हेटौंडाबाट करोड बढीको अवैध कपडासहित दुईजना पक्राउ

साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार १०:४३

हेटौंडा- भन्सार छली ल्याएको एक करोड बढी मूल्यको अवैध लत्ताकपडासहित भारतीय नागरिक हेटौंडाबाट पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको हो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो । पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट काठमाडौं लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

सुनसनरी नाकाबाट अवैध कपडा बोकेर ट्रक आएको भनिएको छ । तर, नाकाको भन्सार, सुनसरीदेखि हेटौंडासम्मको प्रहरी चेकपोष्टलाई छक्याएर आउन सक्ने ट्रकको तागत भने रहस्यमय छ । भारतीय व्यक्तिले अवैध कपडा बोकेर हेटौंडासम्म आइपुग्नुले भन्सार निकाय र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ ।एपसी रिजालले आफूलाई विशेष सूचना आएको बताएका छन् । रिजाललाई आएको सूचना सुनसरीदेखि हेटौंडासम्मका प्रहरी चेकपोष्ट मात्र नभई सुनसरी नाका भन्सार र बाराको थपलैयास्थित राजश्व अनुसन्धान कार्यालयलाई सूचना आएन होला ? यो प्रश्न भने अनुत्तरित छ ।

बीआर ०५ जीडी १३४३ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको रहेको एसपी रिजालले बताए । प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पूर्वीचम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पूर्वीचम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।ट्रकभित्र प्रहरीलाई झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको एसपी रिजालले जानकारी दिए । उनकाअनुसार आलुको बोरा राखिएको सँगै ट्रकको भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोलसहितको सर्ट र पाईन्टको कपडा ल्याइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*