बागमतीमा १४ वटा मन्त्रालय पु¥याईँदै, पर्यटन फुटाउने तयारी
हेटौंडा-बागमती प्रदेश सरकार गठन भएको साढे तीन महिनापछि मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रालय विभाजनको तयारी गरेका छन् ।९ साउनमा मुख्यमन्त्री लामासँगै नियुक्ति र सपथ लिएका विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालय फुटाउने तयारी गरिएको हो । ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले त्यसको भोलिपल्ट नेकपा एमालेबाट ६ जनालाई मन्त्रालय जिम्मेवारीसहित र कांग्रेसका श्रेष्ठसहित ३ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । बागमतीमा हाल १३ मन्त्रालय १४ जना मन्त्री छन् । अब १४ वटा मन्त्रालय पुग्ने भएको छ ।
कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेका ६ जना मन्त्री छन् । हाल बागमतीमा मुख्यमन्त्री कार्यालयसहित आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, कृषि तथा पशुपन्छी, खानेपानी, उर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, रोजगार तथा यातायात, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, संस्कृति, पर्यटन तथा सहकारी, सामाजिक विकास, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय छन् ।
कांग्रेसबाट श्रेष्ठसँगै नियुक्त भएका कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजनामन्त्री र श्याम खड्का खानेपानी, उर्जा तथा सिचाईंमन्त्री भए । श्रेष्ठ भने विगत साढे तीन महिनादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा बस्दै आएका छन् । श्रेष्ठलाई आगामी मन्त्रिपरिषद् बैठकबाट मन्त्रालय जिम्मेवारी दिने सम्बन्धमा निर्णय हुने सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछोनले जानकारी दिए ।
मुख्यमन्त्री लामा निकट स्रोतकाअनुसार कांग्रेसका बिमल ठकुरीले नेतृत्व गरिरहेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइने भएको छ । सहकारीमा अर्को कुनै विभाग जोडेर नयाँ मन्त्रालय गठन गर्ने तयारीका सम्बन्धमा सत्तासाझेदार दल कांग्रेस र एमालेबीच सहमति भइसकेको स्रोतले जानकारी दिएको छ । ‘पर्यटनलाई फुटाएर सहकारी मन्त्रालय बनाउन लागिएको हो । सहकारीमा अर्को कुनै विभाग जोड्ने कुरा भइरहेको छ । सहकारीमा स्थानीय विकास जोड्ने की ? भन्ने विषयमा छलफल भइरहेको हो । यही हप्ताभित्र मन्त्रालय विभाजन भएर श्रेष्ठले जिम्मेवारी पाइसक्नुहुन्छ ।’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ।
कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय गठन गर्नुपर्ने प्रस्ताव एमालेले अस्वीकार गरेपछि पर्यटनलाई विभाजन गर्ने निचोडमा मुख्यमन्त्री लामा पुगेका हुन् । भौतिक मन्त्रालयमा एमालेबाट अमनकुमार मास्के मन्त्री छन् । ‘भौतिक फुटाउन एमालेले मानेन । त्यसैले मुख्यमन्त्रीज्यू आफ्नै भागको मन्त्रालय विभाजन गर्नेमा पुग्नुभएको हो, एमाले पनि यसमा सहमत छ,’ लामा निकट स्रोतले भन्यो ।
नेकपा एमाले बागमती प्रदेशका प्रमुखसचेतक मधुसुदन पौडेल मन्त्रालय विभाजन गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । कांग्रेसले धेरै मन्त्री नियुक्त गर्दा मन्त्रालय फुटाउनुपर्ने बाध्यता आइपरेको उनले बताए । ‘यो कांग्रेसभित्रको समस्याले भएको हो । मन्त्री नियुक्त गर्दा ध्यान दिइएन । मन्त्रालय फुटाउने विषय राम्रो थिएन’ उनले भने । गत साउनमा सरकार गठनका बेला कांग्रेस र एमालेबीच मुख्यमन्त्रीसहित ७ कांग्रेसलाई र ६ एमालेलाई मन्त्रालय भागबण्डा लागेको थियो । लामाले पार्टीभित्रको आन्तरिक संघर्षका कारण थप एकजना मन्त्री नियुक्त गरेका थिए ।
कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले आर्थिक मामिलामन्त्री नियुक्त भइसकेका प्रभात तामाङलाई सपथ अगाडि नै हटाएर अर्कालाई सोही मन्त्रालय दिनुपर्ने अवस्थासम्म लामा पुगेका थिए ।बागमतीमा प्रदेशको अघिल्लो कार्यकालबाटै मन्त्रालय फुटाउने क्रम चलिरहेको छ । भदौ ०७८ मा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले सामाजिक विमास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाउँदै मन्त्रालय संख्या ८ वटा बनाएकी थिइन् । शाक्य दुई महिनामै सत्ताच्यूत भएपछि ११ कात्तिक ०७८ मा मुख्यमन्त्री बनेका नेकपा
(एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेले गठबन्धन सरकारमा भागबण्डा पु¥याउन १४ वटा मन्त्रालय बनाए ।
पाण्डेको कार्यकालमा मन्त्रिपरिषदमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री थिए । प्रदेशको दोस्रो कार्यकालका पहिलो अर्थात निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंसिर ०७९ मा १४ वटा ११ वटामा झारेका थिए । तीन पटकसम्म सरकार परिवर्तन गरेका जम्कट्टेललले सत्ता टिकाउनकै लागि ११ बाट फेरि १३ वटा मन्त्रालय पु¥याए । जम्कट्टेलले राज्यमन्त्री भने बनाएनन् । पाण्डे र जम्कट्टेललाई सरकार बनाउन साना दलसमेत जोडेर धेरै दलको समर्थनमा बहुमत पु¥याउनुपर्ने अवस्था थियो ।
सरकार बनाउन अन्य साना दलहरुको सहयोग आवश्यक नभएका कांग्रेस र एमालेले थप एउटा मन्त्रालय फुटाउने तयारी गरिरहेका हुन् । बागमती प्रदेशमा ७ वटा भन्दा धेरै मन्त्रालय नै आवश्यक नरहेको प्रशासन क्षेत्रका जानकारहरु बताउँछन् ।