मुख्यमन्त्री लामा र स्वीस राजदुत म्यूलीबीच भेट

साझाकुरा
२०८१ मंसिर २६, बुधबार ११:२०

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङ र नेपालका लागि स्वीस सरकारका राजदुत डा. डेनियल म्यूलीबीच शिष्टाचार भेटघाट भएको छ ।भेटमा राजदुत म्यूलीले स्वीस सरकारबाट बागमती प्रदेशमा हाल सञ्चालनमा रहेका परियोजनाको साथसाथै नेपालमा संविधान कार्यान्वयनमा स्वीस सरकारले गरिरहेको परियोजना सहयोगको बारेमा मुख्यमन्त्री लामालाई जानकारी गराएका थिए । बागमती प्रदेशमा हाल स्वीस सरकारको सहयोगमा ६ वटा परियोजना कार्यान्वयनमा रहेको र थप २ वटा परियोजना सुरुवातको प्रक्रियामा रहेको जानकारी गराइएको थियो ।

भेटमा राजदुत म्यूलीले हाल बागमती प्रदेश सरकारले आफैंले प्राविधिक तथा व्यवसायिक सीप सम्बन्धी ऐन जारी गरी प्रादेशिक तहमै रोजगारी प्रवद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गरे । म्यूलीले बागमती प्रदेशमा स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रबासी परियोजना (सामी) कार्यान्वयनमा रहेको र सुरक्षित आप्रबासनका लागि बागमती प्रदेश सरकारले समेत उल्लेख्य बजेट विनियोजन गरी कार्यान्वयनमा गएकोमा विशेष धन्यबाद व्यक्त गरेका छन् ।

यसैगरी, स्वीस सरकारले मोटरेवल लोकल रोड एण्ड ब्रीज प्रोगामबाट सडक पुल निर्माणमा काम गरिरहेको जानकारी गराए । यस क्षेत्रमा समेत प्रदेश सरकार प्रादेशिक सडक गुरुयोजना निर्माण गरेकाले आगामी दिनमा यसले प्रदेशमा सडक तथा पुल निर्माणका लागि नीतिगत रुपमा सरल भएको बताए । म्यूलीले प्रदेशमा डिजिटन नेपाल फ्रेमवर्क अन्तर्गत साना तथा मझौला उद्यमीलाई प्रविधिमैत्री उद्यम विकासमा सहयोग गरिरहेको जानकारी गराएका थिए ।

यसैगरी प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम (पिएलजिएसपी)मार्फत् प्रदेश सरकार तथा स्थानीय तहमा सुशासन प्रवद्र्धनमा सहयोग गरिरहेको जानकारी गराए । यसैगरी आगामी दिनमा स्थानीय तहमा राजश्व स्रोतवृद्धि विषयमा परियोजना कार्यान्वयनको तयारीमा रहेको बताए । भेटमा मुख्यमन्त्री लामाले स्वीस सरकारले गरिरहेको सहयोगका बारेमा आफू जानकार रहेको र नियमित सहयोगको अपेक्षा रहेको बताए ।

बागमती प्रदेश सरकारले स्वीस सरकारसँग मुल रुपमा प्रविधि हस्तान्तरण र पर्यटन विकासमा सहयोगको अपेक्षा रहेको बताए । बागमती प्रदेशमा पर्यटन र जलविद्युत उत्पादनको अथाहा सम्भावना रहेकाले यस क्षेत्रमा प्रविधि हस्तान्तरण र लगानीका लागि स्वीस सरकारले सहयोग गर्दा उल्लेख्य उपलब्धी हासिल गर्न सकिने बताए । स्वीटजरल्याण्डको संघीयताको मोडलबाट नेपालमा धेरै कुरा सिक्न सकिने हुदाँ त्यहाका विकास मोडल नेपालका लागि सन्दर्भस्रोत रहेको उनले बताएका छन् ।

राजदुत म्यूलीले स्वीटजरल्याण्ड सरकार नेपालको आर्थिक विकासमा स्वीस लगानी भित्र्याउने विषयमा सकारात्मक पहल भइरहेको र यसका लागि लगानीमैत्री बातावरण निर्माणका लागि अनुरोध गरेका थिए । मुख्यमन्त्री लामाले प्रदेशमा लगानीमैत्री बातावरण निर्माणका लागि आफू निरन्तर लागि परेको र सबैको सहयोगबाट यस क्षेत्रमा उपलब्धि हासिल गरिने बताए । भेटबाट स्वीस सरकार र बागमती प्रदेश सरकारबीच परस्पर सम्बन्धबाट आपसी सहयोगको वातावरण बनेको मुख्यमन्त्री लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*