बागमतीमा धान उत्पादन घट्ने अनुमान
हेटौंडा- बागमती प्रदेशमा यसवर्ष मंसिरे धानको उत्पादन घट्ने अनुमान गरिएको छ । गत असोज १० र १२ गतेको भीषण वर्षापछिको बाढी पहिरोले पु¥याएको क्षतिका कारण धान उत्पादन घट्ने अनुमान गरिएको हो ।बाढीपहिरोका प्रदेशका कारण विभिन्न जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलभन्दा बढी क्षेत्रमा धानबालीमा क्षति भएका कारण उत्पादन भने घट्ने प्रदेश कृषि मन्त्रालयको अनुमान छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलले समयमै पानी परेर समयमै रोपाईं हुन पाएका कारण यसवर्ष धान उत्पादन बढ्ने अनुमान गरेको भएपनि बाढीपहिरोले क्षति गरेका कारण धान उत्पादन घट्नसक्ने बताए ।
बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा धानखेतीमा ठुलो क्षति पुगेको उनको भनाइ छ । बागमती प्रदेशका १३ जिल्लाको एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपिएकोमा बाढीपहिरो काकारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको कँडेलले बताए । गतवर्ष बागमती प्रदेशमा १ लाख ४ हजार ८४९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ४ लाख ३५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।मन्त्रालयका अनुसार प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङलगायत जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी धानबालीमा क्षति पु¥याएको थियो ।
सबैभन्दा बढी मकवानपुरमा २ हजार ९०२.८३ हेक्टरमा लगाइएको धानखेतीमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । यस्तै सिन्धुलमा ८५५, काभ्रेमा ६०२.१, ललितपुरमा २११.५, नुवाकोटमा १९८.२२५, धादिङमा १८४ र रामेछापमा १५७.५५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेती बाढी पहिरोले क्षति गरेको बताइएको छ ।मकवानपुरमा धान रोपाईँ हुने कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शतप्रतिशत धान रोपाईँ भएको थियो भने सिन्धुलीमा ११ हजार ८८, काभ्रेमा ९ हजार ९४७, ललितपुरमा ४ हजार १६३, नुवाकोटमा ११ हजार १०९, धादिङमा ११ हजार ३१२, रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धान रोपाईं गरिएको थियो । प्रदेशका सबैभन्दा बढी धानखेती हुने चितवनमा बाढीपहिरोले कम क्षति पुगेको छ ।
चितवनमा यसवर्ष २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको बताइएको छ । ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ८५, १ हजार ४९ हेक्टर धानखेती भएको रसुवामा ६.५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । यस्तै सिन्धुपाल्चोकमा ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा त्यहाँ भने कुनै क्षतिको विवरण नआएको मन्त्रालयले बताएको छ ।