उपमहानगरको करबृद्धि बिरुद्ध दलहरुको बिज्ञप्ती

साझाकुरा
२०८१ श्रावण ३२, शुक्रबार १२:०६

हेटौंडा- हेटौंडा उपमहानगरले आर्थिक वर्ष २०८१÷८२ का लागि आर्थिक ऐनमार्फत् विभिन्न शीर्षकमा बढाएको करको सन्दर्भमा नेपाली कांग्रेस हेटौंडा नगर कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवाला निकायसँग छलफल गरी करबृद्धि गर्नु जायज रहन्थ्यो तर, राजश्व परामर्श समितिबाट नगर कार्यपालिकाहुँदै नगरसभाले सरोकारवाला निकायसँग आवश्यक छलफल नगरी कर बढाएकोमा ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ । हेटौंडा नगरका जनप्रतिनिधि र पदाधिकारीले करवृद्धि गर्ने सन्दर्भमा पर्याप्त अध्ययन नगरी नगरसभाबाट सर्वसम्मतिले पारित गर्नु गम्भीर त्रुटी रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ । उपमहानगरले बृद्धि गरेको करको विषयमा विगत केही दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण ब्यवसायी संघ, सहकारीहरु आन्दोलनमा उत्रिएका छन् ।

‘संघको आन्दोलन चलिरहँदा २०८१ साउन ३० गते नेकपा एमालेबाट उपमहानगरमा निर्वाचित ४८ जना जनप्रतिनिधिले विशेष नगरबैठकको आह्वानको माग राख्दै विज्ञप्ती जारी गरिनुले उनीहरुको दोहोरो चरित्र प्रष्ट देखिन्छ’ कांग्रेसले बिज्ञप्तीमा भनेको छ । ‘९५ जना नगरसभा सदस्य रहेको उपमहानगरमा नेकपा एमालेका बहमुत ४८ सदस्यले स्वयम् नगरको बैठकमा उपस्थित भइ पेश भएकोआर्थिकलगायत अन्य सबै ऐन पाँच दिनसम्म अध्ययन गरी बृद्धि गरेको करलाई समर्थन जनाउँदै हस्ताक्षर गरी सर्वसम्मतिले पास गराउने अनि अहिले करबृद्धि अस्वभाविक भएको भन्दै पुनः विशेष नगरसभाको आव्हान् गरी दोहोरो चरित्र देखाएको प्रति नेपाली कांग्रेस नगर कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँछ’ बिज्ञप्तीमा भनिएको छ ।

कांग्रेस नगर कार्यसमितिले उपमहानगरलाई आन्दोलनरत् उद्योगी, व्यवसायी र सरोकारवाला निकायसँग छलफल र आवश्यक समन्वय गरी भइरहेको विरोधका मुद्दालाई छिटो सम्बोधन गर्न अनुरोध गरेको छ । वार्ता, छलफलको माध्यमबाट समस्या हल हुने भएकाले उपमहानगरले बढाएको कर समायोजन गरी व्यवसायी र आमनगरबासीलाई आर्थिक न्याय प्रदान गर्न विज्ञप्तिमार्फत् नेपाली कांग्रेसले माग गरेको छ ।यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा नगरसमितिले उपमहानगरले गरेको करवृद्धिको कडा विरोध गरेको छ । हालै सम्पन्न नगरपरिषद्ले विभिन्न क्षेत्रमा १०० देखि ३०० प्रतिशतसम्म करवृद्धि गरेकोप्रति रास्वपाले विरोध गरेको हो । रास्वपाले यस निर्णयको घोर भत्र्सना र निन्दा गरेको छ ।

पार्टीले वर्तमान आर्थिक मन्दीको अवस्थामा करवृद्धि गर्नु अनुचित भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश नै आर्थिक मन्दीको मारमा परेर व्यवसाय धरासायी हुँदै, घरभाडा र राज्यको न्यूनतम नवीकरण पनि तिर्न नसक्ने स्थिति भई दिनानुदिन व्यवसाय बन्द हुँदै र विदेशिने क्रम जारी रहेको परिस्थितिमा करवृद्धि गर्नु उचित होइन’ । रास्वपाले यस निर्णयमा सबै दलका जनप्रतिनिधिको मिलेमतो रहेको आरोप लगाएको छ । पार्टीले उपमेयरको व्यवसायमा कर नबढाइएको भन्ने जनगुनासो रहेको पनि उल्लेख गरेको छ । रास्वपाले हेटौंडा उपमहानगरले बढाएको सम्पूर्ण कर खारेज गरी पुरानै दररेट कायम गर्न जोडदार माग गरेको छ । विज्ञप्तीमा हेटौंडा उपमहानगर समितिका सभापति ध्रुब विष्ट, मकवानपुर निर्वाचन क्षेत्र नं १ का सभापति टाकाराज थापा र सोही निर्वाचन क्षेत्रका सचिव किशोर अर्यालले हस्ताक्षर गरेका छन् ।

यस्तै, नेकपा माओवादी (केन्द्र) हेटौंडा नगरसमितिले पनि उपमहानगरले गरेको करबृद्धिको कडा आलोचना गर्दै करबृद्धिबिरुद्धको आन्दालनमा समर्थन रहेको जनाएको छ । माओवादी केन्द्रका नगर अध्यक्ष तीर्थबहादुर थापामगरले उपमहानगरको करबृद्धिले नगरबासीको दैनिक जीवनयापनमा आर्थिक भार पर्न जाने भएकोले तत्काल फिर्ता लिन आग्रह गरेको बिज्ञप्ती जारी गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ, होटल ब्यवसायी संघ, निर्माण ब्यवसायी संघ, सहकारी संघसंस्था, नगरका ब्यवसायीले बिहीबार २ घण्टा हेटौंडा उपमहानगरको कार्यालय अगाडि धर्ना दिएका थिए । शुक्रबार नगरका सबै ब्यवसायीले ब्यवसाय बन्द गरेर तालाचाबी हेटौंडा उपमहानगरलाई बुझाउने कार्यक्रम रहेको मउवासंघका अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*