बागमतीमा अलपत्र कृषिका बहुवर्षीय योजना, पूर्णता कहिले ?
हेटौंडा- बागमती प्रदेश सरकारले अघिल्लो कार्यकालमै सुरु गरेका बहुवर्षीय योजनाहरु अझैसम्म पनि अधुरै छन् । प्रदेश स्थापनाको ७ वर्षसम्म बहुवर्षीय योजनाले पूर्णता पाउन नसकेका हुन् । योजना सकिएर पनि सञ्चालनमा ल्याउन प्रदेश सरकार असमर्थ बनेको छ । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र रहेका हुन् । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना अपलत्र मात्र छैनन्, योजना नै अनिश्चित बनेको आशंका गर्ने ठाउँ रहेको छ । मन्त्रालयले नै क्रमागत आयोजना नै समस्याग्रस्त आयोजनामा परिणत भएको जनाएको छ ।
मन्त्रालयमार्फत हाल कृषि तथा वन विश्वविद्यालयमा बिएसएल ल्याब स्थापना, भरतपुरमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण, हेटौंडामा प्रादेशिक कृषि थोकबजार निर्माण र प्रदेशका विभिन्न जिल्लामा शीतभण्डार निर्माण बहुवर्षीय आयोजना अन्तर्गत निर्माणाधीन छन् । प्रदेशका विभिन्न जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि साझेदारीमा शीतभण्डार बहुवर्षीय आयोजना अन्तर्गत निर्माण सुरु भएका कतिपय सम्पन्न भएका छन् ।
कतिपय योजना निर्माणाधीन रहेका छन् । शीतभण्डार आयोजना अन्तर्गत विभिन्न जिल्लामा प्रदेश सरकारको निर्माणमा रहेका आयोजनाले पूर्णता पाउन नसकेको हो । प्रदेश सरकारको हालसम्मकै सबैभन्दा बढी भौतिक संरचना निर्माणमा खर्च भइसकेको छ । भौतिक ८६ प्रतिशत र वित्तीय प्रगति ०.५२ प्रतिशत भएको मन्त्रालयको अभिलेख छ ।
हेटौंडामा दुध पाउडर प्लान्ट निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि प्रदेश सरकारले सञ्चालनसम्बन्धी नीति बनाउन नसक्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।
हाल कामचलाउरुपमा दुग्ध विकास संस्थानले सञ्चालन गर्दै आए पनि प्रदेश सरकारको लगानीले प्रतिफल प्राप्त गरेको अवस्था छैन । धुलो दुध कारखाना ४७ करोड ३३ लाख २४ हजार रुपैयाँ निर्माण लागत रहेकोमा गत आवसम्ममा ४७ करोड २५ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९३ प्रतिशत छ ।मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले निर्माणपूर्व नै पाउडर प्लान्ट सञ्चालन मोडालिटी निर्माण हुन नसक्दा निर्माण भइसकेपछि कसरी सञ्चालन गर्ने भन्नेबारे समस्या आएको बताए ।
हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा २८ करोड ३६ लाख ५६ हजार रुपैयाँको लागतमा तीन वर्षमा सम्पन्न गर्ने गरी प्रादेशिक कृषि थोकबजार निर्माण गर्ने सम्झौता भएकोमा अझै निर्माण पूरा भएको छैन । गत आवसम्ममा यस आयोजनामा कुल २१ करोड ४३ लाख ११ हजार खर्च भई भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत भएको छ ।
कृषि तथा वन विश्वविद्यालय रामपुरमा बिएसएल ल्याब १४ करोड ५० लाख रुपैयाँको लागतमा स्थापना गर्ने गरी काम सुरु भएकोमा गत आव २०८०÷८१ सम्ममा १२ करोड ६० लाख १० हजार रुपैयाँ खर्च भइसकेको छ । तीन वर्ष योजनाअवधि रहेको आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ५५.२ प्रतिशत पूराभई अन्तिम परीक्षण गरिँदै गरेको जनाइएको छ । भरतपुरमा भेटेरिनरी अस्पतालको भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति शतप्रतिशत भएको छ ।