बसामाडीमा निःशुल्क स्वास्थ्यशिविर

साझाकुरा
२०८१ मंसिर २१, शुक्रबार ११:३५

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा निःशुल्क स्वास्थ्यशिविरको आयोजना गरिएको छ । शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो ।शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । यस्तै, शिविरमा ७९ जनाले पाठेघरसम्बन्धी परीक्षण गराएका थिए ।

पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकालाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको अध्यक्ष श्रेष्ठले बताए । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको थियो । शिविरको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका–३ का वडाध्यक्ष ढलकबहादुर थापा र टोल विकास समितिका अध्यक्ष रोशन गोलेले शिविर संचालन गर्दा ग्रामीण क्षेत्रमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुगेको भन्दै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । जेसीजका विराज गौतमले संयोजन गरेको कार्यक्रममा महासचिव पंकजदास बानियाँ, पूर्वअध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*