बागमती प्रदेश लिग फुटबलको तयारी तीव्र

साझाकुरा
२०८१ पुष ३, बुधबार १२:१८

हेटौंडा-दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता यही पुस १० गतेबाट हेटौंडामा हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश फुटबल संघले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनले सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको उनले बताए । लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष बस्नेतले जानकारी दिए ।

लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले ट्राइसिट सार्वजनिक गरेका थिए ।प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । गतवर्षको पहिलो संस्करणको उपाधि धादिङले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*