तीन जनालाई विद्यावारिधि पढाउँदै चित्लाङको विश्वविद्यालय

साझाकुरा
२०८१ भाद्र ६, बिहीबार ०९:५९

हेटौंडा- मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर्स डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ सुरु गरेको छ ।गत मंसिरदेखि अर्गानिक एग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीयल ईन्टेलिजेन्स र डाटा साइन्सको माष्टर्स र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले जानकारी दिएका छन् । सरकारले स्वीकृति दिएको चारवर्ष नपुग्दै विश्वविद्यालयले पढाई संचालनमा ल्याएको हो ।

अहिले विश्वविद्यालयमा ३ जना विद्यार्थीले पिएचडी र १३ जना विद्यार्थीले माष्टर्स डिग्री पढ्दैछन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी चित्लाङमै कोठा लिएर बसेका छन् । विश्वविद्यालयका अधिकांश प्राध्यापक काठमाडौंबाट आउजाउ गर्छन् । विश्वविद्यालयमा पठनपाठन र अनुसन्धान गर्न गराउन विदेशबाट विशेषज्ञ प्राध्यापक आउने गरेका छन् । विश्वविद्यालयले पहिलो वर्ष नै ३२ जनालाई पढाउने लक्ष्य लिएको थियो । तर, विद्यार्थी छनोट गर्ने क्रममा १६ जनामात्र उत्कृष्ट भएकाले उनीहरुलाई पढाउन थालिएको जोशीले जानकारी दिएका छन् ।

विश्वविद्यालयले आगामी ५ वर्षको अवधिमा ८ सय विद्यार्थीलाई पढाउने लक्ष्य लिएको छ । थाहा नगरपालिका–९ चित्लाङमा विश्वविद्यालयले गुणस्तरयुक्त पठनपाठन र अनुसन्धान गर्न भवनलगायत प्रयोगशाला, सभाहल, अडिटोरियम लगायत निर्माण गरेको छ । करिब एक अर्ब रुपैयाँ लागतमा स्थापना गरिएको यो विश्वविद्यालयको चारवटा भवनमध्ये अब एउटा तयार हुन बाँकी रहेको छ । राजधानी प्रवेशनाका थानकोटबाट पश्चिमतर्फ १२ किलोमिटर दुरीमा चित्लाङ रहेको छ ।

विश्वविद्यालयलाई आवश्यक पर्ने विद्युत् सौर्यउर्जामार्फत उत्पादन गरिएको छ । एक सय वटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत् उत्पादन हुन्छ । अहिले विद्युत् आवश्यक नपरेकाले नेपाल विद्युत् प्राधिकरणको ११ केभीए प्रसारण सिस्टममा जडान गरिएको छ । विश्वविद्यालयमा उत्पादित विद्युत् पालुङ वितरण केन्द्रको प्रणालीमा जोडिएको हो । उत्पादित बिजुली नेट मिटरिङको माध्यममार्फत पालुङमा जडान गरिएको पालुङ वितरण केन्द्रले जनाएको छ । विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा बिक्री गरेको बताइएको छ ।

विश्वविद्यालयले प्रतिवर्ष करिब ३० लाख रुपैयाँ बराबरको विजुली प्राधिकरणलाई बिक्री गर्नसक्छ । विजुली बिक्रीबाट पनि सहयोग पुगेको विश्वविद्यालयले जनाएको छ । ‘विश्वविद्यालय पूर्णरुपमा संचालनमा आउँदा ५ सय किलोवाट विद्युत् खपत हुन्छ,’ अध्यक्ष जोशीले भने, ‘विश्वविद्यालयलाई निरन्तर विद्युत् आवश्यक पर्ने भएकाले आफैंले उत्पादन गरेको हो ।’

करिब १३ करोड रुपैयाँ लागतमा सौर्यउर्जामार्फत् विद्युत् उत्पादन गरिएको प्लान्टलाई ‘पम्प स्टोरेज पावर प्लान्ट’ भनिन्छ । विद्युत्को आपूर्ति रोकिन गएमा तत्कालै उत्पादन गर्न पम्प स्टोरेज पावर प्लान्ट निर्माण गरिएको अध्यक्ष जोशीले बताए । उनका अनुसार यो प्रविधि नेपालकै पहिलो हो । सरकारले चित्लाङको ताकाटारमा स्वच्छन्दभैरव माविको नाममा रहेको १ सय ८० रोपनी जग्गाको भोगाधिकार विश्वविद्यालयलाई दिएको थियो । अब थप ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको अध्यक्ष जोशीले बताए ।

थानकोटदेखि चित्लाङ सम्मको फराकिलो र कालोपत्र गर्ने काम भइरहेको छ । पर्यटकीयक्षेत्र चित्लाङमा सञ्चालनमा आएको विश्वविद्यालयले देशविदेशमा पहिचान गराउने काम भएको थाहा नगरप्रमुख विष्णु विष्ट बताउँछन् । थाहा नगरमा स्थापना भएको विश्वविद्यालयले स्थानीय निकायसँग सहकार्य गरिरहेको नगरप्रमुख बिष्टले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*