सिस्नेरी पहिरो : बिपद्को पूर्वसूचनालाई बेवास्था गर्दा गम्भीर दुर्घटना

साझाकुरा
२०८१ आश्विन १४, सोमबार १०:२६

हेटौंडा- शनिवार बिहान ६ बजेको थियो । सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना बालकसहितको टोलीलाई सुरक्षित स्थानतर्फ जान भनियो ।‘त्यहाँबाट टेकर बजारतर्फ सुरक्षित स्थानमा हिँड्नु अघि सामान पोका पार्न भनिएको रहेछ । जाँदाजाँदै ९ जना माथि पुगेर उनीहरु जोगिए । बीचमा रहेका ६ जनालाई पहिरोले पुरेको थाहा पायौं । पछाडि रहेका अरु पनि बचेका थिए ।’ फुटबल संघ मकवानपुरका कोषाध्यक्ष अमृत लुङ्बाले आइतबार जिल्ला खेलकुद विकास समितिमा सुनाए । पहिरोमै पुरिएर ज्यान गुमाएका हेटौंडा–१२ का अनुपम घलानको छिमेकीसमेत रहेका लुङ्बाकाअनुसार ७ जनाको टोलीमा रहेका एकजनालाई पहिरो खस्दा ढुंगा लागेर पनि ज्यान जोगाउन सफल भए ।

विगत ६ महिनादेखि सिस्नेरीमा नियमित फुटबल सिक्दै आएका ६ जना बालकको ज्यान मात्रै गुमेन, फुटबलर बनेर देशको लागि खेल्ने कलिलो सपना पनि चुडिँएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाअनुसार सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौं कलंकीका ११ वर्षीय प्रियान्स आचार्य, मकवानपुर हेटौंडाका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घरभएका १४ वर्षीय साईमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवस बानियाँको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएर जुनसुकै बेला ढोका खोल्नुपर्ने सूचना अघिल्लो दिन अर्थात् शुक्रबार अपरान्ह नै दिएको थियो । कुलेखानी प्रथम जलविद्युत केन्द्रको पत्राचारपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, इन्द्रसरोबर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एकसाथ कुलेखानीको जलाशय भरिन लागेकाले जुनसुकै बेला ढोका खोलेर पानी छोड्नुपर्ने भन्दै तल्लो तटीयक्षेत्रमा सतर्कता अपनाउन अपिल गरेका थिए ।

अविरल वर्षाका कारण कुलेखानीको जलाशय भरिएर शनिवार बिहान करिब ५ बजे ढोका खोलियो । ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा एक्कासी पानीको बहाब बढेपछि जलाशयबाट करिब ३ किलोमिटर तल रहेको बत्सलादेवी माविस्थित एन्फा एकेडेमीका फुटबल सिकिरहेका बालक, प्रशिक्षक र शिक्षक सुरक्षित स्थानतर्फ जान हतारिएका थिए ।‘उनीहरु बिहान ६ बजे नै सुरक्षित ठाउँ जाने भनेर निस्किएका रहेछन् । तलबाट माथि सुरक्षित स्थान खोजेर जान खोज्दा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको हो,’ मकवानपुरका प्रहरीप्रमुख सीताराम रिजालले भने । कुलेखानीले अघिल्लो दिन नै तल्लो तटीयक्षेत्रमा उच्चसतर्कता अपनाउन सूचित गरेपनि कुलेखानी खोलासँगै जोडिएको बत्सलादेवी माविको एन्फा एकेडेमीका ४० जना बालकलाई रातभर विद्यालयमै राखिएको थियो ।

कुलेखानीले सूचना दिइरहँदा पनि बालकलाई सुरक्षित ठाउँमा नलगेको विषयमा विद्यालय व्यवस्थापन समिति र अखिल नेपाल फुटबल संघ (एन्फा)को चर्को विरोध भइरहेको छ । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फा र विद्यालयको चरम लापरवाहीले ६ जना निर्दोष किशोर खेलाडीको दुःखद निधन भएको बताए । थापाले निष्पक्ष छानबीन गरी दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बरका वडाअध्यक्ष सविन न्यौपाने विद्यालय र एन्फाको लापरबाहीका कारण ६ जना कलिला बालकले ज्यान गुमाएको बताउँछन् । ‘नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशन गरेर सचेत गराएको विषयलाई हतारमा भाग्नु पर्दैन भन्दै सूचना तोडमोड गर्ने जिम्मेवार व्यक्तिहरु र बेलैमा व्यवस्था नगर्ने एकेडेमीका सञ्चालकका कारण ठूलो क्षति भयो’ न्यौपानेले भने । स्थानीय रमेश विडारीले विद्यालय व्यवस्थापन समितिको लापरबाही र बेवास्थाले घटना हुन पुगेको दाबी गर्छन् ।

कुलेखानीको सूचनालाई विद्यालय व्यवस्थापन समितिले बेवास्था गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिले कुलेखानीको सूचनालाई बेवास्था मात्र नभई उल्टै जनमानसमा ‘आतंकित’ बनाउन खोजेको संज्ञा दिएको थियो । इन्द्रसरोबर गाउँपालिका–३, टेकरस्थित बत्सलादेवी माविको पछाडि कुलेखानी हुँदै बग्ने खोला छ । सिस्नेरी भिरालो क्षेत्र भएकाले खोला बेगमा बग्ने गर्दछ ।शुक्रबार साँझ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एकेडेमीका संयोजकसमेत रहेका सुभाषचन्द्र ठकुरीले काठमाडौंमा बसेर कुलेखानीको सूचनालाई जनमानसमा ‘आंतकित’ पार्ने बताइरहेका थिए । ठुकुरीले शुक्रबार साँझ कुलेखानीको सूचना आएपछि फेसबुकमा लेखेका थिए, ‘निरन्तर वर्षा भइरहे पनि अझै भरिन बाँकी छ ।

अघिल्ला वर्षमा राख्दै आएको बोराको चाङ हटाएकोले ओफरफ्लो भई तल्लो तटीयक्षेत्रमा बग्ने छ । साइरन बजाउने, माइकिङ गर्ने सूचना पनि छ त । फेसबुके सूचना गरेपछि पुग्यो त ? जोखिम बढे सेना, प्रहरी सबै छन् त । सही सूचना मात्रै सम्प्रेषण गरौं ।’ तर, उनले फेसबुकमा लेखेको यो सन्देश भने शनिवार नै हटाइसकेका छन् ।सिस्नेरीका स्थायी बासिन्दा हाल काठमाडौं बस्दै आएका ठकुरी संविधानसभा सदस्य हुन् । उनी वर्षौदेखि विद्यालयको अध्यक्ष छन् । उनकै पहलमा बत्सलादेवी माविमा (३० चैत २०८० मा) एन्फा एकेडेमी आएको थियो । ठकुरीले डाँडा खारेर करिब पाँच वर्षअघि विद्यालयको खेलमैदान सम्याएका थिए । एकेडेमीको सम्पूर्ण जिम्मेवारी लिएको अलिख नेपाल फुटबल संघ (एन्फा)ले पनि कुलेखानीको सूचनालाई बेवास्था गरेको देखिन्छ ।

विद्यालयका अध्यक्ष ठकुरीले कुलेखानीको सूचनालाई गलत ठहराउँदै विद्यालयबाट बालकलाई सुरक्षित स्थानतर्फ लान नखोजेको घटनाक्रमले देखाउँछ । यसबारेमा प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन नसकेको ठकुरीले आज आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै पूर्वतयारीबिना इन्द्रसरोबर तालको पानी खोल्दा पीडादायी घटना व्यहोर्नु परेको बताए । इन्द्रसरोबर गाउँपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै २ र ३ नम्बर वडामा सतर्कता अपनाउन भनेको थियो ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले शुक्रबार र शनिवार बिहान ४ बजे जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहलाई जानकारी गराएर मात्रै ढोका खोलिएको बताए । ‘हामीले जुनसुकै बेला खोल्न सक्ने बारे अघिल्लो दिन नै जानकारी गराइसकेका थियौं । बिहान पनि जानकारी गराएर खोलिएको हो । सतर्कता अपनाउन भनेका थियौं ।’ कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख भट्टले भने ।

इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले आफूलाई घटना भएको मात्रै थाहा भएको तर, कसको लापरबाहीले घटना हुन पुगेको भन्नेबारे जानकारी नभएको प्रतिक्रिया दिए । ‘म यो केही कुरा जान्दिन । के–के गरेको हो मलाई थाहा छैन । म एउटा बोल्छु, अध्यक्षले बोलेपछि अप्ठेरो पर्छ,’ उनले भने, ‘मान्छे मरे दुःखद् भयो । त्यहाँ के–के भयो भनेर खोजतलास गर्नुपर्छ ।’ आफू त्यहाँ (घटनास्थल) सम्म पुग्न नसकेकोले केही थाहा पाउन नसकेको उनको भनाई थियो । पुडासैनी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । ठकुरी पनि एमालेका नेता हुन् ।

आइतबार महाराजगंज स्थित शिक्षण अस्पताल पुगेका मृतक बालकका परिवार तथा आफन्तजनले घटनाको निष्पक्ष छानबीन हुनुपर्ने, दोषिमाथि कारबाही गरिनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । यो माग पूरा नभएसम्म शब नबुझ्ने चेतावनी उनीहरुले दिएका छन् । आइतबार दिनभरि नै शिक्षण अस्पताल महाराजगंज तनावग्रस्त बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*