किताबघरको साक्षात्कारमा कथाकार मिरमा
हेटौंडा- हेटौंडाको भैरबरोडमा रहेको किताबघरले ‘कफी एट किताबघर’ नामक कार्यक्रम सुरुवात गरेको छ । कला, साहित्यक्षेत्रका विभिन्न व्यक्तित्वसँग साक्षात्कार गर्ने उद्देश्यले बिहीबारदेखि कार्यक्रम सुरु गरिएको हो ।‘कफी एट किताबघर’को पहिलो कार्यक्रममा बिहीबार कथाकार मिरमा (रमा सुवेदी) सँगको साक्षात्कार राखिएको थियो । किताबघरमा भएको यो कार्यक्रममा कथाकार मिरमाले आफ्नो कथालेखनयात्राको बारेमा जानकारी दिएकी थिइन् । हेटौंडा स्थायी बसोबास भएपनि लामो समयदेखि काठमाडौंमा सञ्चारकर्ममा रहेकी उनले ढिला गरी साहित्य लेखनमा लागेको बताइन् ।
पछिल्लो समय बाह्रखरी कथा प्रतियोगिता २०८० र २०८१ मा लगातार उत्कृष्ट २५ भित्र परेपछि उनको कथाको चर्चा चुलिएको छ । लेखन ढिलो सुरु गरेपनि आफू पहिलेदेखि नै नियमित पाठक रहेको उल्लेख गर्दै कथाकार मिरमाले आफू कथाकारकै रुपमा निरन्तर लागिरहने बताइन् ।थर्ड आइ एजुकेसनल सेन्टर प्रालिको सहयोगमा सुरु भएको ‘कफी एट किताबघर’ कार्यक्रमले मकवानपुर तथा अन्य जिल्लाबाट हेटौंडा आउने साहित्यकारसँग साक्षात्कार गराउँदै जाने किताबघरका सन्चालक छवि अनित्यले जनाएका छन् । हेटौंडामा पठनसंस्कृतिको विकासका लागि अघिल्लो साताबाट किताबघरले ‘बालबालिकासँग किताबका कुरा’ कार्यक्रम सुरु गरिसकेको छ ।