलाई, आफ्नै प्रतिष्ठानद्वारा ठगिएको र शोषित हुनु परेको अनुभूति हुन् थालेको मागपत्रमा भनिएको छ । पत्रमार्फत प्राध्यापक कल्याणकारी समितिले सम्पूर्ण पुराना मागलाई यथाशीघ्र पूरा गरियोस भन्ने अन्तिमपटक स्मरण गराउन चाहन्छौ भनिएको छ ।

यस प्रतिष्ठानमा करिव ३० जनाको संख्यामा रहेका प्राध्यापकमध्ये ७ जनाको मात्र स्थायीनियुक्ति भएको र बाँकी सबै करारमा कार्यरत छन् । प्रतिष्ठानको करार प्राध्यापक कार्यविधि नियमावलीमा (१) (ग) मा स्पष्ट रुपले ‘चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार प्रतिष्ठानलाई आवश्यक परेको खण्डमा नियुक्ति भएका शिक्षकको एक तहमाथिको पद प्रमाणिकरणको लागि योग्य भएको अवस्थामा माथिल्लो पदको लागि करार सम्झौता गरी करारको नवीकरण गरिनेछ’ भन्ने उल्लेखित छ । ‘यस्ता प्राबधान हाम्रो कार्यविधिमा हुदाँहुदै करारका योग्य प्राध्यापकको पदोन्नोतिमा वेवास्ता गरेको प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ’ मागपत्रमा भनिएको छ ।

प्रतिष्ठानको करार प्राध्यापक कार्यविधि नियमावली, चिकित्सा शिक्षा आयोग र रास्ट्रिय स्वास्थ्य सेवा परिषदको मापदण्ड अनुसार शैक्षिक योग्यता, कार्यअनुभव र कृति प्रकाशनका आधारमा सम्पूर्ण करारका प्राध्यापकलाई यथाशीघ्र पदोन्नति गर्न पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । प्रतिष्ठानमा कार्यरत शिक्षक सेवासर्त र सुबिधासम्बन्धी नियमावली २०७७ मा स्थायी प्राध्यापकको वृद्धिविकास तथा सेवासुविधामा एकदमै विभेद देखिएको उनीहरुको आरोप छ ।

‘प्राध्यापकका सेवा सुबिधालाई सम्बोधन गर्ने गरी उप–समितिको कार्यदलले तयार पारेको प्रतिवेदन संशोधन आगाडि प्राध्यापकसँग परामर्श नगेरेको प्रति हामी खेद प्रकट गर्दछौं’ मागपत्रमा भनिएको छ । ‘प्राध्यापकलाई निरुत्साहित गर्ने गरी यस्ता किसिमका विवेधपूर्ण संसोधनप्रति खेद प्रकट गर्दै संसोधन गर्न लागेका यस्ता नियमावली हामीलाई स्वीकार्य नहुने जानकारी समेत यो पत्रमार्फत गराइन्छ’ मागपत्रमा उल्लेख गरिएको छ ।

अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको लागि थप जिम्मेवारी दिंदा प्राध्यापनरत समय नहेरिएको, लेख र कृति रचना नहेरिएको, एकपटकको लागि भनि पद प्रमाणिकरण गरिएको भन्दै प्राध्यापकहरुको सबै न्यूनतम योग्यता पुग्दा पनि पदोन्नति नगर्ने खालको विभेदपूर्ण नीति स्वीकार्य नहुने पत्रमार्फत जानकारी गराइएको छ । प्राध्यापकले गरेको अतिरिक्त कार्य परीक्षासम्बन्धी, पठनपाठन बाहेकका अतिरिक्त जिम्मेवारी, इन्धनसम्बन्धी अतिरिक्त भत्तामा समेत पारदर्शिता नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । ‘यी विषयमा केन्द्रित भई पछिल्ला बाँकी रहेका रकमको पनि यथाशीघ्र पारदर्शीता र भुक्तानी गर्नको लागि ध्यानाकर्षण गराउँदछौं’ भनिएको छ ।

कहिले मेडिकल त कहिले नन–मेडिकलदेखि लिएर एकैतहमा कार्यरत प्राध्यापकको तलवभत्तामा देखिएको ठुलो अन्तरले प्राध्यापकको मनोबलमा निकै गहिरो चोट पुगेको कुरा अवगत गराउँदै समान तलवभत्ता ननप्राक्टिस, आवासमा विभेद हुनु प्राध्यापकको लागि पक्कै राम्रो कुरा होइन र यसमा विषयमा उचित न्याय हुने गरी समपूर्ण प्राध्यापकलाई समान व्यवहार गर्न आग्रह गरिएको छ ।परीक्षाको गुणस्तरीयताको सम्बन्धमा, प्राध्यापकको टीओआर तथा वर्कलोर्ड सम्बन्धमा, प्रयोगशाला तथा पुस्तकको अभाव सम्बन्धमा, चारैतिर छरिएर रहेका शैक्षिक भवन र त्यसले विद्यार्थी तथा प्राध्यापकमा परेको असर सम्बन्धमा विभिन्न समिति र परिषदमा प्राध्यापकको नियुक्तिको पूर्णताको सम्बन्धमा लगायत थुप्रै उचित मागको सम्बोधनको लागि पनि अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*