भाषणलाई व्यवहारमा उतार्दै कांग्रेस नेता ईटेनी

साझाकुरा
२०८१ भाद्र ४, मंगलवार १०:४७

हेटौंडा-पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता उत्सव इटेनीको दिनचर्या यतिबेला घाँस, पराल र चोक्करसँग जोडिएको छ । राजनीतिक कार्यक्रममा गरिने भाषणमा युवाले कृषिक्रान्ति गरी देशमै सुन फलाउनु पर्छ भनेर भन्ने गरेका इटेनी आफ्नो भाषणलाई व्यवहारमा उतार्दै आफ्नो समय हेटौंडाको एक कृषि फार्ममा लगाइरहेका छन् ।नेपाली कांग्रेस हेटौंडा नगरसभापति रहेका इटेनीले हेटौंडा–१२ आल्दमारमा आफ्नो भाइको नाममा इटेनी एग्रो फार्म प्रालि दर्ता गरी संचालन गरिरहेका छन् ।

२ करोड रुपैयाँको लगानीमा स्थापना भएको फार्ममा २८ वटा लैनोभैसी, ३ वटा गाई, एउटा राँगो र पाडापाडी गरेर ५५ पशुचौपाया छन् । उनले दैनिक ३०० लिटर दुध १ सय १० रुपैयाँको दरले बिक्री गरी मासिक करिब १० लाख रुपैंयाँको कारोबार गर्छन् । ‘५÷७ वटा भैंसीबाट सुरु गरेको व्यवसाय अहिले २८ वटा दुहुनो भैंसी, राँगा, पाडापाडी गरेर ५०÷६० वटा पुगेको छ ।

ईटेनीको फमर्मा ५ जनाले रोजगार पाएका छन्, उपभोक्ताले शुद्ध दुध पाएका छन्, हामीले खेतका लागि मल पाएका छौं–इटेनीले भने । बजारका लागि कुनै समस्या नरहेको बताउने उनले यहाँ उत्पादित भैंसीको दुध फार्ममै लिन आउने उपभोक्ता पनि धेरै भएका छन् । बाँकी स्थानीय सहकारीले खरिद गर्ने गरेको उनले बताए । पशुचौपायको हेरचाह तथा घाँस कुँडोपानीको व्यवस्थापनमा खटिने ५ जना कामदारको पारिश्रमिक र अन्य खर्चसहित मासिक खर्च करिब ५ लाख रूपैयाँ छ । भैंसीलाई आवश्यक पर्ने पराल, चोकर मधेश र साइलेज चितवनबाट ल्याउने गरेको बताए ।

पेट्रोलियम पदार्थको ढुवानी व्यवसायमा लामो समयदेखि सक्रिय इटेनी देशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि सरकारले विदेशिने युवालाई रोक्न र पशुपालनमा सक्रिय बनाउन स्पष्ट नीति ल्याउनुपर्ने बताए । अहिलेको नीति कृषकमैत्री नरहेको आफूले यो काम थालेपछि बुझेको बताउँदै अब आफूले भेट्ने मन्त्री र सांसदलाई यसबारे अवगत गराउने उनको भनाई छ ।

उनले मेहनतका साथ काम गरेमा सफलता हासिल हुने विश्वास साथ फर्म स्थापना गरेका छन् । आफूलाई चिन्नेहरुले उत्सव धेरै दिन एग्रो फार्ममा टिक्दैन भन्ने गरेको उनले सुनाए । उनले आफूले दीर्घकालीन उद्देश्यसहित फर्मको भौतिक संरचनासहित अन्य व्यवस्थापन गरेको बताए । आफ्नो पुख्र्यौली जग्गा खेरगइरहेकोमा यसलाई सदुपयोग गरेकोमा घरपरिवार र आफन्तबाट सकारात्मक प्रतिक्रिया पाएका उनले बताए । उनले बाँझोखेतमा फार्मका लागि आवश्यक घाँस र अन्य बाली लगाउने सोच बनाएका छन् ।

राजनीतिक कार्यकर्ता भाषणमा मात्रै नभई आर्थिकपक्षमा पनि सबल रहनुपर्ने बताउँदै उनले अनैतिक कामबाट आर्जन गर्नुभन्दा यस्तै व्यवसायबाट आफूलाई आर्थिक उपार्जनको क्रियाकलापमा जोड्नुपर्ने उनको भनाई छ । आफ्नो राजनीतिक यात्रा र अन्य व्यवसायसँगै कृषिकर्मलाई पनि सँगसँगै लैजाने इटेनीको लक्ष्य छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*