वनकरिया समुदायका सबै बालबालिका विद्यालयमा

साझाकुरा
२०८१ आश्विन ७, सोमबार १०:०३

हेटौंडा- विगतमा विद्यालय जान नमान्ने र अभिभावकले पनि पढाउन नचाहने अतिसीमान्तकृत वनकरिया समुदायका सबै बालबालिका अहिले विद्यालय जान थालेका छन् ।समय परिवर्तनसँगै मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिका–४, मुसेधापस्थित वनकरिया समुदायका सबै बालबालिका विद्यालय पढ्न गइरहेका हुन् । दुई दशकअघिसम्म बाबुआमाले जंगलमा फिरन्ते जीवन बिताएका वनकरिया समुदायका बालबालिका आफ्नो भविष्यका लागि संघर्षरत् छन् । २०६२ सालदेखि वनकरिया समुदायका बासिन्दा मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा बस्दै आएका छन् ।

जंगल नजिकैको यस बस्तीमा बस्न थालेपछि उनीहरु क्रमशः छोराछोरीलाई स्कुल पढाउन थालेका हुन् । वनकरिया बस्तीबाट अहिले शिशु कक्षादेखि ८ कक्षासम्म ४१ जना वनकरिया समुदायका बालबालिका स्कुलमा पढ्न जाने गरेको यस समुदायकी अगुवा सन्तोषी वनकरिया बताउँछिन् । ‘पढ्ने उमेरका सबै बालबालिका अहिले स्कुल जाने गरेका छन् ।’ उनै सन्तोषीले वर्षौंदेखि गाउँका बालबालिकालाई एउटा छाप्रोमा पढाउँदै आएकी थिइन् ।

उनी वनकरिया समुदायबाट प्राविधिक शिक्षा जेटीए (कृषि प्राविधिक) उत्तीर्ण गर्ने पहिलो र १२ कक्षा पास गर्ने दोस्रो हुन् । सन्तोषीले गाउँमै बसेर वनकरिया समुदायका बालबालिकालाई बिहान र बेलुका एकै ठाउँमा राखेर पढाउने गरेकी छन् । यहाँका बालबालिका गाउँको छेउमै रहेको चेपाङ प्राविमा शिशुकक्षामा पढ्न जान्छन् भने १ कक्षादेखि माथिका बालबालिका पशुपतिनाथ मावि मसिनेमा अध्ययन गर्न पुग्छन् । वनकरिया बालबालिका नियमित विद्यालय आउने गरेको पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारीदिएका छन् ।

लोपोन्मुख वनकरिया समुदायबाट अहिलेसम्म ६ जनाले एसईई उत्तीर्ण गरेका छन् । एसईई गर्नेमध्येमा ५ जना छात्रा छन् भने एकजना छात्र छन् । यो समुदायमा सबैभन्दा पहिला एसईई गर्ने पम्फा वनकरिया हुन् । उनले पञ्चकन्या ग्रुपको सहयोगमा ल्याब टेक्निसियन विषय अध्ययन पूरा गरेर मनहरी रजैयास्थित क्लिनिकको ल्यावमा काम गर्छिन् । दोस्रोमा एसईई उत्तीर्ण गर्ने सन्तोषीले रोटरी क्लब अफ मकवानपुरको सहयोगमा जेटीए अध्ययन पूरा गरिन् ।

वनकरिया बस्तीमा २२ घरधुरी रहेका छन् । ५० जना महिलासहित यो समुदायको जनसंख्या ९३ रहेको छ । यो समुदायको मुलुकको अन्यभागमा बसोवास छैन । समुदायमा पुरुषभन्दा महिला सक्रिय र सक्षम छन् । जिल्ला वन कार्यालय हेटौंडाले उनीहरुलाई २०६२ चैत २८ गते कबुलियती वनको ९ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यही जमिन खनीखोस्रो गरेर उनीहरुले खाद्यबालीदेखि तरकारी बालीसमेत लगाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*