आधुनिक र भुटनदेवीलाई ‘मेघा विद्यालय’ बनाउने तयारी

भानुभक्त आचार्य
२०८१ भाद्र ११, मंगलवार ११:०४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नबीन सिग्देलले हेटौंडाका दुई ठूला विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढाएका छन् । शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला विद्यालय एकीकृत गर्ने विषयमा छलफल सुरु भएको हो ।

हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय मावि र भुटनदेबी मावि एकीकृत गरी ‘मेघा विद्यालय’ को अवधारणामा संचालन गर्ने विषयमा छलफल अगाडि बढाइएको वडाअध्यक्ष सिग्देलले साझाकुरालाई बताए । आरामाविमा करिब २८ सय बालबालिका र भुटनदेबी माविमा २२ बालबालिका अध्ययनरत छन् । भुटनदेबीमा प्राबिधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् । नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका माविमा करिब ८ हजार विद्यार्थी रहेका छन् ।

‘हामीले हरेक वर्ष प्रबेश परीक्षा दिएका एक हजार पाँचसय विद्यार्थीलाई भर्ना लिन सकेका छैनौं’ आरामाविका प्रधानाध्यापक रामसागर गुरागईं भन्छन्–‘पर्याप्त कक्षाकोठा र जनशक्ति भएको अवस्थामा चार हजारदेखि ४५ सय विद्यार्थी यही विद्यालयमा हुने थिए । भुटनदेबी मावि र आरामावि एकीकृत गरी मेघा विद्यालय संचालन गर्ने विषयमा बहस अगाडि बढाइएको प्रअ गुरागाईले बताए । दुबै विद्यालय एकीकृत गरी राम्रोसँग ब्यवस्थापन गर्ने हो भने बुटवलको कालिका माविमा भन्दा धेरै विद्यार्थी हुनेछन् ।

केही दिनअघि जिल्ला समन्वय समितिका अध्यक्ष ललितकुमार घलान, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख सुदीप गिरी, शाखाअधिकृत उन्नति ढकालसँग आरामाविमा बिग स्कूलको अवधारणाका बारेमा अनौपचारिक छलफल भएको थियो । केही दिनभित्रै दुबै विद्यालय ब्यवस्थापन समितिको निर्णय गर्ने र तत्कालै दुबै विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु संयुक्त रुपमा बस्ने तयारी भएको वडाअध्यक्ष सिग्देलले जानकारी दिए । बहसको विषय बनाउनेभन्दा पनि हेटौंडा प्रदेशको राजधानी पनि भएका कारण मेघा विद्यालय संचालन गरी हेटौंडालाई शैक्षिक हव बनाउने गरी अगाडि बढ्न खोजेको सिग्देल बताउँछन् ।

चित्लाङमा संचालनमा आएको मदन भण्डारी प्राबिधिक विश्वविद्यालय, प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन गरिरहेको गृहकार्यलाई पनि मेघा विद्यालय संचालनले सहयोगी साबित हुनेछ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, त्रिविअन्तर्गतको वनविज्ञान अध्ययन संस्थान, नारयणी कलेज, सहीद आकाश मेमोरियल कलेज, एएफयू अन्तर्गतको कृषि तथा वनविज्ञान क्याम्पसले हेटौंडामा उच्चशिक्षा अध्यापन गराइरहेका छन् ।

वडाअध्यक्ष सिग्देल लगायत जनप्रतिनिधि, आरामावि र भुटनदेबी मावि ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधिलगायत टोली केही दिनभित्रै बुटवलको कालिका माविको अवलोकनमा जाने तयारी भएको छ । दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय संचालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको बिश्वसनीयता बृद्धि गर्न सकिने, हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने जस्ता धेरै उपलब्धी हुने वडाअध्यक्ष सिग्देल बताउँछन् ।

बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालयको काम अगाडि बढाइरहेको अवस्थामा मेघा विद्यालय संचालन गर्न सकियो भने विश्वविद्यालयलाई पनि टेवा पुग्ने तर्क सिग्देलको छ । भुटनदेबी मावि ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष सिग्देल भन्छन्–‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर मेघा विद्यालय संचालनका लागि अगाडि बढ्नेछौं ।’ भुटनदेबी माविसँग भएको जमिनलाई पूर्णरुपमा सदुपयोग गर्नका लागि पनि मेघा विद्यालय संचालन गर्नुपर्ने सिग्देल बताउँछन् ।

हरेक वर्षको प्राबिधिक धारसहितको प्रबेश परीक्षामा करिब एक हजार विद्यार्थीलाई भर्ना लिन नसकेको अवस्था रहेको भुटनदेबी माविका प्रअ माधवप्रसाद दाहालले जानकारी दिए । यो विद्यालयमा ईन्जिनियरिङतर्फ कक्षा ९–१२ मा करिव २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् । बिग स्कूल संचालन गर्दा सबैपक्षलाई फाइदा पुग्ने देखिन्छ भने अगाडि बढ्ने वातावरण बनाउनुपर्ने प्रअ दाहालको धारणा छ । २०१६ सालमा स्थापना भएको भुटनदेबी मावि हेटौंडा नगरकै पहिलो विद्यालय हो ।

बिगत १५ वर्षदेखि नेपालको उत्कृष्ठ विद्यालयमध्ये एक मानिने आरामावि ब्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिमका अनुसार बिग स्कूलको अवधारणामा छलफल अगाडि बढेको र यो विषयमा अध्ययन भइरहेको छ । मुलुकभरका विद्यालयबाट आरामाविको ब्यवस्थापन, शैक्षिक गतिबिधि अध्ययन गर्ने टोली आइरहेका हुन्छन् । मेघा विद्यालय संचालन गर्दा आउनसक्ने चुनौतीका बारेमा पनि अध्ययन गर्नुपर्ने अध्यक्ष समिमको धारणा रहेको छ । नेपाल सरकारले दर्बन्दी मिलान गर्ने, विद्यालय मर्ज गर्ने, मेघा विद्यालयको सम्भाब्यतामा छलफल गर्ने काम स्थानीय तहलाई नै सुम्पेको अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*