मकवानपुरमा दिनहुँ बढ्दै डेंगु र स्क्रब टाइफ्सका बिरामी

साझाकुरा
२०८१ भाद्र १७, सोमबार १२:३४

हेटौंडा-मकवानपुरमा दिनहुँ डेंगु र स्क्रब टाइफ्सको बिरामीको संख्या उकालो लाग्दै गएको छ । डेढ महिनाको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी १७३ जना र मुसामा हुने कीर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफ्सका बिरामीको संख्या ९० पुगेको तथ्यांक छ ।जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार डेढ महिनाको अवधिमा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको संख्या बढेको हो । जिल्लामा डेढ महिनामा ६१ महिला र २९ पुरुष स्क्रब टाइफ्सबाट प्रभावित बनेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार हेटौंडा उपमहानगरमा ५०, मकवानपुरगढीमा ११, मनहरीमा १०, बकैयामा ९ जना र भीमफेदीमा ५ जना स्क्रब टाइफसबाट प्रभावित भएका छन् । त्यस्तै बागमती, कैलाश, इन्द्रसरोबर, राक्सिराङ र अन्य जिल्लाका एकएक जना प्रभावित भए ।स्क्रब टाइफ्स एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने कीर्ना जस्तो देखिने कीरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।त्यस्तै पुरुष ७९ र महिला ९४ सहित भदौ दोश्रो सातासम्म मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या १७३ पुगेको हो ।

जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ ५६ पुरुष र ७२ महिला गरी १२८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । त्यस्तै मनहरी गाउँपालिकामा १६ जना, मकवानपुरगढी गाउँपालिकामा १३, बकैया गाउँपालिकामा ६, भीमफेदी गाउँपालिकामा ३ जना, कैलाशमा २, र बागमती गाउँपालिकामा एकजनामा डेंगु पुष्टि भएको हो ।अन्य जिल्लाका ३ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्रसरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेंगु सङ्क्रमितको संख्या शून्य रहेको छ । मुख्य रुपमा सरसफाइमा ध्यान दिएको खण्डमा डेंगु र स्क्रब टाइफ्सबाट बच्न सकिने सूचना अधिकारी घिमिरेले बताए । पछिल्लो समय जिल्लामा दिनहुँ डेंगु र स्क्रब टाइफ्स बढ्दै गएकाले जोगिन उनले सबैलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*