औद्योगिक क्षेत्रमा जस्तापाता उद्योग स्थापना

साझाकुरा
२०८१ आश्विन ५, शनिबार १४:४४

हेटौंडा- क्षेत्रफलका हिसाबले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रभित्र थ्रीस्टार ग्रुप कम्पनीले जस्तापाता निर्माण गर्ने उद्योग स्थापना गरेको छ ।जस्तापाता उद्योगको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गरेका छन् । मन्त्री श्रेष्ठले प्रदेश सरकारले ल्याएको खरको छाना विस्थापित गर्ने उद्देश्यलाई पनि अहिले यो ल्याएको आधुनिक जस्तापाताले केही राहत पु¥याउने र यसमा आफूले सहयोग गर्ने बताए ।

जस्तापातामा पनि दुई किसिमका ब्रान्ड रहेका छन् । एउटा किसान ब्राण्ड अर्को टप ब्रान्ड, जुनसुकै किसिमको क्रेताको लागि भनेर लिएको कम्पनीको प्रबन्धक निर्देशक विश्वास खतिवडाले जानकारी दिए । २०७२ सालमै खोलिएको कम्पनी कोरोनाका कारण बन्द भएपनि अहिले पूर्णरुपमा सञ्चालन गर्न लागिएको खतिवडाले बताए । यस कम्पनीले हाल ८०० देखि एक हजार मेट्रिकटनसम्म उत्पादन गर्ने सुरुवाती लक्ष्य राखेको छ ।

उद्योगको उत्पादन क्षमता भने वार्षिक ५ हजार मेट्रिकटन रहेको यस कम्पनीका अध्यक्ष लव थापाले बताए । कम्पनीमा चिनिया लगानीकर्ता पनि आकर्षित भएको थापाले जानकारी दिए । ‘हाललाई यो उद्योग औद्योगिक क्षेत्र भित्र ४० वर्षलाई जमिन भाडामा लिएर सञ्चालन गर्दै आएका छौं । अहिले हाम्रो मार्केटिङको क्षेत्र भने दाङ, भैरवा, नारायणगढ मकवानपुर, काठमाडौं, काभ्रेमा डिलर सञ्चालन गरिँदैछ । हाल १० करोड रुपैयाँको लगानीमा उद्योगको सञ्चालन भइरहेको छ’ थापाले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*