चेतनशील सहकारीको कारोबार २ करोड बढी
हेटौंडा-थाहा नगरपालिका–३ मा रहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार २ करोड ३० लाख ९३ हजार ४८९ रुपैयाँ पुगेको छ ।सहकारीको सेयरपुँजी ३२ लाख ५७ हजार १ सय रुपैयाँ पुगेको छ । थाहानगरको विकासघरमा २७ मंसिरमा आयोजित संस्थाको २० औं साधारणसभाको अवसरमा अध्यक्ष शकुन्तला गोपालीले यस्तो जानकारी दिएकी हुन् । सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै गोपालीले जगेडाकोष २० लाख ७० हजार ९७९ रुपैयाँ, बचत हिसाब १ करोड ४८ लाख ६२ हजार ३ सय ६६ र जोखिम व्यहोर्ने कोष १ लाख ७० हजार ४ सय ३२ रुपैयाँ पुगेको सुनाइन् ।
कोषाध्यक्ष कल्पना बिष्टले संस्थाले १ करोड ५९ लाख ९० हजार ऋण लगानी र १ करोड ४८ लाख ६२ हजार बचत हिसाब सहितको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रममा पेश भएको अध्यक्ष गोपाली, सचिव गीता विष्ट र कोषाध्यक्ष कल्पनाको प्रतिवेदन सभाले पास गरेको छ ।साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने ज्येष्ठसदस्य थाहा नगरपालिका–३ की नानीमाया बर्तौला र अम्बिका खत्री, वडा नम्बर ४ की जुनकुमारी बल, थाहा–५ की बसुनमाया भोम्जन तथा चरीमाया थिङलाईसम्मान गरिएको छ । संस्थाकी अध्यक्ष गोपालीको सभाध्यक्षतमा भएको साधारणसभाकी प्रमुखअतिथि थाहा नगरपालिका सहकारी शाखाप्रमुख अस्मिता तिवारी घिमिरे रहेकी थिइन् । कार्यक्रममा घिमिरेले संस्थाले आर्थिक कारोबारलाई मात्र जोड नदिई थाहानगरमा हुने महिलाहिंसाविरुद्धमा समेत विगत १९ वर्षदेखि निरन्तर लागिरहेकोमा सहकारीको प्रशंसा गरिन् ।
उनले महिलाको आर्थिकस्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडि बढ्न अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै यस काममा थाहा नगरपालिकाको सहकारी शाखा सहयोग गर्न तयार रहेको बताइन् । साधारणसभामा थाहा नगरपालिका–३ का कार्यवाहक अध्यक्ष कविता विष्ट, थाहा नगरपालिका महिला बालबालिका शाखाप्रमुख प्रतिमा मोक्तान, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर बिष्ट, कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजन मिश्र, फरक सोचक अध्यक्ष यादवजंग रायमाझी, दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी, लालीगुराँस महिला बहुउद्देश्यीयका प्रतिनिधि नानीछोरी प्रधान, पाथिभरा बचतका अध्यक्ष नवराज कार्कीलगायतलेशुभकामना दिएका थिए ।चेतनशील महलिा बचत तथा ऋण सहकारी संस्थामा ४ सय १२ सदस्य, २७ समूह, ३३ किशोरी समूह र दैनिक कारोबार गर्ने सदस्य संख्या ९६ जना रहेको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।